युद्धपछिको नेपालमा
युद्ध अझै जारी छ
मोर्चा नछुट्टिएको युद्ध
साँध–सिमाना नभएको युद्ध
शस्त्र–अस्त्र तोप–बन्दुक नपड्किएको युद्ध
बमबारी हवाई हमला नभएको युद्ध
दाउपेच गुटबन्दी स्वार्थ र कटु वाक्युद्ध
वर्तमान जारी युद्ध ।
बाहिरी शक्ति भुङ्ग्रोको न्यानो
सेखी जोरी निहुँ हाँक विस्फोटको अँगेनो
जिउ धन कुनै पनि बेला कसैको हरिने
अनिश्चित सुरक्षा दम नपुगेको कडाइ
एक व्यापक आमआशङ्का र डर–त्रासको अवस्था
एक भयङ्कर आँधीअघिको चकमन्नता
यो अघोषित युद्धको आभास
जताजतै महसुस भइरहेछ
शान्ति सहमति र सुव्यवस्थाको नाममा ।
तर खै !
राजनीतिक अशान्ति, आर्थिक अशान्ति
सामाजिक अशान्ति, मानसिक अशान्ति
सङ्घर्षै–सङ्घर्षको मारामार
व्यवस्थाको असरल्लता
सन्तुष्टि त कताकता !!
असन्तोषको चरम चुली
यस्तो अवस्थामा एक घमण्डको झिल्को
मान्छे खाएर सुतेको बाघलाई
हल्ला गरेर उठाउनुजस्तै होला
अथवा
सुधो सार्वभौम जनतालाई ज्वालामुखी हुन बाध्य पार्ला
यस्तो बेला
सबको आत्मालोचनाको महायज्ञ
सङ्कुचित आदर्श सिद्धान्त घमण्ड स्वार्थको आहुति
एक मात्र उपाय सङ्कटबाट मुक्ति
एक मात्र युक्ति मातृभूमिको समृद्धि
नत्र हाम्रो भविष्य अब के ?
कोही छ समयले जन्माएका ? – सुदेष्णा
आममाफीबाट छिर्न पाएका
माफी दिनेलाई नै खाएका
लोभैलोभको दलदलमा फसी
फेरि भ्रष्टाचारको हाँगो चढेका
चित्त नबुझे विरोध गरेका
आफ्नो हित भएमाचाहिँ सहमति भएका
देशमा अव्यवस्थाको ल्याई भूमरी
नैतिकतालाई त झन् अझ पचाएका
जो जसरी मरे पनि दियो चिनारी सहिदका
अहिले त सहिदलाई पनि दश लाखमा बेचेका
यस्तो अराजकताले दिएको रुवाई
नेपाल आमाको होला सुन्ने–
कहीँ–कतै कोही समयले जन्माएका ?
कहीँ–कतै कोही समयले जन्माएका ??
– स्वयम्भू, काठमाडौं
प्रतिक्रिया