कहिले होला विस्थापितको पुनर्वास ?

कहिले होला विस्थापितको पुनर्वास ?


– किशोर बुढाथोकी/ सिन्धुपाल्चोक

प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद अग्नीप्रसाद सापकोटाले विस्थापितहरूको समस्या लिएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसमक्ष पुगी भने– ‘समस्या समाधान किन भएको छैन ?’ हिजो बुधबारको सो सन्दर्भमा उनले थपेका थिए, ‘प्रक्रिया कहाँ पुग्यो, के हुँदैछ ?’

सांसदसँगै वास्तविक पीडितलाई सुरक्षित रुपमा पुनर्वास गराउने समन्वय गरिरहेको संस्था जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा पनि थिए । ‘पहल भइरहेको छ, वास्तविक पीडितलाई पहिचान गर्नुहोस्,’ अधिकृत भुसालको भनाई उदृत गर्दै शर्माले भने, ‘गाउँपालिका, वडा र जिल्ला प्रशासनबाट वास्तविक पीडितको नाम आउनुपर्छ हामी पुनर्वास गराउने तयार छौं ।’

उनले जिल्लामा गठित एक समितिले पहिचान गरेको विस्थापितहरूको सूचीसमेत अधिकृतलाई बुझाएको जानकारी दिए । समितिले १ सय ५४ जना विस्थापितको घरधुरी पहिचान गरेको थियो ।

गएको जेठ ३१ गते तत्कालीन पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले सेलाङस्थित बाँसखर्कमै पु्गेर विस्थापितहरूलाई एउटा आश्वासन दिएका थिए । ‘अब यहीं स्थायी घर बनाएर तपाईंहरूलाई यतै बस्ने व्यवस्था मिलाउँछु ।’ उनले दिएको आश्वासनले अझैसम्म पूर्णता पाएन, न त यसका लागि कुनै विशेष पहल नै भयो ।

विस्थापितहरू अझै बाँसखर्कमा चिसो सहेर स्थापित हुने दिन कुरिरहेका छन् । डा. पोखरेलले आश्वासन दिएपछि जिल्लास्तरबाट केही पहल नभएको भने होइन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कार्यदलले बाँसखर्कमा रहेका विस्थापितको पहिचान गरि पुनर्वास गराउन १ सय ५४ घरधुरीको सूची बनाएको छ । भूगर्भविद्मार्फत विस्थापित भएकाहरूको पुरानो थातथलोको निरीक्षण पनि भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भन्छन्, ‘अहिले त्यहाँ बसिरहेका सबै वास्तविक पीडित होइनन् ।’ उनले अधिकांश विस्थपितहरूले आवास निर्माणका लागि पहिलो किस्ता र दोस्रो किस्ता लिइसकेको बताए । ‘पुरानो थातथलोमा बस्नै नसक्ने भएकाहरू केही परिवार छन्, उनीहरूको सम्बोधन गर्नतिर हामी लागिपरेका छौं ।’ तामाङले भने ।

भूईंचालोपछि समतल स्थान रहेको हाल जुगल गाउँपालिका–१ स्थित बाँसखर्कमा विभिन्न गाउँका भूकम्पपीडितहरू शिविर बनाइ बसेका छन् । जिल्लामा गठित कार्यदलले गरेको अध्ययनले भूकम्पपीडितको पुरानो थातथलोमा बस्न अयोग्य देखिएपछि उनीहरूलाई बस्दै आएको स्थानमै जग्गा प्रदान गरि आवास निर्माण गराउन लागिएको हो । भूकम्पपीडित विस्थापित शिविर बनाई बसोबास गरिरहेका छन् । यहाँ अहिले जिल्लाको पारी गाउँको नामले चिनिइने विकट गाउँ गोल्चे, गुम्बा, पाङताङ, सेलाङ र बतासेका पीडित बस्दै आएका छन् । उनीहरू ९ हेक्टर क्षेत्रफल रहेको सामुदायिक बनमा बसिरहेका हुन् ।

‘हामीलाई यहाँ बस्न निकै सकस छ,’ साविक सेलाङ ७ कि शैलकुमारी शिलवालले भनिन्, ‘जाडोयाममा हिउँले सताउँछ, गर्मीमा जस्ता र पालले पोलेर बस्नै सकिदैन ।’ आफू बस्दै आएको सुरक्षित स्थानमा आफ्नै लागि नयाँ सुविधासम्पन्न घर निर्माण हुने भएपछि विस्थापितहरू रमाएका छन् । ‘साहै्र दुःख पाएका छौं, घर बन्ने भएपछि हामी किन विवाद गर्ने थियौँ र ?’ उनले थपिन् ।

विस्थापितहरूका लागि पुनर्निर्माण प्राधिकरणकोे अगुवाई, अक्सफामको सहयोग तथा सामुदायिक आत्मनिर्भरता सेवा केन्द्र र जनहित ग्रामीण सेवा समितिको समन्वयमा एकिकृत बस्ती बनाउन अध्ययन गरिएको हो । पहिलो चरणमा साविक सेलाङको वडा नं. ८ र ९ का विस्थापितको पुरानो थातथलोको अवलोकन गरेको थियो । सोअनुसार पुनर्निर्माण प्राधिकरण समन्वय समितिले सेलाङका विस्थापितलाई अहिले बस्दै आएको स्थानमा जग्गा दिई आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरिसकेको छ । अहिले विस्थापित बसिरहेको स्थान सामुदायिक बनको जग्गा हो । अस्थायी सेल्टर बनाएर बसिरहेका पीडितहरू निकै समस्यामा परेको भन्दै साँसद सापकोटा उनीहरूलाई पुनर्वास गराउने पहल गर्न प्राधिकरण पुगेका हुन् ।