साताका कविताहरु

साताका कविताहरु


डेराको गीत– लक्ष्मी अधिकारी सिलवाल
सहरका मन्दिरमा चुपचाप बस्छन् देउता
बास खोज्दै जाँदा पाएँ एउटा कोठा

महिनाभरि कमाएको भाडा तिर्दै ठिक्क
घरबेटीले धावा बोल्दा हुन्छ मन दिक्क
साथीभाइ, पाहुनापास आउँदा घरीघरी
नयन टेडो पारिदिन्छन् खाउँला कि झैं गरी

सुविधाको नाममा यहाँ पिउने पानी पनि छैन
पैसा तिरी बस्दैमा सानो हुने होइन
निर्दयीका मात्र बास हुन्छ कि यो सहरमा
सबै निष्ठुर लाग्न थाले अब आफ्नो नजरमा

व्यापारले सीमा नाघे मानवता मर्छ–मर्छ
मानिस आखिर जो भए नि काम लाग्ने गर्छ
कहिले नजिक–नजिक जस्तो कहिले हुन्छन् पर
कसम साथी बनाउँछु म अब आफ्नै घर

सहरका मन्दिरमा चुपचाप बस्छन् देउता
बास खोज्दै जाँदा पाएँ एउटा कोठा
बालकुमारी–९, ललितपुर

हाँस्नुपर्छ सगरमाथा – सिरु शर्मा
आज सगरमाथा हाँसेको छ
बस्तीसम्म पुग्दा
उसको उत्कर्ष हाँसो
नवबिहानका किरणहरू बनेर
चुमे प्रत्येक फुसका छानाहरू
आल्हादित भएर
सँगसँगै गीत गाए डाँफे र मयूरले
पैयुँ फुल्ने पाखाहरूमा
बिहानी शीतले रगत पखालिसकेपछि
खेल्न थालिसके गट्टा
आहा ! ती स–साना बच्चाहरू
नीलो वस्त्रमा
फुङ्ग उडेकी त्यो विधवा पहाड
हाँसिरहेकी छ शीरमा गुराँस सिउरिएर
कोइलीले मधुर स्वर झिकेपछि
पाल्पाली ढाका टोपी लगाएर
नाच्न थाले बस्तीका युवाहरू
रुँदा–रुँदा सुकिसकेका आँखाहरू
अनि मरिसकेका आमाका मनहरू
उज्यालिरहेछन्
नयाँ आशा र विश्वासले
अव्यक्त खुसीका गीतहरू
गाइरहेछन् प्रत्येक ओठहरूले मुस्कानमा
हामीले भन्नैपर्छ
अझै मुग्धकण्ठले हाँस्नुपर्छ सगरमाथा
यो नयाँ बिहानीको पदार्पणमा
यो नयाँ समयको पाइतालाहरूमा
यसरी–यसरी नै
युग–युगान्तरसम्म ।
– ललितपुर