पूरा हुन थाले चुनावका प्रतिबद्धता

पूरा हुन थाले चुनावका प्रतिबद्धता


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

निर्वाचनमा विजयी भएपछि नेताहरूले चुनावअघि गरेका विकासे प्रतिबद्धताहरू पूरा गर्न थालेका छन् । स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभामा विजयी नेताहरू चुनावी घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताहरू पूरा गर्न सक्रिय बनेका हुन् ।

जिल्लामा रहेका १२ स्थानीय तहका प्रमुख र प्रदेश सभा सदस्यले आफ्नो क्षेत्रमा आफूले मत माग्ने क्रममा बोलेका विकास बाँड्न सुरु गरेका हुन् । निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका उम्मेदवार हुँदा अमानसिं तामाङको प्रमुख एजेण्डा काठको पोल विस्थापित गर्ने थियो । उनले चुनाव जितेको आठ महिनापछि गाउँमा स्टिलको पोल हालेका छन् ।

‘काठको पोल निकै जोखिमयुक्त छ, त्यसैले स्टिलको पोल सबैतिर राख्न थालिएको हो,’ मेयर अमानसिं तामाङले भने, ‘मैले मत माग्ने बेलामा पनि काठको पोल विस्थापित गर्छु भनेर बोलेको थिएँ ।’ उनले नगरका विभिन्न ठाउँमा सडक विस्तारको काम पनि भइरहेको बताए । नगरपालिकाको वडा नं. १ मा अहिले सडक विस्तारको काम भइरहेको छ । त्यहाँको सडक कालोपत्रे बनाउने तयारीसमेत नगरपालिकाको रहेको तामाङ बताउँछन् ।

जिल्लाकै विकट मानिने जुगल गाउँपालिका यसअघि सञ्चार सेवाबाट विमुख थियो । उपाध्यक्षकी उम्मेदवार सिर्जना तामाङले चुनावअघि मत माग्ने क्रममा आफूले जिते सबैभन्दा पहिला गाउँलाई सञ्चारले जोड्ने प्रतिबद्धता जनाएकी थिइन् । पहिले टेलिफोन नलाग्ने जुगल गाउँपालिकाका अधिकांश स्थानमा अहिले नेपाल टेलिकमको टावर ठडिएको छ । जुगलवासीले अहिले सञ्चार सुविधा उपयोग गरिरहेका छन् । ‘जनतालाई ढाँट्न भएन, चुनाव जितेपछि आफूले गर्छु भनेका काम गरेकी हुँ,’ सिर्जनाले भनिन्, ‘नेपाल टेलिकमसँगको सहकार्यमा अहिले यहाँको स्थानीयले टेलिफोन सुविधा पाएका छन् ।’ उनले टेलिफोन सेवा विस्तारसँगै अहिले जुगलवासी इन्टरनेटको पहुँचमा समेत पुगेको बताइन् ।

चुनावमा उम्मेदवार बनेका अधिकांश नेताले सडक, बिजुली, शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाएका थिए । अहिले विजयी बनेकाहरू त्यसलाई पूरा गर्नतिर लागेका छन् । हेलम्बु गाउँपालिकाले सडक विस्तारका लागि आफैँले स्काभेटर खरिद गरेको छ । ‘भाडामा लिनुभन्दा किन्नै राम्रो हुने देखियो,’ प्रमुख निमाग्याल्जेन शेर्पाले भने, ‘आफ्नै सम्पत्ति पनि हुने र सडक विस्तारलगायत अन्य काममा प्रयोजन हुँदा कम खर्च लाग्ने भएकाले स्काभेटर र जेसीभी खरिद गरिएको हो ।’ उनले सडक विस्तार गर्दा गाउँपालिकाले स्काभेटर र जेसीभीमा आफैँ तेल हालेर उपभोक्ता समितिलाई उपलब्ध गराउने बताए ।

स्थानीय तहमा विजयी भएकाहरू अधिकांशले सडक विस्तारलाई तीव्रता दिएका छन् । इन्द्रावती गाउँपालिकामा पनि सडक विस्तारको काम भइरहेको अध्यक्ष वंशलाल तामाङ बताउँछन् । जिल्लाको सुनकोसी, लिसंखुपाखर, त्रिपुरासुन्दरी, गाउँपालिकाका प्रमुख तथा विजयी भएका अन्यले पनि आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नतिर लागिरहेको जनाएका छन् ।

स्थानीय तहमा विजयी बनेकासँगै मङ्सिर १० मा भएको निर्वाचनमा प्रदेश सभा सदस्य जितेका सांसदले पनि प्रतिबद्धता पूरा गर्न गाउँघर अभियान सुरु गरेका छन् । हालै पद तथा गोपनीयताको शपथ लिएका जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा १ का सांसद युवराज दुलालले प्रतिबद्धता पूरा गर्न पहल गरेका हुन् ।

उनले इन्द्रावती गाउँपालिकास्थित प्युघरका विस्थापित हुन लागेका ५५ माझी परिवार सुरक्षित स्थानमा सार्न पहल गरेका हुन् । २०५९ सालको इन्द्रावती बाढीले बस्दै आएको सिङ्गो बस्ती कटान गरेपछि यहाँका माझी परिवार सुक्खा डाँडामा बस्दै आइरहेका थिए । अहिले बसिरहेको डाँडालाई पनि निर्माणाधीन मध्यपहाडी लोकमार्गको सडकले कटान गर्दा उनीहरू फेरि विस्थापित हुन लागेका हुन् । यहाँका माझी समुदाय सबैसँग लालपुर्जा भएर पनि घर बनाउने जग्गासमेत नहुँदा सुरक्षित पुनर्वासका लागि सांसद दुलालले पहलकदमी गरेका हुन् ।

सांसद दुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख, नापीका प्रमुख, पुनर्निर्माण प्राधिकरणसहितको अध्ययन टोली प्युघर पुगेको थियो । टोलीले त्यहाँका माझी परिवारलाई सारिने सुरक्षित स्थानका लागि केही जग्गा अवलोकनसमेत गरेको छ ।

‘यहाँका माझी समुदायलाई सुरक्षित स्थानमा स्थायी रूपले पुनर्वास गराउने हाम्रो छलफल भएको छ,’ सांसद दुलालले भने, ‘चुनावका बेला मत माग्न आउँदा मैले यहाँका माझी समुदायलाई सबैभन्दा पहिले स्थायी पुनर्वास गर्नुपर्छ भनेको थिएँ, त्यही कारण म सुरुमै प्युघर पुगेको हुँ ।’ उनले ठूलो समस्याका रूपमा रहेको यसलाई छिट्टै पूरा गर्ने बताए । यहाँका माझीहरूलाई राख्नका लागि अध्ययन टोलीले नजिकैको सामुदायिक वन र नजिकै गोल्फुले भन्ने स्थानमा स्थानीयको जग्गासमेत निरीक्षण गरेको थियो । सडक विस्तारकै क्रममा सिङ्गो गाउँ विस्थापित हुने भएपछि नयाँ विस्थपित कार्ड बनाउन पहलसमेत गरिने सांसद युवराजले बताए ।