वैज्ञानिकहरूले एक यस्तो यौगिक खोज्न सफल भएको दाबी गरेका छन् जसबाट पुरुषका लागि हार्मोनमुक्त गर्भनिरोधक औषधि निर्माणका लागि बाटो खुल्नेछ । उक्त औषधिले व्यक्तिको यौनरुचिमा पनि कुनै दुष्प्रभाव नपार्ने दाबी पनि उनीहरूले पहिले नै गरिदिएका छन् ।
सम्बन्धित अध्येताहरूका अनुसार पुरुषले उक्त औषधिको चक्की आफ्नो यौनरुचिअनुसार प्रत्येक दिन वा सातामा एक चक्की सेवन गर्नुपर्ने हुन्छ र सम्बन्धित दम्पतीले परिवार नियोजनको लाभ ढुक्कसँग उठाउन सक्छ । यो औषधि सर्वप्रथम मुसामा प्रयोग गरिएको थियो । अनुसन्धानकर्ताहरूले थाहा पाए कि उक्त मुसाबाट गर्भाधान भएन तर यौन सम्बन्धमा चाहिँ उसको सक्रियता कत्ति पनि कम भएको देखिएन । कदाचित यसको सेवनबाट यौनरुचिमा कमी आएको कसैले अनुभूति गरे भने पनि खान छोडेपछि पुन: यौन उर्वरता फर्कने अनुसन्धानकर्ता फार्बिस जेम्स बै्रडनले दाबी गरेका छन् ।
पुरुषले प्रयोग गर्ने वैकल्पिक गर्भनिरोधक चक्कीको निर्माणले अनिच्छित गर्भधारण तथा जनसङ्ख्या नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
जीवनसाथीमा विनोदप्रियता चाहन्छन् पुरुष
खुलेर हाँसो–ठ्ठट्टा गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने मात्र नभई यौवनमा निखार आउने एक शोधबाट पत्ता लागेको छ ।
शोध पत्रिका ‘अमेरिकन जर्नल अफ प्ले’को रिपोर्टअनुसार हास्यविनोदमा रुचि राख्ने महिलाको यौन र प्रजनन क्षमता सामान्यतया उच्च रहन्छ । अध्ययनले यो देखायो कि महिलाहरू भावी जीवनसाथीको छनोट गर्नुपर्दा पहिलो नम्बरमा उदारता र समझदारी भएको पुरुषको चाहना गर्छन् भने दोस्रो नम्बरमा विनोदप्रियता नै उनीहरूको छनोट हुने गर्छ । तेस्रोमा मनोरञ्जनपूर्ण र चौथोमा खेलप्रियताको चाहना महिलाले आफ्नो जीवनसाथीबाट अपेक्षा गर्छिन् । यस्तै पुरुषले आफ्नो जीवनसाथीमा पहिलो नम्बरमै हास्यप्रियताको खोजी गर्छ भन्दै उक्त प्रतिवेदनले शारीरिक सम्बन्धलाई त प्राथमिकता क्रमको नवौँ स्थानमा राखिदिएको छ । यही कारणले गर्दा मानिस आफूलाई एक विनोदप्रिय व्यक्तिका रूपमा प्रस्तुत गर्न चाहन्छन्, जसले व्यक्तिलाई विभिन्न कोणबाट फाइदा पुगिरहेको हुन्छ, उक्त अध्ययन प्रतिवेदनले भनेको छ ।
सत्ता–शक्ति र यौन आशक्ति
यौन सम्बन्धका लागि भुतुक्कै हुने इटलीका पूर्वप्रधानमन्त्री सिल्बियो बर्लुस्कोनीले ‘बुङ्गा–बुङ्गा’ भनिने पार्टीको आयोजना गरेरै एक करोड ६ लाख पाउन्ड उडाएको खुलासा हालै ‘द सन्’ले गरेको छ । हाल ७५ वर्षको उमेरमा हिँडिरहेका बर्लुस्कोनी गत वर्ष १४ वर्षकी नाबालिका किशोरीलाई पैसा दिएर शारीरिक सम्पर्क राखेको अभियोगमा विवादमा तानिएका थिए । बुङ्गा–बुङ्गा त्यस्तो पार्टी हो जहाँ खानपिन र नाचगानका अलावा एक–अर्काकी पत्नी साटेर सम्बन्ध राख्नेसम्मको क्रियाकलाप गरिन्छ । त्यस्तो पार्टीका लागि मात्र अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका बर्लुस्कोनीले अन्य शीर्षकमा फजुलमा कति रकम उडाए होलान् भन्ने अनुमान गर्न कठिन छ ।
यसै क्रममा चीनको हेनान प्रान्तमा हालै एक सरकारी अधिकारी दशभन्दा बढी नाबालिका किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । कम्युनिस्ट पार्टी अफ चाइनाको योङछेङ सहर इकाइका पूर्वउपनिर्देशक लि सिङ्गोङ्गले आफ्नो अपराध स्वीकार गरेका र उनमाथि कडा कारबाही गरिने सिन्ह्वा समाचार समितिले जनाएको छ ।
वैज्ञानिकद्वारा एलियनको बखान
एलियन (परग्रही प्राणी)को बारेमा अनेक किस्सा सुन्न पाइन्छन् । एलियनका कथालाई आधार बनाएर हलिवुडमा त अनेक सिनेमा निर्माण भइसकेका छन् । हलिवुड सिनेमामा एलियनलाई प्राय: हरियो रङ्गको प्राणको रूपमा देखाइन्छ । तर, एक प्रसिद्ध बेलायती अन्तरिक्ष वैज्ञानिकले एलियनको रङ्ग हरियो नभई विशाल जेलिफिस (समुद्रमा पाइने अनौठो स्वरूप र विशाल आकार आकाशे रङ्गी माछा) कै जस्तो हुने दाबी गरेका छन् । उपग्रह विशेषज्ञ एवम् ब्रिटेन सरकारका विज्ञान सल्लाहकार म्यागी एडरिन पोकाकाका अनुसार एलियनको पछाडिको हिस्साचाहिँ प्याजी रङ्गको हुन्छ । जेलिफिसजस्तै देखिए पनि एलियन समुद्रमा भने रहन सक्नेसमेत म्यागीको दाबी छ । उनको कथनमा कति सत्यता छ भन्ने कुरा अलग छ तर यस दाबीले वैज्ञानिकहरूलाई एलियनबारे अनुसन्धान गर्न भनेर थप घच्घच्याउने अनुमान गर्न सकिन्छ ।
कुकुरले जन्मायो बिरालो
कुकुरको अगाडि पर्दा बिरालो भाग्ने र बिरालो देखेपछि कुकुरले भुक्दै झम्टिने गरेको दृश्य हाम्रा लागि साधारण हुन् । यी दुई प्राणीलाई प्रकृतिले एक–अर्काका दुश्मनका रूपमा सिर्जना गरेको छ । यसरी शत्रुतापूर्ण व्यवहार गर्ने प्राणीका रूपमा चिनिएकाहरू प्राकृतिक रूपले नै मातृ–सन्तति बन्न पुगे भने के भन्ने ? हो, यस्तै पत्याउन नसकिने दाबी गरेका छन् कोरियाका एक व्यक्तिले । ६३ वर्षका कोरियाली जेओङ प्योङले त्यहाँको प्रतिष्ठित अखबार ‘कोरिया हेराल्ड’लाई बताएअनुसार उनले पालेको एक कुकुर्नीले हालै एक बिरालोलाई जन्म दिएकी छ । यस्तो दृश्य देख्दा सुरुमा आफैंलाई विश्वास नभएको बताउँदै प्योङले जनाए, ‘…तर त्यो बिरालोजस्तै छ र बिरालोकै जस्तो आवाज निकाल्छ । मैले देख्दादेख्दै जन्मेको घटना हुनाले आफैं आश्चर्यचकित छु ।’ उनको यस दाबीपछि बिरालो जन्माउने कुकुर्नी र उसबाट जन्मिएको बिरालो हेर्न प्योङको घरमा मानिसको घुइँचो लाग्न थालेको छ । यसरी कुकुरबाट बिरालो जन्मिएको दाबीलाई वैज्ञानिकहरूले चाहिँ अनुवांशिक तवरमा असम्भव भएको भन्दै पत्याएका छैनन् । ‘कुकरबाट बिरालो जन्मनै सक्दैन,’ चोन्नाम नेसनल युनिभर्सिटीका भेटेनरी साइन्टिस्ट प्रोफेसर सोन चाङ्ग–होको कथन छ ।
प्रतिक्रिया