लाङटाङ सद्भावना दूत सम्मानित

लाङटाङ सद्भावना दूत सम्मानित


लाङटाङ सदभावना दूत अशोक सिलवाल सम्मानित भएका छन् । नेपाल पर्यटन व्यवसायी संघ (निट)को आयोजनामा राजधानीमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवालाई पच्चीस हजार रुपियाँ राशिसहितको सो सम्मान प्रदान गरेका हुन् ।

विनाशकारी भुकम्प र हिमपहिरोले मानवविहीन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रुपमा पैदल मार्गबाट यात्रा गरी प्रकाशमा नआएको त्यहाँको मार्मिक अवस्थालाई ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकका दुई वृत्तचित्र निर्देशनका साथै आवश्यक सुझावहितको मिहीन वस्तुस्थिति चित्रण गरिएको प्रतिवेदन र अनेकौँ आलेखहरू सार्वजनिक गरी त्यस क्षेत्रप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन विशेष योगदान पु¥याएको भन्दै लेखक तथा पत्रकार सिलवाललाई सो सम्मान गरिएको हो ।

यसअघि निटका प्रेस सल्लाहकार समेत रहेका सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सद्भावना दुतको उपाधिसहित सम्मान गरेको थियो भने ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले पनि विशेष सम्मान गरेको थियो ।

पछिल्लो समय विश्वका अनेक देशका पर्यटकलाई लिएर नेपालका अनेक भुगोल यात्रा गर्दै गरेका सिलवालले तिनै अनुभवलाई आधार बनाएर कलम चलाइरहेका छन् ।