– किशोर बुढाथोकी/सिन्धुपाल्चोक
इन्द्रावती नदीमा अवैध रूपले बालुवा–गिटी उत्खनन गरेकै कारण सिन्धुपाल्चोक र काभ्रेको सीमामा पर्ने मोटरेबल पक्की पुलमा खतरा बढेको छ । नदीजन्य पदार्थ निकाल्दा इन्द्रावती झन्डै पाँच मिटरसम्म भासिएकै कारण दुई जिल्लाको सीमागाउँ सिपाघाटको पुल जोखिममा परेको हो ।
पुलको बीचमा रहने मुख्य जग नै भासिएको छ । पुलको मुनि नदीजन्य पदार्थ उत्खननले नदीको बहाव परिवर्तन हुँदा पुलको मुख्य पिल्लरमा क्षति पुग्दा खतरा बढेको हो । नदीको कटानले पुलमा जोखिम बढेको जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसहितको टोलीले पुलको निरीक्षण गरेपछि जोखिममा रहेको निष्कर्ष निकालेको हो । उनीसहित इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेल, सशस्त्र प्रहरी निरीक्षक दीपक नापित, वडाध्यक्ष कमल दनुवारसहितको टोली निरीक्षणका लागि सिपाघाट पुगेको हो ।
‘पुल कमजोर बनेको छ, निकै जोखिममा छ । बीचको पिल्लरको जगमा क्षति पुगेको देखियो,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘साँघुरो ठाउँमा पुल भएकाले पानीको बहाव पनि बढी हुँदा जगलाई असर पु¥याएको छ ।’ उनले पुलको बीचको पिल्लर जोखिममा रहेको बताए ।
पुलसँगै नजिकै रहेको बस्तीसमेत जोखिममा छ । बस्ती र पुल संरक्षणका लागि गाउँपालिकाले ग्याभिन वाल लगाउने तयारी गरेको छ । ‘बस्ती र पुल बचाउन खोलाको बहाव परिवर्तन गर्नुपर्ने देखिन्छ,’ इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालले भने । खोलाको बीचको बगरको बालुवा निकाल्नुपर्ने प्रजिअ तामाङले बताए । ‘बस्ती र पुलको संरक्षणका लागि खोलालाई बीचको धारमा बग्न दिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यहाँबाट निकालिएको बालुवा त्यहीँ प्रयोग गरिनेछ ।’
प्रतिक्रिया