बेलाइतमा अगस्त महिनामा दुइटा संस्था जन्मेका छन् । एउटा संस्था बिशुद्ध साहित्य सेबाका निम्ति कृयाशील हुन भने अर्को संस्था, संस्था संस्थाबीच समन्वय कायम गरी सम्बद्ध संघ संस्थाको एकीकृत प्रतिनिधित्य गर्ने लगायतका उद्देश्य सहित । यी दुई संस्थाहरु मध्य “नेपाली संघ संस्था समन्वय परिषद यूके”ले निकै चर्चा पाएको छ । चर्चामा खासगरी दुइटा प्रश्न उठेका छन् । पहिलो प्रश्न एन् आर एन् छँदै छ, अब के चाहियो ? दोस्रो यी संस्थै संस्थाको भीडमा अर्को संस्था किन ?
सरसर्ती हेर्दा यी दुबै प्रश्न उचित जस्तो लाग्छ । मननयोग्य लाग्छ । तर प्रश्नभित्र गएर उत्तर खोज्ने प्रयास भने निकै कमले गरेको पाइन्छ । अर्थात् हाम्रो संस्कार कस्तो भने पौडी खेल्न जान खोज्ने र कतै पानीको नजिक पुगिहाले पनि सतहसम्म पुग्ने तर गहिराइमा नपुग्ने भने झै कुनै पनि बिषय बस्तुलार्ई गहिराइसम्म अध्ययन नगर्ने । यसका पनि दुइटा कारण हुन सक्छन् । प्रथम समय वा फुर्सद नभएर, दोस्रो हामी नेपाली नेपालीबीच आरोप—प्रत्यारोपको संस्कृति बिकास भएर । यसैको कारण हो यदि कसैले केही बिषय बस्तुका बारेमा रचनात्मक आलोचना ग¥यो भने त्यसबाट सिक्ने प्रयास नगर्ने बरु दुस्मनी खडा गर्ने ।
केही बौद्धिक ब्यक्तिहरुको लामो छलफल र बहसपछि गत १२ अगस्तका दिन गठित नेपाली संघ संस्था समन्वय परिषद यूकेले बजारमा निकै चर्चा पाएको छ । यो सकारात्मक कुरा हो । यसको गठनको उद्देश्यतर्फ ध्यान नै नपु¥याई एन आर एन यूकेले “गम्भीर ध्यानाकर्षण” भएको भनी आफ्नो संजालभित्र इमेल चलाएको छ । तर यदि एन आर एन यूकेले यसलाई एन आर एनका बिरुद्ध गठन भएको हो भनेर बुझेको छ भने त्यो गलत हो । यो सँगठन अर्थात नेपाली संघ संस्था समन्वय परिषद यूके नितान्त बेलाइतमा भएका संघ संस्थाहरुबीच समन्वय गर्नु पर्ने आवश्यकता देखेर यसबारे सोंच बनाएको हो । यसले त बरु एन आर एनलाई सघाउ पु¥याउँछ बिरोध वा प्रतिस्पर्धी होइन ।
बेलाइतमा नेपालीहरुको संघ संस्थाहरुको गठन हुन शुरु भएको १९६० को दशकबाट हो । यो प्रकृया अहिलेसम्म आइपुग्दा अर्थात् ५०÷५२ बर्षभित्र संघ संस्थाको संख्या करीव—करीव ३०० पुगेको अनुमान गरिन्छ । नेपालका हरेक जिल्लाका नाममा, हरेक जातजातिका नाममा, हरेक क्षेत्रका नाममा र बेलाइतको बसोबासका हिसाबले बेलाइती क्षेत्रका नाममा । सही तथ्याङ्क भने कसैसँग छैन ।
गत हप्ता युरोपको नेपाली पत्रमा नेपाली संघ संस्था समन्वय परिषद युके बारे प्रकाशित समाचारका आधारमा एन आर एन युकेले “गंभीर ध्यानाकर्षण ” भएको भन्दै इमेल क्यम्पिन सुरु गरेको हो । यो उनिहरुको “चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने” जस्तो मात्र हो । एन आर एन युके ले त्यस प्रकारको प्रतिकृया जनाउनु पर्ने कुनै आवश्यकता थिएन र छैन । एन आर एनको आफ्नै प्रकृया छ । एन आर एनमा निर्बाचन हुने बेलामा निर्बाचनमा उठ्ने पदाधिकारीहरुले आफ्नो पकेटको पैसा खर्च गरेर आ—आफ्ना मान्छेलाई सदस्य बनाइन्छ र निर्बाचनमा भोट हाल्न लगाइन्छ । अझ एन आर एनभित्र रमाइलो त के छ भने कस्ले कति सदस्य बनाए भन्ने प्रतिस्पर्धा हुने गरेको छ । त्यहाँ हर नेपालीले आफ्नो खुशीले स्वतन्त्र बिचारमा सदस्य बन्न कठिन छ किनकि त्यहाँ त एउटा प्यानलको सदस्य बनेर उभिनु पर्दछ । यस अर्थमा पनि एन आर एन यूके र नेपाली संघ संस्था समन्वय परिषद यूके नितान्त फरक छन् ।
नेपाली संघसंस्था समन्वय परिषद युकेले आफ्नो प्रस्तावनामा लेखेको छ “बेलाइतस्थित स्थानीय क्रियाशील नेपाली संघसंस्थाहरुबीच आपसी एकता, सद्भाव, समानता र सामूहिक संस्थागत सहभागिताका आधारशीलामा केन्द्रीय समन्वय र एकीकृत अभिलेख एवं इतिहास सुब्यवस्थित राख्न सम्बद्ध संघसंस्थाहरुको नै केन्द्रीकृत संस्था निर्माण गर्ने । ”
यस्तै यसका उद्देश्यहरु “प्रस्तावनामा उल्लेखित आधारशीला र मर्मअनुरुप कार्य गर्ने । केन्द्रीय समन्वय र संस्थागत कार्यहरुमा सहयोगी भूमिका निर्बाह गर्ने । प्रत्येक सम्बद्ध संस्थाहरुले गरेका कार्यहरु र उक्त कार्यकालका पदाधिकारीहरुको योगदान र भूमिकाको तथ्याङ्ककृत गरी अभिलेख राख्ने र एकीकृत केन्द्रीय ऐतिहासिक दस्ताबेज प्रकाशन गर्ने । प्रत्येक सम्बद्ध संस्थाहरुलाई समान रुपले प्रकाशमा ल्याउने र उच्चतम कार्य प्रोत्साहन तथा प्रचारप्रसार वा सूचना प्रवाह गर्ने । आपसी सहयोग र सहभागितामा समन्वय तथा तीब्रता ल्याउने । समान पहिचान, सह—अस्तित्व, सामाजिक एकता र सम्मानलाई संस्थागत गर्ने । एवं संम्बद्ध संघसंस्थाहरुको एकीकृत केन्द्रीय प्रतिनिधित्व गर्ने” रहेका छन् ।
यसको सदस्य बनाउने प्रकृया पनि एन आर एनको जस्तो नभै बेलाइतस्थित क्रियाशील नेपाली संघ संस्थाहरुबाट तीन—तीन प्रतिनिधि मागिने ब्यवस्था रहेको छ । यसको बिधान अझै तयार भइसकेको छैन । दुई बर्षभित्र यसले बिधान बनाउने कार्यदेखि लिएर बेलाइतमा रहेका संघसंस्थाहरुको तथ्याङ्क तयार पारिसक्ने छ र आफ्नो पहिलो अधिबेशन गर्ने छ । र यसले नितान्त रुपमा बेलाइतस्थित सबै संघसंस्थाहरुको सहयोग लिदै र आफू पनि सहयोगीका रुपमा समन्वय गर्दै जाने छ । यो संस्थालाई बुझ्दा यो संस्था बेलाइती संस्थाहरुद्वारा बेलाइती संस्थाहरुका लागि हो भन्ने बुझ्नु नितान्त आवश्यक छ ।
-The author can be reached at www.theglobal.co.uk-editor
प्रतिक्रिया