आन्तरिक राजश्व अनुसन्धान विभागका निवर्तमान महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा छापामार शैलीमा आक्रमण गरी तोडफोड गरिएकै दिन हिजो मंगलबार नेत्रबहादुर चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले दाङस्थित घोराही सिमेन्ट उद्योगमा पनि ‘कारबाही’ गरेको सो पार्टीले जनाएको छ ।
नेकपा दाङका सेक्रेटरी विक्रमले जारी गरेको विज्ञप्तिअनुसार उक्त उद्योगले उद्योगबाट प्रभावित स्थानीय जनतासँग गरिएका पुराना सम्झौता कार्यान्वयन नगरी अर्को सिमेन्ट प्लान्ट जडान गर्न लागेकोले सो कार्य रोक्न कारवाही गरिएको हो ।
विक्रमको विज्ञप्तिमा वातावरणीय स्वच्छता र मानवीय स्वास्थ्यलाई प्रतिकूल हुने गरी जनतालाई झुक्याएर आफ्नो उत्पादन दोब्बर पार्न जडान गर्न लागिएको प्लान्ट स्थापना बन्द गर्न निर्देशन दिइएको उल्लेख गरिएको छ ।
वातावरणीय प्रदूषणलाई नियन्त्रण गरी प्रदूषणरहित वातावरण बनाउन पहल गर्नुको साटो उल्टै विभिन्न निकायसँग मिलोमतो गरेर अहिले उत्पादन भइरहेको भन्दा दोब्बर उत्पादन गर्न गैरकानुनी ढङ्गले प्लान्ट उद्योग प्रभावित जनताको आग्रहमा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सिमेन्ट उद्योगको मूल ढोकामा दाङमा सक्रिय माओवादी कार्यकर्ताहरूले कालो ब्यानरमा नयाँ प्लान्ट स्थापना नगर्न चेतावनी दिँदै ब्यानरसमेत टाँगेका छन् ।
सिमेन्ट उद्योगका कारण हजारौँ जनताको स्वास्थ्य दिनप्रतिदिन रोगबाट ग्रसित भैइरहेको, कृषि उत्पादनमा कमी आएको, कतिपय जग्गामा जाने सिचाइँ कुलोसमेत बन्द भएको जस्ता आरोप लगाउँदै यस्ता समस्या तुरुन्त हल गर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ । यसको अवज्ञा गरे उद्योग नै बन्द गरिने धम्कीसमेत दिइएको छ ।
प्रतिक्रिया