पुलिसमुनि डन कि डनमुनि पुलिस ?

पुलिसमुनि डन कि डनमुनि पुलिस ?


केही दिनअघिको कुरा हो, मेरो घरमा एक पुराना मित्र न्याउरो अनुहार लगाएर आउनुभयो । उहाँ इमानदार र शान्त स्वभावका मानिस हुनुहुन्थ्यो । आत्मसम्मानका धनी ती मित्रको अनुहार म सधैं हँसिलो देख्थँे । त्यस दिन धेरै पछि मैले उनलाई भेट्दा गालामा र आँखाका दायाँ–बायाँ अनि घाँटीमा चाउरी देखिन थाले पनि स्वाभिमान उस्तै थियो । तापनि उनीभित्र ठूलै समस्या आएको मैले महसुस गरँे । कतै केटाकेटीले ड्रग्स त खाएनछन् ? भन्ने मलाई पर्‍यो ।
मेरो सोच गलत रहेछ । उनको समस्या मैले सोचेकोभन्दा बिल्कुलै पृथक रहेछ । कुरो के भएछ भने एउटा बिल्डरले गगनचुम्बी घर बनाउने विज्ञापन साथ पहिल्यै पैसा बुझाउनेलाई केही छुटसमेतमा फ्ल्याट दिने प्रचार गरेछ । दुई बेड भएको फ्ल्याटलाई अग्रिम पैसा बुझाउन सके बीस–बाइस लाखमा त्यो पाइने सम्भावना भएछ । काठमाडौं सहरभन्दा थोरै बाहिर काम नलाग्ने जमिनमा बन्न लागेको त्यो बिल्डिङ भए पनि सधैँका लागि डेराको जीवन छोडी टाउको लुकाउने ठाउँ प्राप्त गर्न सकिने त्यो अवसरलाई तिनका परिवारले भजाउन सकिन्छ कि ? भनेर सोच्न थालेछन् । पारिवारिक निर्णयअनुसार उनीहरूले मध्यपश्चिमका गाउँको सम्पत्ति बेची केही रकम जुटाउनुका साथै भएका केही गहना पनि बेची त्यो फ्ल्याटमा पैसा हालेछन् । केही विदेश बस्ने तर त्यस घरलाई मायाँ गर्नेले ऋण पनि दिएछन् । माइतीमा पनि गुहार भएछ । लामो प्रयासपछि टिपनटापन गर्दागर्दा बल्लबल्ल त्यो रकम जुटेछ र उहाँहरूले बिल्डरलाई तिरी सपनाको दुई बेड फ्ल्याटमा सर्ने दिन कुर्न थालेछन् ।
केवल नक्सा मात्र भएको त्यो बिल्डिङ दुई वर्षमा बनाई हस्तान्तरण गर्ने कागजमा वाचा गरिएको भए पनि दुई वर्ष बित्दा पनि त्यो घर अलिअलि जगको कामबाहेक माथि उठ्न सकेनछ । हरेक दिन त्यो परिवार नयाँ सपनासहित त्यो जमिन हेर्दै आप्mनो फ्ल्याट कहाँ हुन्छ भनेर कल्पना गर्दारहेछन्, तर कल्पनाअनुसार काम भएको थिएन । उनीहरू समय–समयमा बिल्डर कार्यालयमा बुभ्mन जाँदा बन्छ–बन्छ भनेर आश्वासन दिइँदोरहेछ । तर, जब दुई बर्ष बित्नै लाग्यो त्यसपछि बुझ्न जाँदा भने उनीहरूले आफूहरू टाट पल्टेकाले अब त्यो बिल्डिङ पूरा गर्न नसक्ने कुरा बताएछन् । ऋण गरेर हालेको पैसा पनि खत्तम र घर पनि प्राप्त नभएपछि त्यो घरमा रुवाबासी भएछ र एकाबिहानै ती मित्र मेरो घरमा आइपुगेका रहेछन् । उनको कुरा सुनेपछि म निक्कै उत्तेजित भएँ । बिल्डरमाथि ठगीको केस लगाउनुपर्ने सोचमा पुग्दै तत्कालै उच्च प्रहरी साथीभाइलाई फोन गर्ने सोचमा म पुगेँ । तर पनि मलाई लाग्यो– प्रहरीलाई कुरा राख्नुअघि मैले एकपटक बिल्डरसँग वास्तविकता बुभ्mनुपर्छ । ती मित्रको कष्टकर जीवन, इमानदारिता र अभाव मलाई राम्ररी थाहा थियो । त्यसैले म यस विषयमा बढी नै संवेदनशील भइरहेको थिएँ ।
आखिर मैले मित्रमार्फत बिल्डरको सम्बन्धित मानिससँग समय मिलाई भेट्न पुगँे । म बिल्डरप्रति निक्कै आक्रोशित थिएँ । तर, जब मैले सम्बन्धित व्यक्ति भेटँे, उनी निकै भद्र व्यक्ति थिए । सुरुमै उनले मसँग मेरा मित्रलाई फ्ल्याट दिन असमर्थ भएकोमा क्षमा मागे र त्यसको बदलामा आफूहरूले के पनि गर्न लागेका छौँ भनेर विकल्प पनि सुनाए । ती बिल्डरले भने, ‘सर हामी काम गरेर खाने व्यक्ति, राम्रै होला भनेर अरूको पैसा पनि लिइयो, काम पनि इमानदारीकासाथ गरियो, तर बैंकले ऋण दिन छोडेपछि ठूलै अवरोध आयो । तैपनि मानिसहरूसँग लिएको पैसाले हामी काम अगाडि बढाउँदै थियाँै त्यसपछि डन र माओवादी चन्दाआतङ्कले काम गर्न दिएन । अहिले हाम्रा सबैजसो प्रोजेक्ट डनका कारणले रोकिए सर ।’ यति भन्दा ती व्यक्तिका आँखामा नजानिँदो रूपले आँसु उम्रिरहेको मैले देखेँ । साथीले फ्ल्याट नपाउनुमा डनको भूमिका रहेको कुरा सुने पनि मेरो बिल्डरप्रतिको आक्रामक सोच एक्कासि डनतर्फ मोडियो । अनि मैले डनले कसरी तपाईंहरूलाई दु:ख दिन्छन् भने प्रश्न राखेँ । मेरो प्रश्नका हरेक उत्तरले ती बिल्डरहरूप्रति मेरो दया बढाइरहेको थियो ।
मैले पहिलोपल्ट थाहा पाएँ कि काठमाडौं उपत्यकाका हरेक इलाका–इलाकामा आफूलाई डन भन्नेहरूले कुनै बिल्डरले बिल्डिङ बनाउन लागेपछि त्यहाँ गएर हिस्सा माग्ने गर्दारहेछन् । एक करोड, दुई करोड मात्र होइन पाँच करोड पनि माग गर्दारहेछन् । यदि माग गरिएको पैसा नदिए तरबार बोकेका गुण्डाहरू त्यहाँ पुगी काम रोक्दारहेछन् । कसैकसैले सीधै सित्तैमा फ्ल्याट पनि माग्दारहेछन् । त्यसपछि त्यहाँ घर बनाउँदा लाग्ने, छड, इँटा, गिट्टी र बालुवा मै सप्लाई गर्छु भन्दारहेछन् । त्यो नमाने फेरि तरवारवाला आइपुग्दोरहेछ । अन्तबाट मगाए त्यो गाडी ड्राइभरले कुटाइ खाइहाल्दोरहेछ । होस् न त काम नरोकियोस् भनेर बिल्डरले घर बनाउने सामग्रीहरूको जिम्मा डनलाई दिएपछि रेट भने उनले भनेझैं मान्नुपर्ने रहेछ । होलसेल रेटको कुरा गरे तरबारवाला आइपुगिहाल्दो रहेछ । जब उनीहरूले रोडा, गिट्टी, फलाम झार्दारहेछन् त्यतिबेला कम परिमाणमा झारेको देखी यदि बिल्डरको मान्छेले परिमाण ठीक छ वा छैन भनी नाप्न गए तेरो नाप्ने हात काटिदिऔँ भन्दै तरबारवाला आइपुगिहाल्दो रहेछ । यतिसम्म कि यदि बनिसकेको फ्ल्याट छ भने पनि डनले भनेको रकम उसलाई नदिएसम्म त्यहाँ ताल्चा लाग्दोरहेछ । उनीहरू कुनै पनि बेला रूखमा फलेझैं पैसा टिप्न निर्माणस्थलमा आउन सक्दारहेछन् । यदि नदिए लेवर लखेट्ने, कर्मचारी कुट्ने, सामग्री आपूर्ति रोक्ने काम सुरु हुँदोेरहेछ ।
त्यस दिन ती बिल्डरले आधा घन्टा आप्mना दु:खका कुरा सुनाउँदा मेरो आँखामा समेत आँसु आयो । एक पूर्वप्रहरी अधिकृत भएको नाताले मलाई त्यस दिन आफैंप्रति पनि घृणा जाग्यो । मलाई लाग्यो म त्यस्तो प्रहरी सङ्गठनको हिस्सा भएर जनताको करबाट बन्दुक भिरेर फुली लगाउँदै, हिँड्ने सङ्गठनको सदस्य भएर पेन्सन थापिरहेको रहेछु जुन समाजमा करदाताहरूलाई डनको छायामुनि त्रासदीपूर्ण जीवन बाँच्न विवश बनाइरहेको रहेछ । म रिसाएर पुगेको व्यक्ति बिल्डरलाई माया गर्ने भएर फर्किएँ । साथीका लागि केही सुरक्षाको वैकल्पिक व्यवस्था पनि गरिदिएँ । तर, म डनबाट त्रसित भइरहेको यो समाजप्रति भने निकै संवेदनशील हुन पुगेँ ।
मेरा साथीका कारण मैले यो नौलो परिस्थिति बुभ्mन पाएँ । अझ बुभ्mदै जाँदा थाहा भयो, बाटामा राख्ने तरकारी पसल, मोटरसाइकल, मोटरस्ट्यान्डदेखि बालुवा र ढुङ्गाखानी मात्र होइन क्यासिनोमा पैसा लगाई परिवारलाई पीडा दिनेदेखि लिएर उनीहरूले भनेझैं पैसा नपाउँदा व्यक्तिको सवारीसाधन कब्जा गरेर राख्नेसमेतको दुस्साहस यो वर्गबाट खुल्लमखुला हुँदोरहेछ । यिनीहरूले सजिलैसँग विशाल हाइड्रोपावर बन्द गराइदिन सक्दारहेछन् ।
आजभोलि जतिजति म काठमाडौंका डनका दुनियाँका बारेमा बुभ्mदै जाँदै छु त्यति–त्यति यो सभ्य समाजको भविष्यको सुरक्षास्थितिप्रति पनि चिन्तित हुन थालेको छु । एकातर्फ पढेर, सरकारका नियम मानेर, बंैकका ब्याज तिरेर, विभिन्न प्रकारका कर राज्यलाई बुझाएर, कडा परिश्रम गरेर, विदेशमा शौचालय सफा गर्न गएर, नेपालमै बाँच्नका लागि यौनशोषण गराएर, कडा घाममा खेतका माटोका डल्लासँग जुधेर यहीँका एकथरी आदर्श र सभ्य नागरिकहरू दुई पेट खान र दुई एक धरो लगााउन प्रयासरत छन् भने अर्कोतिर कामै नगरी कुनै रिस्कनै नव्यहोरी, नपढी, कुनै परिश्रम नै नगरी तर्साएकै भरमा समाजमा करोडौँ माग्ने मात्र होइन त्यस पैसालाई हकको रूपमा स्थापित गराउन सफल भइरहेछन् । यदि यो विषालु तत्वलाई समयमा नष्ट गर्न नसक्ने हो भने यस तत्वले वनमारा झारले झैं आउँदो समाज नष्ट गर्ने निश्चित छ र समाज अराजकहरूको छायामुनि डर, त्रास र ढुङ्गेयुगतर्फ फर्कन बाध्य हुनेछ ।
बिल्डरसँग बहुतै रिसाएर म त्यहाँ पुगेको भए पनि फर्केर गाडी चढ्ने बेलामा मैले उनको आँखामा हेरेँ । डनको डर, त्रास र धम्कीले आप्mनै मुलुकभित्रै असुरक्षित महसुस गरिरहेका उनका दुई आँखाले राज्यसँग मात्र होइन मसँग पनि सहारा माग्दै थिए । मैले उनलाई भने– पुलिसको मद्दत लिनुहोस । मेरो सल्लाहमा उनको छेउमै बसेको सानो बिल्डरको कर्मचारीले निर्धक्कसँग जवाफ दियो, ‘पुलिस डनसँग मिलेर पैसा खान्छ त्यहाँ भनेर उल्टो दु:ख पाइन्छ ।’
मैले पनि चौबीस वर्ष प्रहरीमा जागिर खाएँ र मेरो यही विश्वास रह्यो कि जहाँ वास्तवमै प्रहरी हुन्छन् त्यहाँ डन हुनै सक्दैन । जसरी घामका अगाडि अँध्यारो टिक्न सक्दैन त्यसैगरी पुलिसका अगाडि डन पनि टिक्न सक्दैन । यदि डन यो समाजमा टिकेका छन् भने म यही बुभ्mछु कि त्यहाँ वास्तविक प्रहरी नै छैनन् । छन् भने नाटकका प्रहरीजस्ता मात्र छन् । जसरी पुलिसले तलब खाने र राशन खानेकुरामा ऊ सम्झौता गर्न चाहँदैन सरकारसँग पैसा नभए पनि नागरिकहरूले उसलाई पाल्नुपर्छ भन्ने उसको मान्यता छ त्यसैगरी डन सखाप पार्नुपर्ने काममा पनि पुलिसले जनतासँग कुनै क्षमा माग्न पाउँदैन किनकि त्यो उसको दायित्व हो । पुलिसले भन्लान् हामीमा उजुरी आएन, के बालुवाखानीतिर गस्ती जाँदा उजुरी आउनुपर्छ ? के मापसे गरेका मान्छे समात्न उजुरी आएको छ ? गल्ती डनमा मात्र छैन गल्ती सरकार र पुलिसमा पनि छ । अझ ठूलो गल्ती प्रहरीमा छ । यदि यो समाजमा डन छन् भने आत्मस्वाभिमानी प्रहरीले बर्दी लगाएर हिँड्न लाज मान्नुपर्छ । डनका नियन्त्रणमा पुलिसहरू छन् वा पुलिसको नियन्त्रणमा डन् ? यो प्रश्नको जवाफ आजभोलि हाम्रो समाजले खोजिरहेको छ तर एउटा कुरा निश्चित छ डन प्रवृत्तिलाई साथ दिने नेता, प्रहरी वा समाजसेवी पनि तीभन्दा ठूला अपराधी हुन् र तिनले यही जन्ममा त्यो पापको फल भोग्नुपर्छ ।