‘राजा’कै रूपमा भव्य स्वागतको तयारी

‘राजा’कै रूपमा भव्य स्वागतको तयारी


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको बुझिएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय पैँतालीसौँ शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको पच्चीसौँ वर्षका अवसरमा आयोजित अभिषेक कार्यक्रममा पूर्व श्री ५ लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएकोले उहाँ माघ २२ गते सोमबार भारत प्रस्थान गर्न लाग्नुभएको हो ।

माघ २६ र २७ गते पुरीमा आयोजना गरिने विशेष समारोहमा सहभागिताका लागि पूर्व श्री ५ लाई नेपालका राजाका रूपमा विशेष आमन्त्रण गरिएको छ । समारोहमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने बताइएको छ । आदित्यनाथलगायत भारतको उच्चपदस्थ व्यक्तिहरू, नेताहरू तथा ख्यातिप्राप्त सन्त–महन्थहरूले उक्त समारोहमा भाग लिने भएका छन् । त्यस अवसरमा पूर्व श्री ५ बाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना हुने कार्यक्रम छ ।

स्मरणीय छ, उक्त गर्भगृहसम्म पुगेर पूजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन । भारतकै राष्ट्रपतिसमेत गर्भगृहमा जान पाउने छैनन् । यसअघि तात्कालिक श्री ५ वीरेन्द्रबाट गर्भगृहसम्म पुगेर पूजाआजा गर्ने कार्य भएको थियो । तीन दशकपछि पूर्व श्री ५ ज्ञानेन्द्रले उक्त अवसर पाउनुभएको छ ।

उहाँलाई ‘पूर्व श्री ५’ नभई श्री ५ महाराजाधिराजका रूपमा सम्बोधन गरी निमन्त्रणा पठाइएको र स्वागतसत्कार पनि श्री ५ महाराजाधिराजकै रूपमा गरिने बुझिएको छ । पूर्व श्री ५ बाट पुरीमा स्थापना गरिएको गौशालाको उद्घाटन हुने कार्यक्रम राखिएको छ । उहाँबाट गोपीनाथ मन्दिर पुगी सत्यावतीको पूजा पनि हुने भएको छ ।

माघ २२ गते पूर्व श्री ५ महाराजाधिराज कलकत्ता भएर उडिसा जानुहुने र यो यात्रामा पूर्वबडामहारानी कोमलको सहभागिता नरहने बताइएको छ । दुई साताअघि भारतको लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व श्री ५ ज्ञानेन्द्रबीच विशेष भेटवार्ता भएको थियो । उक्त भेटवार्ताको लगत्तै उहाँलाई जगन्नाथपुरीबाट प्रमुख अतिथिका रूपमा निमन्त्रणा प्राप्त भएको थियो । धार्मिक भ्रमण भए पनि पूर्व श्री ५ को यो भ्रमणलाई राजनीतिक महत्वको मानिएको छ । नेपालमा कम्युनिष्टहरूको प्रकोप बढेपछि भारतको राष्ट्रवादी शक्ति गम्भीर बनेको महसुस सर्वत्र गर्न थालिएको छ ।