‘बच्चा पाउने कहिले–कहिले कोक्रो बुन्ने अहिले’ भनेजस्तै नायक निखिल उपे्रतीसँग विवाह गरेको ३–४ महिनामा नै सञ्चिताले निकै गौरवका साथ भन्न थालेकी थिइन् कि ‘म निखिलको बच्चाको आमा बन्दै छु । यो हाम्रो सहमतिमा नै भएको हो ।’
पहिलो सन्तान पाउने समयमा ठूलै युद्ध जितेको र ऐतिहासिक काम नै गरेको जसरी सन्तान पाउँदा निकै हल्लाखल्ला मच्चाउने सञ्चिताले दोस्रो सन्तान भने गुपचुपमा नै पाएकी छिन् । गत साता मात्र उनले काठमाडौंको नर्भिक अस्पतालमा पुत्रीलाई जन्म दिएकी थिइन् । तर, यो कुरालाई उनले गोप्य नै राखिन् । पहिलो सन्तान पुत्रलाई जन्म दिँदा पलपलको खबर प्रत्यक्ष रूपमा दिने सञ्चिताको माइती पक्ष पनि यतिबेला गुपचुप नै छ । पहिले अत्यधिकले थाहा पाउन् भन्ने सञ्चिताको माइती पक्ष यतिबेला कसैले थाहा नपाउन् भन्ने पक्षमा देखियो । किन यस्तो भयो र भइरहेको छ ? कसैले बुझ्न सकिरहेका छैनन् ।
पहिलो सन्तान पाउँदा गर्भ रहँदाखेरि नै आफ्नो समाचार आफैं दिने सञ्चिताले दोस्रो सन्तानलाई जन्म दिँदा भने सीमित व्यक्तिलाई मात्र जानकारी गराएकी थिइन् । गोप्य रूपमा नै नर्भिक अस्पताल पुगिन् अनि गोप्य रूपमा नै छोरी जन्माएर माइती फर्किएकी थिइन् ।
हामीलाई प्राप्त जानकारीअनुसार भने सञ्चिताले यस्तो गर्नुमा उनको आफ्नै बाध्यता थियो । पहिलो सन्तान जन्माउँदा मुम्बईबाट हुइँकिएर नेपाल आइपुगेका निखिलले यसपटक भने खासै चासो देखाएको पाइएन । एक त निखिल आफैं पनि आर्थिक अवस्थाका कारण कमजोर हुँदै गएका छन् भने अर्कोतर्फ दुई श्रीमती अनि दुई सन्तान हुँदाहुँदै सञ्चिताले वर्षैपिच्छे सन्तान पाउन थालेपछि निखिलमा खासै उत्साह र जाँगर छैन । सन्तान जन्मियो भनेर उत्साहित हुनुपर्ने कारण नभएपछि यसपटक निखिल मुम्बईबाट नेपाल आएनन् । निखिल नआएपछि सञ्चिताको परिवारको मनमा चिसो पस्नु पनि स्वाभाविकै थियो, भयो पनि त्यस्तै ।
त्यसो त नेपालमा दुई श्रीमतीलाई यता न उता पारेर मुम्बईमा बेरोजगारी अवस्था रहेका एक समयका नेपाली ‘हट केक’ नायक निखिल उपे्रतीको यतिबेला मुम्बईमा रहेकी अर्की नायिका निरुता सिंहसँग समय–समयमा भेट हुने गरेको समाचार गताङ्कमा घटना र विचारले प्रकाशित गरेको थियो । जब त्यो आधिकारिक समाचार घटना र विचारमा प्रकाशित भएपछि निखिल र सञ्चिताबीच हलुका मनमुटाव सुरु भएको जानकारी प्राप्त भएको छ । आफू जस्तो अरूलाई त्यस्तै सोच्ने सञ्चिताको सोच गलत पनि हुन सक्छ किनकि निखिल र निरुताको भेट सहकर्मीको रूपमा पनि भएको हुनसक्छ तर गलत सोचले सञ्चितालाई हाल गलाउँदै गएको छ । मुम्बई पुगेको अन्य चलचित्रकर्मीहरूले पनि निरुता र निखिललाई एकसाथ भेटेको कुरा सञ्चितालाई सुनाउन थालेपछि वनको बाघले होइन मनको बाघले सञ्चितालाई यतिबेला खाइरहेको छ । श्रीमती र एक सन्तानका साथ सुखसयलमा जीवन बिताइरहेका निखिलको परिवारमा तनाव बोकेर प्रवेश गरेकी सञ्चितालाई पनि यतिबेला तनाव नै तनाव छ । ‘त्यसलाई कहिल्यै शान्ति हुँदैन । मेरो जीवनलाई बर्बाद पार्ने त्यसको जीवन पनि बर्बाद भएको देख्न पाऊँ । म त्यही कामना गर्छु भगवान्सँग । धेरै रोएकी छु म । मेरो आँसुको श्राप लाग्छ त्यसलाई,’ निखिलपत्नी कोपिलाको पीडा हो यो । सञ्चिताजस्ती सेलिबे्रटीले सन्तान जन्माउँदा गुपचुपका साथ जन्माउनुपर्दा अवश्य पनि ‘दालमे कुछ काला हे’ भन्दा फरक पर्दैन ।
डुब्यो लभ इज लाइफ
कुनै पनि काम अनुभवहीन व्यक्तिले नजानेर गर्यो भने अवश्य पनि त्यो काम बिग्रन सक्छ र त्यो क्षेत्रमै बेइज्जत हुन्छ । सबै काम पैसा धेरै हुनेले नै गर्न सक्छ भन्ने दाबी गर्नेले नै पवित्र क्षेत्रको बिजोक बनाइरहेका छन् ।
यस्तै अनुभवहीन, क्षमताविहीन र दक्षता नभएका एक व्यक्ति एलएन गौतमले चलचित्रको निर्देशन गरिदिँदा एउटा सिर्जना मर्न पुगेको छ यतिबेला । निर्देशनको ‘नि’ पनि थाहा नभएका र पैसाको भरमा निर्देशक बनेका गौतमलाई उचालेर निर्देशकमा नाम आउँछ भनेर फिल्ममा लगानी गर्न लगाउने गीतकार शंकर अधिकारी ‘घायल’ पनि यस गलत कार्यको दोषीको भागीदार छन् ।
एलएन गौतम कसरी निर्देशक बने ? उनी आफैं पनि भन्न सक्दैनन् । निर्देशकजस्तो गहन विधा र सम्मानित क्षेत्रलाई पैसाको भरमा किन्न खोज्ने उनी अन्तत: आफैं पछारिन पुगेका छन् । गत सातादेखि प्रदर्शनमा आएको चलचित्र ‘लभ इज लाइफ’ले निर्देशन क्षेत्रको उनको ‘लाइफ’ बचाउन सकेन । पैसा पाइन्छ भनेर यस्ता अनुभवहीन निर्देशकको फिल्ममा काम गर्ने कलाकारहरूले पनि अब पाठ सिक्नुपर्छ । चलचित्रजस्तो सम्मानित विधालाई हलुका रूपमा लिनेहरूलाई किन साथ दिने ?
चलचित्र क्षेत्रमा नै लागेर कपाल फुलाउनेहरूको अस्तित्व मेटिन लागेको अवस्थामा पैसाको भरमा निर्देशक बन्ने एलएन गौतमजस्तालाई निर्देशकहरूको छाता सङ्गठन निर्देशक समाजले के गर्छ ? के पैसा हुनासाथ जो पनि निर्देशक बन्ने ? यस्तो निर्देशकले गतिलो सिनेमा नबनाउँदा भएका दर्शक पनि भाँडिन पुगेका छन् र सबै सतर्क रहनुपर्ने अवस्था पनि छ ।
एटीएमलाई अर्को झड्का
समग्र नेपाली चलचित्र उद्योगको बेइज्जत हुने गरी निर्माण गरिएको चलचित्र एटीएम यतिबेला जनस्तरबाट मात्र बहिष्कारमा परेको छैन कि सरकारीस्तरबाट पनि यो चलचित्र सेन्सरमा पर्न पुग्यो ।
समाजमा टाउको नै लुकाएर हिँड्नुपर्ने अवस्था आउँदासम्म पनि यो चलचित्रलाई रिलिज गर्छु भनेर गफ दिँदै हिँड्ने यसका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवालको सिनेमा रिलिज गर्ने दाउ तुहिन पुग्यो । करिब दुई घन्टा समय खिचिएको एटीएममा यति भद्दा, खराब, घृणित र अश्लील दृश्यहरू थिए कि सेन्सर गर्दा सञ्चार मन्त्रालयले त्यस्ता दृश्यहरू हटाउन निर्देशन दिँदा दुई घन्टाको एटीएम जम्माजन्मी बीस सिनेटमा झरेको थियो । चलचित्र सेन्सर बोर्डका सदस्यहरूले त एटीएमका निर्माता–निर्देशकलाई यसो पनि भनिदिए, ‘अब यो चलचित्र सिनेमाहलमा होइन कि सर्ट फिल्म महोत्सवमा लगे हुन्छ ।’ यो शब्दले एकछिन माहौल नै हाँसोमय भएको थियो ।
यस्तो फिल्म बनाएर लाखौँ कमाउने निर्माता दिनेश थापाको सपनामा तुषारापात मात्र भएको छैन कि झापाकी जानकी अर्थात् जिया केसीको क्यारियर पनि बिग्रन पुगेको छ । यिनलाई राम्रो भूमिका दिने योजनामा रहेका निर्माता–निर्देशकहरू अहिले झसङ्ग भएका छन् । ‘धन्य बचिएछ । के सोचिएको थियो यिनी त के पो निस्किन्..’ उनीहरूको भनाइ छ ।
एटीएमबाट बद्नाम भएकै कारण जियाले अभिनय गरेका अन्य चलचित्रका निर्माताहरू पनि चलचित्र रिलिज गर्न सकिरहेका छैनन् । निर्माता निर्मल सेन्चुरी र निर्देशक दीपक श्रेष्ठले जियालाई पब्लिसिटीबाट हटाएका छन् भने स्टिकर, पोस्टर वा सिनेमाको क्लिपमा जियाको कुनै पनि दृश्य नराख्ने निर्णयमा पुगेका छन् उनीहरू ।
उता एटीएमकै अर्की अनुहार सोनिया शर्माको फिल्मी क्यारियर पनि फुल्न नपाउँदै ओइलाउन पुगेको छ । उनमा त दृश्य मात्र होइन मिडियामा अन्तर्वार्ता दिँदा पनि भल्गर बोल्दा हिट भइन्छ भन्ने भ्रम छ । यस्तो भ्रमबाट मुक्त हुन उनलाई सुझाव छ । नायिकाहरूको अभाव भइरहेको समयमा केही यस्ता नयाँहरूको आगमनले राम्रो सम्भावना बढाएको अवस्थामा यिनीहरूको गलत सोच अनि उपस्थितिले गर्दा नयाँप्रति विश्वास नै हुन छोडेको छ ।
तपाईंको दृष्टिमा
नेपाली साहित्यका कविता विधामा सर्वाधिक चर्चित कवि हुन्– महेश रेग्मी । खासगरी महेश रेग्मीलाई प्रयोगवादी कविका रूपमा लिइन्छ । यदाकदा राजनीतिक विश्लेषणात्मक लेख लेखे पनि मूलत: उनी पूर्णकालीन कवि हुन् । ०३८ सालदेखि कवितालेखनमा निरन्तर लागेका कवि महेश रेग्मी ०२२ साल भदौ १३ गते पाल्पाको तानसेन नगरपालिका– १ मेहलधारा टोलमा जन्मिएका हुन् । साढे दुई दशकदेखि काठमाडौंमा बसोबास गर्दै आएका कवि महेशको प्रथम प्रकाशित कविता कृति ०५६ मा ‘समय नेपथ्यमा’ प्रकाशित भएको थियो । पछिल्लोपटक चर्चामा आएको ‘आज तिमीलाई सम्झिँदा’ कवितासङ्ग्रह गरी दुईवटा कविता कृति उनका प्रकाशित भएका छन् । सङ्ख्यालाई भन्दा कविताको गुणवत्तालाई ध्यान दिने कवि महेशसँग घटना र विचार साप्ताहिकले गरेको रङ्गीन प्रश्नावलीको सवाल–जवाफ :
० जीवन के हो ?
– महत् अवसर
० प्रम के हो ?
– परिभाषा गर्न नसकिने अनुभूति
० सुन्दरता के हो ?
– आँखा र मनको सुख
० मन के हो ?
– आवेग–संवेग
० भावना के हो ?
– अनुभूतिको उद्वेलन
० विवाह के हो ?
– जैविक आवश्यकता
० बन्धन के हो ?
– सीमातीत
० अपमान के हो ?
– अस्तित्वमाथि प्रहार
० इज्जत के हो ?
– मानवीय गहना
० बेइज्जती के हो ?
– नैतिक पतन
० मिलन के हो ?
– पीडाको विमोचन
० विछोड के हो ?
– पीडारत्
० जवानी के हो ?
– उमेरजन्य निकास
० बालपन के हो ?
– जीवनको एक अकिञ्चन कालखण्ड
० तृष्णा के हो ?
– एकप्रकारको लगाव
० रिस के हो ?
– विवेकको विघटन
० जोस के हो ?
– ऊर्जाशील सोच
० नसा के हो ?
– आत्मकेन्द्रित अवस्था
० कर्तव्य के हो ?
– जिम्मेवारी बोध
० सन्तुष्टि के हो ?
– मुक्त अवस्था
० सिर्जना के हो ?
– प्रतिभा प्रदर्शन
० विश्वास के हो ?
– उच्चतम भावना
० असल के हो ?
– आफू र अरूप्रति इमानदार
० खराब के हो ?
– व्यक्तित्वको विघटन
० सबभन्दा ठूलो धोका ?
– विश्वासघात
० दु:ख के हो ?
– आफूलाई नचिन्नु
० खुसी के हो ?
– गरेको कामबाट पार पाउनु
० आनन्द केमा छ ?
– आनन्द आफैंले सिर्जना गर्ने हो
० मित्र को हो ?
– सङ्कटको बेला थाहा हुन्छ
० शत्रु को हो ?
– जीवनको विपरीत ध्रुव
० सङ्घर्ष के हो ?
– जीवनको अपरिहार्यता
० प्राप्ति के हो ?
– उपलब्धि र उन्नतिको अवस्था
० आस्था के हो ?
– विश्वासको प्रगाढ भाव
० धर्म के हो ?
– मूल्यपद्धति अङ्गाल्नु
० नैतिकता के हो ?
– व्यक्तित्वको मापदण्ड
० चरित्र के हो ?
– व्यक्तिको सर्वोच्च मूल्य
० ज्ञान के हो ?
– जीवनलाई व्यवस्थित र रूपान्तरण गर्ने
० बुद्धि के हो ?
– क्षमता र कौशल
० सम्झौता के हो ?
– जीवनको सहकार्य
० सृष्टि के हो ?
– सर्वोच्चतम अवस्था
० गुरु को हो ?
– पथ–प्रदर्शक
० राजनीति के हो ?
– राज्य चलाउने नीति
० देश के हो ?
– जीवन्त भौतिक अवस्थिति
० समाज के हो ?
– विभिन्न स्वार्थसमूहको सामूहिकता
० पद के हो ?
– पहिचानको आधार
० सुख के हो ?
– भौतिक÷अभौतिक आनन्द
० विकास के हो ?
– उन्नतिको भौतिक तथा अभौतिक रूप
० व्यापार के हो ?
– नाफा आर्जन
० यौन के हो ?
– मनोशारीरिक उत्कर्ष
प्रतिक्रिया