प्रदेश नं ३ को मूख्यमन्त्रीमा मूख्य प्रतिस्पर्धी रहेका राजेन्द्र पाण्डे अचानक मैदानबाट पछि हटेका छन् ।
अध्यक्ष केपी ओलीको समेत समर्थन पाएर मूख्यमन्त्री बन्ने विश्वासमा रहेका पाण्डे ओलीले डोरमणी पौडेललाई अघि सारेको थाहा पाएपछि पछि हटेका हुन् ।
नेता पाण्डेले मूख्यमन्त्रीको प्रतिस्पर्धाबाट आफूलाई पछि हटाएपछि पौडेल र अष्टलक्ष्मी शाक्यबीच भिडन्त हुने देखिएको छ ।
विकासप्रेमी नेताका रुपमा परिचित पाण्डेले मूख्यमन्त्री बन्न नपाउने भएपछि पौडेललाई हराउने खेलमा उनका समर्थकहरु कस्सेर लागिपरेका छन् ।
पाण्डे पार्टीभित्र सिनियर नेता मानिन्छन् भने यसअघि मन्त्री पनि भइसकेका हुन् । मूख्यमन्त्री बन्नकै लागि भनेर उनले आफूले जित्दै आएको संसदीय निर्वाचनको मैदान छोडी प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । यस प्रकरणले एमाले पार्टीमा पाण्डेलाई सकसपूर्ण अवस्थामा पु-याएको टिप्पणी हुन थालेको छ ।
वामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपालसँग नजिकका मानिने पाण्डेले पार्टी अध्यक्ष ओलीसँग भने सम्बन्ध सुमधुर बनाउन सकेनन् । जसका कारण उनी मूख्यमन्त्री बन्नबाट बञ्चित भएका छन् । पाण्डेका समर्थहरुले पौडेल मूख्यमन्त्री भएमा प्रदेशमा सोचेअनूरुपको विकास नहुने र उनको मन्त्रीमण्डलमा सिनियर नेताहरु पनि नबस्ने बताएका छन् ।
एकमा कसले मार्ला बाजी ?
प्रदेश नं १ र ३ मा मूख्यमन्त्रीका लागि एमालेभित्र रस्साकस्सी शुरु भएको छ । यी दुबै प्रदेशमा मूख्यमन्त्रीका लागि एमालेभित्र रोमञ्चक भिडन्त हुने देखिएको छ ।
यतिबेला मूख्यमन्त्रीका लागि प्रदेश नं एकमा शेरधन राई र भीम आचार्य मैदानमा उत्रिएका छन् । पार्टीमा राईभन्दा आचार्य सिनियर नेता मानिन्छन् । तर उक्त प्रदेशमा एमालेका स्थानीय नेता तथा कार्यकताहरुको रोजाईमा नेता राई पर्ने गरेका छन् ।
उता, भिम आचार्य झलनाथ खनालका नातेदार हुन् । खनालले आचार्य नै मूख्यमन्त्री हुनुपर्छ भन्दै पार्टीभित्र लविङ गरिरहेका छन् । आचार्यलाई माधव नेपालको समेत साथ रहेको बुझिन्छ । तर राईले मूख्यमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको राम्रै साथ पाएका छन् । कुनै अप्रत्यासित घटना भएन भने प्रदेश १ मा शेरधन राई नै मूख्यमन्त्री बन्ने निश्चित मानिएको छ ।
प्रतिक्रिया