त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता


नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नंको कन्टेनरको ठक्करबाट दूधको ट्यांकर नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्यांकरकोे केही भाग मात्र पानीबाहिर देखिएको छ भने अन्य भाग पूरै डुबेको छ । चालक गाडीभित्र च्यापिएको देखिए पनि सहचालक भने देखिएका छ्रैनन् ।

उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी र भरतपुरबाट क्रेनसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । आज बिहान ६ः१३ बजे मात्र प्रहरीले घटनाबारे जानकारी पाएको र घटना कति बेला भयो भन्ने यकिन भएको छैन ।

चालक र सहचालकको नाम खुल्न सकेको छैन । प्रहरीले दुवैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।