निखिल परिवारमा भाँडभैलो

निखिल परिवारमा भाँडभैलो


‘बच्चा पाउने कहिले–कहिले कोक्रो बुन्ने अहिले’ भनेजस्तै नायक निखिल उपे्रतीसँग विवाह गरेको ३–४ महिनामा नै सञ्चिताले निकै गौरवका साथ भन्न थालेकी थिइन् कि ‘म निखिलको बच्चाको आमा बन्दै छु । यो हाम्रो सहमतिमा नै भएको हो ।’
पहिलो सन्तान पाउने समयमा ठूलै युद्ध जितेको र ऐतिहासिक काम नै गरेको जसरी सन्तान पाउँदा निकै हल्लाखल्ला मच्चाउने सञ्चिताले दोस्रो सन्तान भने गुपचुपमा नै पाएकी छिन् । गत साता मात्र उनले काठमाडौंको नर्भिक अस्पतालमा पुत्रीलाई जन्म दिएकी थिइन् । तर, यो कुरालाई उनले गोप्य नै राखिन् । पहिलो सन्तान पुत्रलाई जन्म दिँदा पलपलको खबर प्रत्यक्ष रूपमा दिने सञ्चिताको माइती पक्ष पनि यतिबेला गुपचुप नै छ । पहिले अत्यधिकले थाहा पाउन् भन्ने सञ्चिताको माइती पक्ष यतिबेला कसैले थाहा नपाउन् भन्ने पक्षमा देखियो । किन यस्तो भयो र भइरहेको छ ? कसैले बुझ्न सकिरहेका छैनन् ।
पहिलो सन्तान पाउँदा गर्भ रहँदाखेरि नै आफ्नो समाचार आफैं दिने सञ्चिताले दोस्रो सन्तानलाई जन्म दिँदा भने सीमित व्यक्तिलाई मात्र जानकारी गराएकी थिइन् । गोप्य रूपमा नै नर्भिक अस्पताल पुगिन् अनि गोप्य रूपमा नै छोरी जन्माएर माइती फर्किएकी थिइन् ।
हामीलाई प्राप्त जानकारीअनुसार भने सञ्चिताले यस्तो गर्नुमा उनको आफ्नै बाध्यता थियो । पहिलो सन्तान जन्माउँदा मुम्बईबाट हुइँकिएर नेपाल आइपुगेका निखिलले यसपटक भने खासै चासो देखाएको पाइएन । एक त निखिल आफैं पनि आर्थिक अवस्थाका कारण कमजोर हुँदै गएका छन् भने अर्कोतर्फ दुई श्रीमती अनि दुई सन्तान हुँदाहुँदै सञ्चिताले वर्षैपिच्छे सन्तान पाउन थालेपछि निखिलमा खासै उत्साह र जाँगर छैन । सन्तान जन्मियो भनेर उत्साहित हुनुपर्ने कारण नभएपछि यसपटक निखिल मुम्बईबाट नेपाल आएनन् । निखिल नआएपछि सञ्चिताको परिवारको मनमा चिसो पस्नु पनि स्वाभाविकै थियो, भयो पनि त्यस्तै ।
त्यसो त नेपालमा दुई श्रीमतीलाई यता न उता पारेर मुम्बईमा बेरोजगारी अवस्था रहेका एक समयका नेपाली ‘हट केक’ नायक निखिल उपे्रतीको यतिबेला मुम्बईमा रहेकी अर्की नायिका निरुता सिंहसँग समय–समयमा भेट हुने गरेको समाचार गताङ्कमा घटना र विचारले प्रकाशित गरेको थियो । जब त्यो आधिकारिक समाचार घटना र विचारमा प्रकाशित भएपछि निखिल र सञ्चिताबीच हलुका मनमुटाव सुरु भएको जानकारी प्राप्त भएको छ । आफू जस्तो अरूलाई त्यस्तै सोच्ने सञ्चिताको सोच गलत पनि हुन सक्छ किनकि निखिल र निरुताको भेट सहकर्मीको रूपमा पनि भएको हुनसक्छ तर गलत सोचले सञ्चितालाई हाल गलाउँदै गएको छ । मुम्बई पुगेको अन्य चलचित्रकर्मीहरूले पनि निरुता र निखिललाई एकसाथ भेटेको कुरा सञ्चितालाई सुनाउन थालेपछि वनको बाघले होइन मनको बाघले सञ्चितालाई यतिबेला खाइरहेको छ । श्रीमती र एक सन्तानका साथ सुखसयलमा जीवन बिताइरहेका निखिलको परिवारमा तनाव बोकेर प्रवेश गरेकी सञ्चितालाई पनि यतिबेला तनाव नै तनाव छ । ‘त्यसलाई कहिल्यै शान्ति हुँदैन । मेरो जीवनलाई बर्बाद पार्ने त्यसको जीवन पनि बर्बाद भएको देख्न पाऊँ । म त्यही कामना गर्छु भगवान्सँग । धेरै रोएकी छु म । मेरो आँसुको श्राप लाग्छ त्यसलाई,’ निखिलपत्नी कोपिलाको पीडा हो यो । सञ्चिताजस्ती सेलिबे्रटीले सन्तान जन्माउँदा गुपचुपका साथ जन्माउनुपर्दा अवश्य पनि ‘दालमे कुछ काला हे’ भन्दा फरक पर्दैन ।

डुब्यो लभ इज लाइफ
कुनै पनि काम अनुभवहीन व्यक्तिले नजानेर गर्‍यो भने अवश्य पनि त्यो काम बिग्रन सक्छ र त्यो क्षेत्रमै बेइज्जत हुन्छ । सबै काम पैसा धेरै हुनेले नै गर्न सक्छ भन्ने दाबी गर्नेले नै पवित्र क्षेत्रको बिजोक बनाइरहेका छन् ।
यस्तै अनुभवहीन, क्षमताविहीन र दक्षता नभएका एक व्यक्ति एलएन गौतमले चलचित्रको निर्देशन गरिदिँदा एउटा सिर्जना मर्न पुगेको छ यतिबेला । निर्देशनको ‘नि’ पनि थाहा नभएका र पैसाको भरमा निर्देशक बनेका गौतमलाई उचालेर निर्देशकमा नाम आउँछ भनेर फिल्ममा लगानी गर्न लगाउने गीतकार शंकर अधिकारी ‘घायल’ पनि यस गलत कार्यको दोषीको भागीदार छन् ।
एलएन गौतम कसरी निर्देशक बने ? उनी आफैं पनि भन्न सक्दैनन् । निर्देशकजस्तो गहन विधा र सम्मानित क्षेत्रलाई पैसाको भरमा किन्न खोज्ने उनी अन्तत: आफैं पछारिन पुगेका छन् । गत सातादेखि प्रदर्शनमा आएको चलचित्र ‘लभ इज लाइफ’ले निर्देशन क्षेत्रको उनको ‘लाइफ’ बचाउन सकेन । पैसा पाइन्छ भनेर यस्ता अनुभवहीन निर्देशकको फिल्ममा काम गर्ने कलाकारहरूले पनि अब पाठ सिक्नुपर्छ । चलचित्रजस्तो सम्मानित विधालाई हलुका रूपमा लिनेहरूलाई किन साथ दिने ?
चलचित्र क्षेत्रमा नै लागेर कपाल फुलाउनेहरूको अस्तित्व मेटिन लागेको अवस्थामा पैसाको भरमा निर्देशक बन्ने एलएन गौतमजस्तालाई निर्देशकहरूको छाता सङ्गठन निर्देशक समाजले के गर्छ ? के पैसा हुनासाथ जो पनि निर्देशक बन्ने ? यस्तो निर्देशकले गतिलो सिनेमा नबनाउँदा भएका दर्शक पनि भाँडिन पुगेका छन् र सबै सतर्क रहनुपर्ने अवस्था पनि छ ।

एटीएमलाई अर्को झड्का
समग्र नेपाली चलचित्र उद्योगको बेइज्जत हुने गरी निर्माण गरिएको चलचित्र एटीएम यतिबेला जनस्तरबाट मात्र बहिष्कारमा परेको छैन कि सरकारीस्तरबाट पनि यो चलचित्र सेन्सरमा पर्न पुग्यो ।
समाजमा टाउको नै लुकाएर हिँड्नुपर्ने अवस्था आउँदासम्म पनि यो चलचित्रलाई रिलिज गर्छु भनेर गफ दिँदै हिँड्ने यसका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवालको सिनेमा रिलिज गर्ने दाउ तुहिन पुग्यो । करिब दुई घन्टा समय खिचिएको एटीएममा यति भद्दा, खराब, घृणित र अश्लील दृश्यहरू थिए कि सेन्सर गर्दा सञ्चार मन्त्रालयले त्यस्ता दृश्यहरू हटाउन निर्देशन दिँदा दुई घन्टाको एटीएम जम्माजन्मी बीस सिनेटमा झरेको थियो । चलचित्र सेन्सर बोर्डका सदस्यहरूले त एटीएमका निर्माता–निर्देशकलाई यसो पनि भनिदिए, ‘अब यो चलचित्र सिनेमाहलमा होइन कि सर्ट फिल्म महोत्सवमा लगे हुन्छ ।’ यो शब्दले एकछिन माहौल नै हाँसोमय भएको थियो ।
यस्तो फिल्म बनाएर लाखौँ कमाउने निर्माता दिनेश थापाको सपनामा तुषारापात मात्र भएको छैन कि झापाकी जानकी अर्थात् जिया केसीको क्यारियर पनि बिग्रन पुगेको छ । यिनलाई राम्रो भूमिका दिने योजनामा रहेका निर्माता–निर्देशकहरू अहिले झसङ्ग भएका छन् । ‘धन्य बचिएछ । के सोचिएको थियो यिनी त के पो निस्किन्..’ उनीहरूको भनाइ छ ।
एटीएमबाट बद्नाम भएकै कारण जियाले अभिनय गरेका अन्य चलचित्रका निर्माताहरू पनि चलचित्र रिलिज गर्न सकिरहेका छैनन् । निर्माता निर्मल सेन्चुरी र निर्देशक दीपक श्रेष्ठले जियालाई पब्लिसिटीबाट हटाएका छन् भने स्टिकर, पोस्टर वा सिनेमाको क्लिपमा जियाको कुनै पनि दृश्य नराख्ने निर्णयमा पुगेका छन् उनीहरू ।
उता एटीएमकै अर्की अनुहार सोनिया शर्माको फिल्मी क्यारियर पनि फुल्न नपाउँदै ओइलाउन पुगेको छ । उनमा त दृश्य मात्र होइन मिडियामा अन्तर्वार्ता दिँदा पनि भल्गर बोल्दा हिट भइन्छ भन्ने भ्रम छ । यस्तो भ्रमबाट मुक्त हुन उनलाई सुझाव छ । नायिकाहरूको अभाव भइरहेको समयमा केही यस्ता नयाँहरूको आगमनले राम्रो सम्भावना बढाएको अवस्थामा यिनीहरूको गलत सोच अनि उपस्थितिले गर्दा नयाँप्रति विश्वास नै हुन छोडेको छ ।

तपाईंको दृष्टिमा
नेपाली साहित्यका कविता विधामा सर्वाधिक चर्चित कवि हुन्– महेश रेग्मी । खासगरी महेश रेग्मीलाई प्रयोगवादी कविका रूपमा लिइन्छ । यदाकदा राजनीतिक विश्लेषणात्मक लेख लेखे पनि मूलत: उनी पूर्णकालीन कवि हुन् । ०३८ सालदेखि कवितालेखनमा निरन्तर लागेका कवि महेश रेग्मी ०२२ साल भदौ १३ गते पाल्पाको तानसेन नगरपालिका– १ मेहलधारा टोलमा जन्मिएका हुन् । साढे दुई दशकदेखि काठमाडौंमा बसोबास गर्दै आएका कवि महेशको प्रथम प्रकाशित कविता कृति ०५६ मा ‘समय नेपथ्यमा’ प्रकाशित भएको थियो । पछिल्लोपटक चर्चामा आएको ‘आज तिमीलाई सम्झिँदा’ कवितासङ्ग्रह गरी दुईवटा कविता कृति उनका प्रकाशित भएका छन् । सङ्ख्यालाई भन्दा कविताको गुणवत्तालाई ध्यान दिने कवि महेशसँग घटना र विचार साप्ताहिकले गरेको रङ्गीन प्रश्नावलीको सवाल–जवाफ :

० जीवन के हो ?
– महत् अवसर
० प्रम के हो ?
– परिभाषा गर्न नसकिने अनुभूति
० सुन्दरता के हो ?
– आँखा र मनको सुख
० मन के हो ?
– आवेग–संवेग
० भावना के हो ?
– अनुभूतिको उद्वेलन
० विवाह के हो ?
– जैविक आवश्यकता
० बन्धन के हो ?
– सीमातीत
० अपमान के हो ?
– अस्तित्वमाथि प्रहार
० इज्जत के हो ?
– मानवीय गहना
० बेइज्जती के हो ?
– नैतिक पतन
० मिलन के हो ?
– पीडाको विमोचन
० विछोड के हो ?
– पीडारत्
० जवानी के हो ?
– उमेरजन्य निकास
० बालपन के हो ?
– जीवनको एक अकिञ्चन कालखण्ड
० तृष्णा के हो ?
– एकप्रकारको लगाव
० रिस के हो ?
– विवेकको विघटन
० जोस के हो ?
– ऊर्जाशील सोच
० नसा के हो ?
– आत्मकेन्द्रित अवस्था
० कर्तव्य के हो ?
– जिम्मेवारी बोध
० सन्तुष्टि के हो ?
– मुक्त अवस्था
० सिर्जना के हो ?
– प्रतिभा प्रदर्शन
० विश्वास के हो ?
– उच्चतम भावना
० असल के हो ?
– आफू र अरूप्रति इमानदार
० खराब के हो ?
– व्यक्तित्वको विघटन
० सबभन्दा ठूलो धोका ?
– विश्वासघात
० दु:ख के हो ?
– आफूलाई नचिन्नु
० खुसी के हो ?
– गरेको कामबाट पार पाउनु
० आनन्द केमा छ ?
– आनन्द आफैंले सिर्जना गर्ने हो
० मित्र को हो ?
– सङ्कटको बेला थाहा हुन्छ
० शत्रु को हो ?
– जीवनको विपरीत ध्रुव
० सङ्घर्ष के हो ?
– जीवनको अपरिहार्यता
० प्राप्ति के हो ?
– उपलब्धि र उन्नतिको अवस्था
० आस्था के हो ?
– विश्वासको प्रगाढ भाव
० धर्म के हो ?
– मूल्यपद्धति अङ्गाल्नु
० नैतिकता के हो ?
– व्यक्तित्वको मापदण्ड
० चरित्र के हो ?
– व्यक्तिको सर्वोच्च मूल्य
० ज्ञान के हो ?
– जीवनलाई व्यवस्थित र रूपान्तरण गर्ने
० बुद्धि के हो ?
– क्षमता र कौशल
० सम्झौता के हो ?
– जीवनको सहकार्य
० सृष्टि के हो ?
– सर्वोच्चतम अवस्था
० गुरु को हो ?
– पथ–प्रदर्शक
० राजनीति के हो ?
– राज्य चलाउने नीति
० देश के हो ?
– जीवन्त भौतिक अवस्थिति
० समाज के हो ?
– विभिन्न स्वार्थसमूहको सामूहिकता
० पद के हो ?
– पहिचानको आधार
० सुख के हो ?
– भौतिक÷अभौतिक आनन्द
० विकास के हो ?
– उन्नतिको भौतिक तथा अभौतिक रूप
० व्यापार के हो ?
– नाफा आर्जन
० यौन के हो ?
– मनोशारीरिक उत्कर्ष