शरदलाई विजयी तुल्याउन सभापति धमलाको आग्रह

शरदलाई विजयी तुल्याउन सभापति धमलाको आग्रह


भोली बुधबारदेखि चितवनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशनमा आरम्भ हुँदैछ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन, गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन, गणतान्त्रिक यातायात व्यवसायी सङ्घ र यातायात काङ्ग्रेसको केही दिनअघि काठमाडौंमा सम्पन्न संयुक्त बैठकले तीनवटै पक्षको साझा उम्मेदवारहरूको टुङ्गो समेत लगाएको छ ।

जसअनुसार महासङ्घको आगामी नेतृत्वका लागि अध्यक्षमा डोलनाथ खनाल, वरिष्ठ उपाध्यक्षद्वयमा दीपक अधिकारी र भरत तिमिल्सिना, उपाध्यक्षहरूमा मीनबहादुर मानन्धर, जीतबहादुर भारती र शरद अधिकारी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महासचिवमा पुण्यप्रसाद सिटौला (सरोज), उपमहासचिवद्वयमा देवनाथ गौतम र वसन्त भण्डारी, कोषाध्यक्षमा हेमेन्द्र शेरचन तथा सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, पर्यटकीय तर्फबाट वर्गीय संयोजक पुरुषोत्तम सिंखडालाई उम्मेदवार बनाइने तय भएको छ ।

यसै क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको ५औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएका धादिङ कांग्रेसका आमन्त्रित सदस्य शरद अधिकारीलाई अत्यधिक मतले विजयी तुल्याउन अधिवेशनमा सहभागी हुनुहुने नेपाली कांग्रेससम्बद्ध व्यवसायीका साथै अन्य समस्त व्यवसायीलाई धादिङ कांग्रेसले अनुरोध गरेको छ । जिल्ला अध्यक्ष रमेश धमलाले एक आधिकारिक पत्र लेख्दै अधिकारीलाई उपाध्यक्षमा विजयी तुल्याउन आग्रह गर्नुभएको हो ।