अमेरिकी आर्मी बनेर महिलामाथि ठगी

अमेरिकी आर्मी बनेर महिलामाथि ठगी


आफूलाई अमेरिकन आर्मीको कर्मचारी भन्दै झुटो परिचय दिएर विभिन्न व्यक्तिलाई ठग्दै हिँड्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘म अमेरिकन आर्मी हुँ, अमेरिका पठाइदिन्छु, भारतीय सेनामा पनि भर्ती गराइदिन्छु’ भन्दै मनीष बस्नेत, नरेन्द्रबहादुर पण्डित, सुलभ पण्डित क्षेत्रीको नाममा नागरिकता लिएको व्यक्तिलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सुलभ पण्डित क्षेत्रीले अमेरिका पठाइदिने, आर्मीमा जागिर लगाइदिने भन्दै अधिकांश महिलासहित १४ जनाबाट हालसम्म १ करोड ५० लाखभन्दा बढी ठगी गरेको प्रहरीको भनाई छ । सुलभले कतिपय महिलालाई विवाह नै गर्ने भन्दै शोषण गरेको पनि पीडितका निकटजनबाट जानकारी मिलेको छ । उनलाई काठमाडौं गोकर्णेश्वर ८ बेसीगाउँबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बुझिएको छ।

२९ वर्षीय सुलभ पण्डित क्षेत्रीले आफ्नो परिचय लुकाउन मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित समेत हुँ भनी नेपाली नागरिकताको प्रमाणपत्र बनाएको खुल्न आएको छ । उनले फेसबुकमार्फत साथी बनाई आफू अमेरिकी आर्मी हुँ भनी मानिसलाई भ्रममा पार्ने गरेका थिए । क्षेत्रीले विभिन्न बैंकमा मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डितको नाममा बैंक खाता संञ्चालन गरेको पनि प्रहरीले जनाएको छ । ठग क्षेत्रीमाथि ४ करोड ९५ लाख बराबरको ठगी गरेको भन्ने अभियोग पहिल नै अदालतमा पेश भएको र पीडितहरु धेरै हुनसक्ने भएकोले जाहेरी आउने क्रम जारी रहेको छ ।

प्रहरीले क्षेत्रीबाट ठगिएका अन्य कोही छन् भने प्रहरी सम्पर्कमा आउन आग्रह पनि गरेको छ ।