कर बुझाउनेले नबुझेका कुरा

कर बुझाउनेले नबुझेका कुरा


– स्वयम्भूनाथ कार्की

कुनै मुलुकको नागरिक हुनुको अर्थ त्यो मुलुक सञ्चालनको निमित्त तथा त्यस मुलुकले सञ्चालन गर्ने जनकल्याणकारी कार्यको खर्चमा हिस्सेदारी व्यहोर्नु पनि हो । मुलुकको खर्चको यो हिस्सेदारी लिएबापत नागरिकको स्वतन्त्रताको रक्षा, अन्याय वा अत्याचारबाट संरक्षण, भयमुक्त तथा समानतामूलक वातावरण इत्यादि आधारभूत सेवाको सुनिश्चितता उसले पाउनुपर्छ । कुनै मुलुकको नागरिक त्यस मुलुकका शासकवर्गको दास होइन । तसर्थ नागरिकले व्यहोरेको हिस्सेदारीको फलस्वरूप उसले आधारभूत सेवासम्म पाउँदैन भने हिस्सेदारीको बोझ उठाइराख्न कुनै बाध्यता छैन ।

आफूलाई लोककल्याणकारी राज्य भनाउने कुनै पनि शासन व्यवस्थाले राजस्वलाई आफूखुसी गर्न पाउने कोषको रूपमा नलिई जनताको सम्पत्तिको रूपमा लिनुपर्छ र धेरैले लिने गरेका पनि छन् । वैधानिक रूपमा राजस्व शासकको सम्पत्ति नभई जनताको कोष हो । योे राष्ट्रहितमा गरिनुपर्ने खर्च धान्न खडा गरिएको कोष हो । यो कुरा स्थापित गर्न सबैजसो मुलुकले आयव्ययको विवरण, अनुमान र कार्यसूचीमा अनुमोदन लिने गर्दछन् । यसैलाई बोलचालको भाषामा बजेट पेस तथा पारित गर्ने भनिन्छ । कुरो यतिमै मात्र सीमित छैन, सोअनुसार भयो–भएन भनेर लेखा परीक्षण पनि हुन्छ । अब कसैले धूर्ततापूर्वक यी सबै छलेर राजस्व कुम्ल्याउँछ र पचाउँछ भने त्यो अपराध नै हो । यस्तो अपराध रोक्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन विभिन्न संरचना छन् ।

सामान्यतया कसैले पनि आफूले गरेको योगदानको के उपयोग भयो भनेर जान्ने चासो हमेसा राख्छन् । झन् वर्तमानमा त आराध्यलाई समर्पण गरेको गुप्त भेटीको पनि के उपयोग भयो भनेर चासो राखिने गरेको छ । तर, आफ्नो रगत–पसिनाको कमाइबाट सङ्कलन भएको राजस्वको के उपयोग भयो भन्ने चासो राखेको पाइन्न । बरु राजस्वबाट उचित–अनुचित जसरी भए पनि आफ्नो भागमा पनि केही परोस् भन्ने लोभ नै बलवान भएको देखिन्छ । यदि कर अप्रत्यक्ष भए आफूले गरेको योगदानको ज्ञान नहुन सक्छ । ज्ञान भई नै हाले पनि आफूले प्रत्यक्ष दिएको अनुभूति हुन्न । त्यसैले धेरैले उपयोगको बारेमा चासो राख्न अनावश्यक ठानेको देखिन्छ ।

यो कुरा नै अप्रत्यक्ष करको अवधारणाको जननी हो । अप्रत्यक्ष करको विशेषता नै कर तिर्नेले आफूले कर तिरेको थाहा नपाउनु हो । यस पद्धतिमा कुनै वर्गलाई प्रत्यक्ष करमा छुट दिएर अप्रत्यक्ष करमा त्यसैबाट पर्याप्त कर असुल गर्न सजिलो पर्दछ । अप्रत्यक्ष करमा कुनै वर्गविशेषको त कुरै छैन भिख मागेर गुजारा गर्ने तन्नमले पनि धन्ना सेठलेसरह कर तिरेको हुन्छ । अझ मूल्य अभिवृद्धि करजस्तो प्रत्यक्ष भएर पनि अप्रत्यक्षसरह लाग्ने कर भिखारीलाई लागेको हुन्छ, तर धन्नासेठले छुट पाएको हुन्छ । प्रत्यक्ष कर नलाग्ने भनेर भनिएकाहरूले तिरेको कर सामान्य उदाहरणबाट देख्न सकिन्छ । मानौँ एक मजदुरले महिनामा तीन हजारको कमाइ गर्दछ जसबापत उसले कुनै प्रत्यक्ष कर तिर्दैन, तिर्नुपर्दैन ।

कर तिरेको गौरवबाट बहुसङ्ख्यक देशवासीलाई बन्चित गर्नु उनीहरूप्रति घोर अन्याय हो । आफ्नो रगतपसिनाको कमाइबाट सङ्कलित राजस्वको सही उपयोग होस् र आफ्नो प्रत्यक्ष संलग्नताबेगर अरू कसैले गरेको हानिको क्षतिपूर्तिजस्ता कार्यमा आफ्नो रगतपसिनाको कमाइ उपयोग नहोस् भन्नलाई त्यो रकममा आफ्नो रगतपसिना परेको छ भन्ने चेतना आवश्यक छ ।

कमाइको बेलामा कुनै कर नतिरे पनि उसले गरेको प्रत्येक खर्चमा अहिलेको करको दरमा करिब बीस प्रतिशतभन्दा ज्यादा अप्रत्यक्ष कर तिरेको हुन्छ । उसको सम्पूर्ण कमाइ खर्च गर्दा ६ सयभन्दा ज्यादा अप्रत्यक्ष कर तिरेको हुन्छ । यसको ज्ञान उसलाई हुँदैन । राज्यले आफूलाई कर छुट गरेको भ्रममा रहेकाले आफूले गरेको त्यो योगदानको उसलाई ज्ञान नै हुँदैन । यसको फलस्वरूप राज्यसँग गरिने राजस्वमा भार पर्ने हरेक मागमा ऊ समर्थन जनाउन पुग्दछ । जो वास्तवमा उसको कमाइमा पर्ने अतिरिक्त भार हो । यो व्यय भार बहन गर्न राज्यले अप्रत्यक्ष करको दायरा वा दर बढाउँदा उसले तिर्ने गरेको रकम बढेर जान पनि सक्छ भन्ने हेक्का रहँदैन ।

प्रत्यक्ष करबारे कुरा गर्दा धेरैलाई कम आय भएकाहरूको अहित भएको महसुस हुन सक्छ । यो अनौठो कुरा पनि होइन, तर भिखारीसम्मलाई नछोड्ने अप्रत्यक्ष करको सम्बन्धमा कसैलाई चासो भएको पाइँदैन । फलस्वरूप पुँजीपतिहरू, जो अप्रत्यक्ष कर सङ्कलन गरेर राज्यलाई बुझाउँछन्, ठूला करदाता भएर राज्यबाट सम्मान र विशेष व्यवहारको हकदार हुन्छन् । वास्तविक करदाताहरू, जसमा विपन्नसमेत पर्दछन्, आफूले राजस्वमा गरेको योगदानको कुनै जश पाउँदैनन् ।

कुनै पनि उद्योगी वा व्यापारीले कुनै किसिमको अप्रत्यक्ष कर आफैले तिर्दैन । ऊ केवल त्यस्ता करहरू उपभोक्ताबाट सङ्कलन गरेर राज्यलाई बुझाउने माध्यम मात्र हो । कतिपय अवस्थामा त छुट वा सुविधाको नाममा यसरी उपभोक्ताबाट सङ्कलन गरेको करको हिस्सा पनि उसले पाउने गरेको हुन्छ । यस सम्बन्धमा मूल्य अभिवृद्धि करको वर्तमान व्यवस्थाको सानो उदाहरण प्रासङ्गिक हुन्छ । मूल्य अभिवृद्धि करको फाँटवारी बुझाउँदा त्यो अवधिमा उसले खरिदमा तिरेको मूल्य अभिवृद्धि कर र उसले सङ्कलन गरेको मूल्य अभिवृद्धि करको फरक बुझाउनुपर्छ । यदि यो फरक ऋणात्मक भएमा उसले कर फिर्ता पाउँछ वा अर्को फाँटवारीमा समायोजन गर्दछ । यसको अर्थ उसले आफूले उपभोग गरेको वस्तुको मूल्य अभिवृद्धि कर बुझाउनुपर्दैन । खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर पनि फिर्ता पाउँछ । तर, सर्वसाधारणले अप्रत्यक्ष कर तिरेकै हुन्छ ।

सबै देशवासीहरूले राज्यलाई कर तिरेकै छन् । कर तिर्नु उनीहरूको दायित्व पनि हो । यसो हुँदाहुँदै पनि कर तिरेको गौरवबाट बहुसङ्ख्यक देशवासीलाई बन्चित गर्नु उनीहरूप्रति घोर अन्याय हो । आफ्नो रगतपसिनाको कमाइबाट सङ्कलित राजस्वको सही उपयोग होस् र आफ्नो प्रत्यक्ष संलग्नताबेगर अरू कसैले गरेको हानिको क्षतिपूर्तिजस्ता कार्यमा आफ्नो रगतपसिनाको कमाइ उपयोग नहोस् भन्नलाई त्यो रकममा आफ्नो रगतपसिना परेको छ भन्ने चेतना आवश्यक छ । यो चेतनाको निमित्त भए पनि अप्रत्यक्ष करको मारबाट मुक्ति र प्रत्यक्ष करबाट आफ्नो योगदानको गौरव गर्न पाउने व्यवस्था अत्यन्त आवश्यक छ । मध्यमवर्ग मात्र नभएर सर्वहारावर्गले पनि आफ्नो आर्जनको उल्लेख्य हिस्सा करको रूपमा तिरेका छन्, तर त्यसको अनुभूति गर्न पाएका छैनन् ।