भेलाको नाममा काङ्गे्रसको मेला –राजेश ढुंगाना

भेलाको नाममा काङ्गे्रसको मेला –राजेश ढुंगाना


गएको साता नेपाली काङ्गे्रसले जिल्ला सभापतिहरूको मेला गर्‍यो । सिन्धुपाल्चोकजस्तो रमणीय स्थानमा भएको यो दुईदिने भेलालाई आफैंमा महत्वहीन मान्न सकिन्न । तर पनि एकप्रकारले प्राण–पखेरू उडिसकेको काङ्गे्रसले यो भेलाबाट के खोजेको थियो ? स्वयम् त्यो नै स्पष्ट नभएको भेलाको उपलब्धि ‘मेला’बाहेक केही हुन सकेन ।
हो, सुशील कोइरालालाई प्रधानमन्त्री बन्न ‘आग्रह’ गर्ने चाँजोपाँजो मिलाउने कृष्ण सिटौलाहरूको एक मात्र योजना थियो भने यसरी सभापतिहरूको भेला बोलाइरहनु नै पर्थेन । सीधै केन्द्रीय समितिको बैठकबाट पास गर्दा भइहाल्थ्यो । सायद यसमा कसैको विरोध पनि हुन्थेन । पार्टी सभापति आफैंले दाबी गरेपछि एकपटकका लागि सम्भवत: देउवाले पनि झगडा गर्ने स्थिति रहन्थेन । यति सजिलो कुरालाई सभापति तहमा विभाजित गर्नुपर्ने के आवश्यकता थियो ?
यसैगरी अब सचिवहरूको भेला गरिँदै छ । किन ? सभापतिहरूको जस्तै यो भेला पनि प्रश्नवाचक चिह्नमा परेको छ । सङ्गठन सुदृढीकरणका लागि भनौँ भने– त्यो त सभापतिहरूको भेलाले देखाइसक्यो । मेला लगाएर सङ्गठन विस्तार सम्भव छैन । समय, श्रम र अर्थको दुरुपयोग मात्र हो । जहाँसम्म प्रधानमन्त्रीको उम्मेदवारको छनोट प्रश्न छ– लामो विवाद पनि बल्लतल्ल एक भएको पार्टीमा त्यो काम केन्द्रीय समितिले टुङ्गो लगाउनुपर्छ । न कि जिल्ला सभापति र सचिव तहमा विवाद गराएर पार्टीलाई चिरा पार्नु उपयुक्त हुन्छ ।
खै किन हो कुन्नि केन्द्रीय सदस्यको निर्वाचनमा कार्यकर्ताले मन नपराएर १७औँ नम्बरमा पुर्‍याइएका झापातिरका एकजना भूतपूर्व कम्युनिष्ट तथा पछि पञ्चायतको मण्डले परिचालन गर्ने संस्था मेची अञ्चल खेलकुद विकास समितिको सदस्यलाई महामन्त्री बनाएर दाह्रीवाल सुशील कोइरालाले पार्टीको कुन हित गर्न खोज्नुभएको हो त्यो कसैले बुझेका छैनन् । तर, सबैले बुझेका छन्– यी कथित महामन्त्रीको एक मात्र उद्देश्य भनेको आफ्नो व्यक्तिगत फाइदा मात्र हो ।
निष्कर्षमा भन्न के खोजिएको हो भने चाहे भारतको दबाबमा होस् अथवा मन्त्री हुँदा पैसा बुझाएको पुरस्कारस्वरूप होस् अयोग्य र अनुपयुक्त मानिसलाई पार्टीको मूल जिम्मामा राखेर एकछिन् पार्टीभित्रको झगडामा त विजय पाउन सकिएला । तर, सुशील कोइराला महोदयले बुझ्नुपर्ने कुराचाहिँ के हो भने– पार्टीका निमित्त यतिबेला आन्तरिक मात्र होइन, त्यति नै मात्राको बाहिरी चुनौतीले गला अठ्याएका छन् । जसलाई जित्न उहाँले पाल्नुभएका षडयन्त्रकारीहरूको तागतले सम्भव छैन ।
त्यसो त सुशील कोइरालातर्फ मात्र होइन देउवातर्फका निहित स्वार्थी तत्वको फन्दाबाट देउवाले पनि माथि उठ्न सक्नैपर्छ । नभए उहाँहरू दुवैजना इतिहासका नेता मात्र रहनुहुने छैन आफ्नो राजनीतिक दाहसंस्कारमा सिङ्गो काङ्गे्रसलाई पनि डढाउनुहुनेछ ।