बलिउड र कलिउड चलचित्र दुनियाँकी ख्यातिप्राप्त नायिका मनीषा कोइराला जति चलचित्रको विषयबाट चर्चामा रहन्छिन् त्यत्तिकै नेपाली राजनीतिमा कोइराला परिवारको राजनीतिक उत्तराधिकारी र व्यक्तिगत जीवनमा आउने उतारचढावको कारण पनि चर्चामा रहने गर्छिन् । फिल्म करियरपछि राजनीतिमा आउने सम्भावनालाई जीवितै राखेकी मनीषा पछिल्लो समयमा काठमाडौंमा छिन् । उनीसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी
तपाईं अहिले केका लागि काठमाडौं आउनुभएको ?
भाइ सिद्धार्थ र बुहारीले राजधानीमा सुशीला आमाको सम्झनामा स्थापना गरेको सुीशला आर्टस् एकेडेमीको उद्घाटन समारोहमा सहभागी हुन नेपाल आएकी हुँ । सुीशलदा र राजेश हमालसहितका व्यक्तित्वहरूको उपस्थितिमा सो एकेडेमीको उद्घाटनसमेत भइसकेको छ ।
नेपालको राजनीतिलाई कसरी हेर्नुभएको छ ?
नेपालको राजनीति अझै पनि सङ्कटको भुमरीमै रुमल्लिरहेको छ । दलहरूबीच अझैसम्म पनि सहमति हुन सकेको छैन । नेपाल जसरी सहमति, सहकार्य र एकताको बाटोबाट अगाडि बढ्नुपर्ने हो त्यसरी अगाडि बढ्न सकेको छैन यसले मलाई चिन्तित बनाएको छ । सचेत नेपाली नागरिकको हिसाबमा मुलुकको राजनीतिप्रति चासो राख्नु स्वाभाविक नै हो ।
तपाईं पनि राजनीतिमा आउने तयारीमा हुनुहुन्छ ?
म अहिले नै राजनीतिमा आउँछु भनेर यकिनका साथ भन्न सक्दिनँ । तर, मैले अहिले पनि कलिउड र बलिउडमा अभिनय र नेपालमा समाजसेवाको कार्य गरिरहेकी छु । तर, भविष्यमा म समाजसेवाकै बाटोबाट राजनीतिमा पनि आउन सक्छु, यसलाई नकार्न भने सक्दिनँ । तर, अहिले नै यतिबेलाबाट म राजनीतिमा आउँछु भनेरचाहिँ भन्न सक्ने अवस्थामा छैन । अहिले मैले बलिउड र कलिउडमा धेरै काम गर्न बाँकी नै छ । म केही चलचित्रहरूमा काम गरिरहेकी छु । नेपाली सिनेमा उद्योगलाई पनि सहयोग गर्नुपर्नेछ । अझै केही समय म सिनेमा क्षेत्रमै रहन्छु, तर अन्तमा राजनीतिमा आउँदिनँ नै भनेरचाहिँ भन्न सक्दिनँ ।
कोइराला परिवारको उत्तराधिकारीको रूपमा राजनीतिमा तपाईं आउनुपर्छ भन्ने जनमत र दबाब त छ नि, होइन ?
कोइराला परिवारको उत्तराधिकारी को बन्ने भन्ने कुरा अहिले गर्भमै छ । कोइराला परिवारमा उत्तराधिकारी बन्न योग्य एकसेएक व्यक्तित्व हुनुहुन्छ । राजनीतिमा उत्तराधिकारीको कुरा पनि हुँदैन । जो योग्य छ, दक्ष र अनुभवी छ, ऊ नै सफल हुन सक्छ । कोइराला परिवारको मान्छे भएको भरमा म उत्तराधिकारी बन्न चाहन्न । कोइराला परिवारको नेपाली राजनीतिमा ठूलो योगदान, त्याग र तपस्या छ, कृष्णप्रसाद कोइरालादेखि बीपी, मातृका, गिरिजाप्रसाद कोइराला र अहिले सुशीलदाले ठूलो योगदान दिनुभएको छ । नेपालमा प्रजातन्त्रका लागि तीन–तीनपटक क्रान्तिको नेतृत्व गरेको परिवार हो, कोइराला परिवार ।
अहिले नेपालका नेताहरूमा सबैभन्दा मन पर्ने नेता को हो ?
अहिले सबैलाई स्वीकार्य हुने नेताको रूपमा राष्ट्रपति डा. रामवरण यादवलाई मात्रै देखेको छु ।
किन रामवरण यादव ?
उहाँ एकदमै बौद्धिक, इमानदार हुनुहुन्छ । प्रजातन्त्रप्रति उहाँको निष्ठा, त्याग र समर्पण छ । उहाँ अहिले मुलुकको अभिभावकको रूपमा पनि रहनुभएको छ । मुलुकको संरक्षकको रूपमा उहाँको अहिलेसम्मको भूमिकाबाट म सन्तुष्ट छु ।
नेपालमा राष्ट्रपतिशासन आउँछ भनेर सङ्केत गर्नुभएको हो ?
मुलुकमा दलहरूले सहमति गरेर राजनीति मिलाउन सकेनन् भने अब एउटा मात्रै प्रयोग बाँकी छ, राष्ट्रपतिशासनको रूपमा । प्रजातन्त्र, कम्युनिस्ट, निरङ्कुशता सबै शासन नेपाली जनताले हेरिसकेका छन्, अब राष्ट्रपति शासन मात्रै हेर्न बाँकी छ । तर, नेपालमा राष्ट्रपति शासन पनि सफल हुन सकेन भने फेरि विकल्प के भन्ने गम्भीर प्रश्नचाहिँ हामी सबैको सामु रूपमा रहेको छ ।
नेपालमा राष्ट्रपतिशासन लागू हुने आधारहरू छन् ?
राष्ट्रपतिशासन लगाउने वा नलगाउने त्यो राष्ट्रपतिको स्वविवेकको कुरा हो । यो मेरो चाहना हो कि नेपालमा अब राष्ट्रपतिशासनको प्रयोग गर्न बाँकी छ । त्यो भएको म हेर्न चाहन्छु र नेपाली जनता पनि त्यो हेर्न चाहन्छन् भन्ने मेरो बुझाइ हो । त्यसका लागि एक्लै राष्ट्रपतिले पनि केही गर्न सक्नुहुन्न, त्यसका लागि दल र जनताको सहयोग चाहिन्छ । सबैको साथ रहे नेपालमा राष्ट्रपतिशासन सफल हुनसक्छ ।
राष्ट्रपतिशासन कहिलेसम्म आउने अनुमान गर्नुभा’को छ ?
परिस्थिति यसरी नै अगाडि बढ्दै गयो र दलहरूले समस्याको समाधान गर्न सकेनन् भने मेरो विचारमा कुनै पनि बेला राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिशासन अगाडि बढाउनु हुनेछ ।
त्यसो भए नेपालको सङ्क्रमण छिट्टै अन्त्य हुने देख्नुभएको छैन ?
हुनुपर्छ । सबै राजनीतिक दलहरू मिलेर नेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्छ । सबै दृष्टिले राम्रो हाम्रो नेपाललाई अगाडि बढाउन सबैको सहयोग अपरिहार्य छ । सबै शक्ति मिलेर देशको मुहार फेर्नुपर्छ ।
तपाईं र सम्राट दाहालको सम्बन्धविच्छेद भएकै हो ?
व्यक्तिगत विषयमा म धेरै कुरा गर्न चाहन्न । मैले अहिले यो विषयमा मिडियासँग कुरा गरेकी पनि छैन । नेपाल आएर पनि मैले ऋषिजी तपाईंसँग मात्रै धेरै रिक्वेस्ट गर्नुभएकोले पहिलोपटक भेटेकी हुँ ।
तपाईं र सम्राट दाहालको सम्बन्ध राम्रो नभएर कुरा गर्न नचाहनुभएको हो ?
अहिले कसको सम्बन्ध कोसँग कस्तो छ, धेरै नकोट्याउनुहोस् । म अहिले जे छु, सन्तुष्ट छु, खुसी छु, मैले जे गरेकी छु एकदमै राम्रो गरेकी छु ।
तपाईं पारिवारिक जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । म असन्तुष्ट हुनुपर्ने र गुनासो गर्नुपर्ने कुनै कारण नै छैन ।
पति सम्राटको विषयमा तपाईंको कुनै गुनासो नभएकै हो ?
भए पनि नभए पनि म तपाईंसँग भन्न चाहन्न ।
सम्राटजीसँग डिभोर्स त भयो नि ?
मैले अहिलेसम्म डिभोर्स गरेँ वा गरिनँ भनेर केही पनि भनेको छैन, त्यसलाई तपाईं आफ्नो ढङ्गले व्याख्या गर्नुस् । यो विषय नितान्त मेरो पारिवारिक कुरा हो, अहिले म परिवारसँगै छु । मेरोबारेमा पछिल्ला समयमा जति कुराहरू आएका छन् त्यसमा धेरैचाहिँ प्रोपगाण्डा पनि छन् । कुरा नबुझी नै समाचारहरू बनेका छन् ।
भारतीय सञ्चारमाध्यममा त डिभोर्सको धेरै कुरा आयो नि ?
कहाँबाट ल्याए, कसले कसरी लेखे त्यो आफ्नो ठाउँमा छ । तर, मेरो र सम्राटजीको सम्बन्ध कस्तो छ त्यो तपाईंहरूले निकट भविष्यमा आफैं थाहा पाउनुहुनेछ । त्यसबेला म आफंै तपाईंलाई बोलाएर अन्तर्वार्ता दिउँला ।
तपाईं अब नेपाल बस्नेगरी आउनुभएको हो ?
होइन, म नेपाल आइनै रहेकी छु । ६ महिना नेपालमा बस्छु, ६ महिना भारतमा बस्छु । चलचित्रका लागि भारतमा बसेर काम गर्छु । समाजसेवाका लागि नेपालमा आउँछु ।
प्रतिक्रिया