-राजेश ढुंगान
यद्यपि मलाई राम्रोसँग थाहा छ, काङ्गे्रस पार्टीबारे जतिसुकै प्रयत्न गरे पनि त्यो पार्टी सुध्रन अब निकै गाह्रो छ– कुनै चमत्कार भयो भनेबाहेक । इतिहासको पौरख र जननायक बीपी कोइरालाको लगानी खाएर जति बाँच्नु थियो– बाँच्यो । अब घट्दो क्रममा छ । संविधानसभा चुनावमा एकैपटक आधा फुड्को भयो । ०५४ सालको मतसङ्ख्याभन्दा १३ लाख मत घट्यो । जब कि १० वर्षमा अरू मतदाता थपिएका पनि थिए । काङ्गे्रसका लागि यो स्थिति ‘भयावह’ हो तर यसको नेतृत्वले यसमा पटक्कै ध्यान दिएन । मानौँ पार्टीजीवन र पार्टी इतिहासका लागि यो कुनै घटना नै होइन । १३ लाख मत भनेको १३ लाख रुपैयाँ हो– घटेको ठाउँमा खुसुक्क हाल्दिएपछि सब ठीक भइहाल्छ ।
काङ्गे्रस अब सुध्रन प्राय: असम्भव भएको टुङ्गोमा पुग्दापुग्दै पनि दुईवटा कारणले यसैमा रुमल्लिन पुगिँदो रहेछ । पहिलो, आफू किशोरावस्थादेखि नै यसमा संलग्न भएकाले एकप्रकारको भावनात्मक पे्रम हुँदोरहेछ । दोस्रो, मुलुकमा दुर्भाग्यवश यस्तो बेलामा पनि एउटा भरपर्दो वैकल्पिक पार्टी नहुनु । लु न त काङ्गे्रस न सही, अर्कोले हाँकिहाल्छ भन्न सकियोस् ।
भर्खरै काङ्गे्रसले विभागहरू गठन गरेको छ । हेर्दा के–के न गरेजस्तो देखिएको छ । महाधिवेशन भएको केही दिनभित्र गठन हुनुपर्ने विभाग अर्को अधिवेशन आउन लाग्दा बल्लतल्ल गठन गरिएको छ । त्यो पनि विवादका बीचमा । यसरी गठन गरिएका विभागले के उपलब्धि दिन्छन् ? अन्तत: गरिस् भन्दा गरेँ भन्ने मात्र हुन्छ । विधानअनुसार महाधिवेशन भएको एक वर्षभित्र महासमिति बोलाउनुपर्ने कुरा पनि त्यसै छ ।
उता भ्रातृ सङ्गठनहरू पनि लथालिङ्ग नै छन् । जतिसुकै छोप्न खोजे पनि दुई पक्षको द्वन्द्व घटेको छैन । बढेकै छ । पार्टीलाई हेर्दा लाग्छ यो एउटा पार्टी नभएर दुईवटा पार्टीको संयुक्त मोर्चा हो । बेलाबेला स्वार्थमा मिल्छ र स्वार्थ नमिल्दा झगडा गर्छ । इतिहास र समयले निर्मम कोर्रा हानिसक्दा पनि सुशील र शेरबहादुरले कि लोभ त्यागेर विवेक देखाउन नसकेका हुन् ? पार्टीलाई ‘प्रज्ञापरिषद्’ बनाएर (समाप्त पारेर) आफू बीपी र गणेशमान हुन सकिँदैन भन्ने कुरा पनि बुझाइरहनुपर्छ ?
समय धेरै छैन, त्यही थोरै समयमा काङ्गे्रस नेतृत्वले बुझेन भने अबको एउटा राजनीतिक घटनामा, चाहे त्यो चुनाव नै किन नहोस् काङ्गे्रस मुलुकको राष्ट्रिय राजनीतिबाट किनार लाग्नेछ, यो क्रूर सत्यलाई समयमै बुझ्न नसकेर पार्टीमा पकड जमाउने कुरामै मस्त रहनु भनेको रस नभएको खोस्टामा लडिरहनु हो ।
कुरा अर्को पनि छ । पार्टीमा दुईजनाको झगडा चलिरहँदा अन्य सदस्यहरू एउटा–एउटाको पछि लागेर चरणदासको भूमिका निभाइरहने कि पार्टी बचाउन अर्को उपाय खोज्ने ? कम्तीमा केन्द्रीय सदस्य भएका काङ्गे्रसमा न्यूनतम विवेक र स्वाभिमान हुनुपर्ने हो । कस्तो नियति भोग्दै छ यो महान् प्रजातान्त्रिक पार्टीले कि सर्वत्र दासैदास !!
सङ्क्षिप्तमा कुरा यत्ति हो– काङ्गे्रसका लागि समय अब धेरै छैन । सप्रने हो भने सप्रन लाग्नुपर्यो । नसप्रने हो भने त केही गर्नैपरेन । त्यो आफैं भइहाल्छ ।
प्रतिक्रिया