अनुराधा कोइरालाको राष्ट्रियतामाथि उपप्रधानमन्त्री थापाले उठाए औंला

अनुराधा कोइरालाको राष्ट्रियतामाथि उपप्रधानमन्त्री थापाले उठाए औंला


हेमशंकर सिंह

राजविराज । उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली जनताले यसपटकको निर्वाचनमा वाम गठबन्धनलाई बहुमत दिएकाले निर्वाचनपूर्वको गठबन्धनको मतादेशअनुसार वामकै सरकार बन्नुपर्ने बताएका छन् ।

पार्टीको कार्यकर्ता भेला र थापाले सम्हालेको मन्त्रालयको कामको निरीक्षणको क्रममा शनिबार सप्तरी आइपुगेका थापाले राप्रपा नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुनै व्यक्ति वा पार्टीलाई दोष दिनुभन्दा पनि संवैधानिक जटिलता नै सरकार गठनमा भइरहेको ढिलाई मुख्य कारण रहेको बताए । उनले भने, ‘निर्वाचनपछि जति चाँडो नयाँ सरकारको गठन हुनुपर्थ्यो त्यो हुन सकिरहेको छैन, संविधान निर्माणका बेला सम्भावित जटिलतालाई ध्यान नदिँदा अहिलेको स्थितिको सृजना भएको हो ।’

देशमा स्थायित्व र आर्थिक विकासका लागि बलियो सरकार गठनतर्फ देशअघि बढिरहेको अपेक्षा गरिए पनि विगतको क्रियाकलापले विकास र समृद्धिको बाटोमा देश अघि बढ्नेमा आशंका उब्जेको भन्दै थापाले आगामी दिनमा आफ्नो पार्टी रचनात्मक ढंगबाट देशको राजनीतिमा क्रियाशील रहने बताए ।

निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित र निराशाजनक पराजय भोगेको स्वीकार गर्दै थापाले निर्वाचनको पूर्वसन्ध्यामा पार्टी फुट्नु, कांग्रेसको तल्लो तहका नेता कार्यकर्ता गठबन्धनप्रति इमान्दार नरहनु र प्रत्यक्षतर्फ न्यून उम्मेदवारीका कारण पराजय भोग्नु परेको स्पष्टिकरण दिए । गणतन्त्र बोकेको पार्टीसँग सरकारमा बसेकाले पनि जनताले आफ्नो पार्टीलाई नपत्याएको तर्क उनले गरे । तर, गणतन्त्रवादी दलसँग किन सत्तामा गएको भन्ने जिज्ञासाचाहिँ थापाले मेटाइदिएनन् ।

हिन्दुराष्ट्रको एजेण्डा बोक्दा समेत थ्रेसहोल्डसम्म पार्टीले कटाउन नसके पनि हिन्दुराष्ट्र र राजासहितको लोकतन्त्रका लागि आफ्नो पार्टी अब सडकमा क्रियाशील रहने जानकारी उनले दिए । ‘जनताले पनि हामीलाई सडकमै पु¥याइदिएका छन्, त्यसैले अब संसदभन्दा पनि हाम्रो पार्टीको क्रियाशीलता सडकमै हुनेछ’, थापाले उदघोष गरे ।

सञ्चारकर्मीहरुको एक जिज्ञासामा अध्यक्ष थापाले संविधान निर्माणका बेला मधेशवादी दलहरुले राप्रपा नेपालको कुरा नमाने पनि अहिले बल्ल आफूहरुको लाइनमा उनीहरु आएको दाबी गर्दै भने– ‘मधेशवादी दलको मुख्य एजेण्डा के हो त्यो स्पष्ट हुनुपर्छ ।’ मधेशवादी दलहरुलाई प्रादेशिक दलको संज्ञा दिँदै अध्यक्ष थापाले तिनिहरु अर्मूत कुरा गरेर मधेशी जनतालाई ढाँट्ने काम मात्र गरिरहेका आरोप लगाए ।

एक अर्काे प्रसंगमा उपप्रधानमन्त्री थापाले प्रदेश प्रमुखमा नियुक्त अनुराधा कोइरालाको नियुक्तिले आशंका जन्माएको दाबी गरे । ‘कोइरालाजीको राष्ट्रियतामै शंका छ, मैले यो प्रश्न क्याबिनेटमा पनि उठाएको छु’ भन्दै उनले ०२९-३० सालतिर आफू फुटबल खेल्दा कोइरालाका सहोदर भाइ अभय गुरुङ्ग भारतको दार्जिलिङ्गबाट फुटबल खेल्ने गरेको खुलासा गरे । उनीसँग धेरैपटक म्याच खेलेको स्मरण थापाले गरेका थिए ।

यस्तै, थापाले आफ्नो पार्टी हिन्दुवादी भए पनि सम्पन्न निर्वाचनमा कम्युनिष्ट, क्रिश्चियन र गैरहिन्दुवादीले आफ्नो पार्टीको इज्जत जोगाइदिएको तर्क समेत गरे ।