एनआरएनले १० अर्बको लगानी कोष स्थापना गर्ने

एनआरएनले १० अर्बको लगानी कोष स्थापना गर्ने


गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको लगानी प्रवर्द्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवर्द्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको बताए ।

कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको जानकारी दिए । एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा बताइयो ।

एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराएका थिए । एनआरएनले बागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ । सो परियोजनाको निर्माण लागत करिब रु दुई करोड २५ लाख अनुमान गरिएको राससले जनाएको छ ।