अढाई वर्ष बितेपछि नाम छुटेको निवेदन !

अढाई वर्ष बितेपछि नाम छुटेको निवेदन !


सरकारले भूकम्पपीडित परिवारलाई घर बनाउने अनुदानमा एक लाख थपिदिने निर्णय गरेपछि चितवमा ६ हजारले भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै निवेदन दिएका छन् । भूकम्पले घर भत्काएको तर लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै पाँच हजार ७२४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण चितवन जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका हुन् ।

भरतपुर महानगरपालिकाबाट ३६४ वटा र रत्ननगर नगरपालिकाबाट ९८७ निवेदन प्राप्त भएका कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । यस्तै, खैरहनी नगरपालिकाबाट ५२७, राप्ती नगरपालिकाबाट ९२२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १२९ जनाले निवेदन दर्ता गराएको जनाइएको छ । कार्कीका अनुसार उजुरी आउने क्रम जारी छ ।

विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण चितवन जिल्लामा सात हजार ३३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क उतारिएको थियो । सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको संख्या पनि झण्डै सात हजार हाराहारी पुग्ने अनुमान छ । छुटेका निवेदन संकलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै थप के गर्न सकिन्छ निधो हुने र शुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता पाँच हजार ३२३ जनाले लिइसकेका बताइएकोे छ ।

दोस्रो किस्ताका लागि १९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागि समेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जनाए । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था छ ।