द्वन्द्वपीडित विकलाङ्गीलाई मेडिकल सोसाईटीको राहत

द्वन्द्वपीडित विकलाङ्गीलाई मेडिकल सोसाईटीको राहत


साँखुमा आश्रय लिइरहेका ४० जना भन्दा बढी बहुअपाङ्गता भएकाहरूलाई द्वन्द्वपीडित तथा अपाङ समाजले सहयोग गरेको छ । युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष डा. चन्दन रमनको नेतृत्वमा ५ जना चिकित्सक, १० जना नर्स तथा ३ जना फिजियोथेरापिष्टसहित भई निःशुल्क स्वास्थ्यपरीक्षण सेवा दिइएको हो ।

१२ बर्षका महिला, बालबालिका देखि ७८ बर्षका वृद्धले समेत आश्रय लिएको संस्थामा सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । सोसाईटीसँग आवद्ध चिकित्सकहरूले स्वास्थ्य उपचारसँगै न्यानो कपडा, पौष्टिक आहारसमेत वितरण गरिएको अध्यक्ष डा. रमनले जानकारी दिए ।

बताइएअनुसार संस्थामा उचित खानेपानीको ब्यवस्थापन नहुँदा विभिन्न समस्या रहेका छन् । बच्चाहरुमा कुपोषणको समस्या देखिन थालको छ भने अधिकांशमा मानसिक समस्या देखिएको डा. रमनले बताए । संस्थामा आश्रय लिइरहेका सबैको शारिरिक अवस्था कमजोर रहेकाले पनि विभिन्न प्रकारका रोगले संक्रमण गर्ने सम्भावना देखिएको छ । आगामी दिनमा थप चिकित्सक र औषधि लिएर सो संस्थामा आश्रय लिएर बसेकाहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने डा. रमनले प्रतिबद्धता जनाए ।

सडकमा अलपत्र परेका, अनाथ, असाहय तथा बहुअपाङ्गता भएका ब्यक्तिहरुलाई उक्त संस्थाले संरक्षण दिँदै आएको संस्थाका अध्यक्ष युवाराज थापाले जानकारी दिए । थापाका अनुसार समाजले हेला गरेका ब्यक्तिहरुलाई संरक्षण दिइरहेको छ । थापा आफै पनि शारिरिक अपाङ्गता भएका व्यक्ति हुन् ।
यहाँ आश्रय लिइरहेका ब्यक्तिहरूलाई दैनिक खानपानदेखि आवश्यक पर्ने गाँसबासको समेत ब्यबस्था गर्न संस्थालाई धौ–धौ परेको छ । यस्तो अवस्थामा मेडिकल सोसाईटीले आएर हेल्थ चेकअप र संस्थाको कार्यालय साँखु पुगेर न्यानो कपडा, औषधी तथा स्वास्थ्यसम्बन्धी जानकारी दिएकोमा अध्यक्ष थापाले आभार ब्यक्त गरे ।

‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नाराका साथ स्थापना भएको युनाइटेड नेशनल मेडिकल सोसाइटी अफ नेपालले यसअघि स्वयम्भुमा रहेको इल्डर होममा पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेको थयो । संस्थामा आबद्ध सदस्य तथा स्वयंसेवकबमार्फत विभिन्न ठाँउबाट कपडा तथा पौष्टिक आहार संकलन गरी वितरण गरिएको संस्थाकी आस्मा पौडेलले बताइन् ।