(कविता)पढ् बाबु, पढ् विद्या—सुमल कुमार गुरुङ

(कविता)पढ् बाबु, पढ् विद्या—सुमल कुमार गुरुङ


न चोरले चोर्नसक्छ न नै पार्छ राख आगोले
न बाढीले बगाउँछ न नै यो बाँडेर सकिन्छ
यो अजेय छ, जित्न सक्दैन कसैले
बुवा भन्थे… पढ् छोरा पढ् विद्या ।
ज्ञानको दीयो बुझ्दैन तुफानले
पहाडले छेक्न सक्तैन न नै कसैले रोक्न सक्छ
अँध्यारो चिर्ने प्रकाश हो बाबु,
आमा भन्थिन् .. पढ् बाबु पढ् विद्या ।
शैशव चेतना कहिल्यै उघ्रिएन,
एक तमासले सुन्थें, अर्को कानले उडाइदिन्थें,
केवल संगीहरुको लहडमा
पाउ आकाश पताल नाप्थें
कहिले सिनेमा र कहिले रमिता
बन्यो जीवन मस्ती र उद्धण्ड
अनि, काट्यो नेटो समयले ।
बा—आमाको वचन किहल्यै पचेन
अर्ती यो मगजले कहिल्यै टिपेन
विवेकभित्र राज शैतानको थियो
होश भएन कुन बाटो हिँडे म ।
म खोज्थे नशाको तरङ्ग रासलिला,
म मस्त हुन्थे कलिवुड र बलिवुडको हिरोझै
नक्कल गर्दै ग्याङ फाइटको हिरो बन्दै
रोजें यात्रा सडक आतङ्क फैलाउने
नेताहरुको इशारामा ।
संहारको नृत्य ताण्डव
मलाई थाहा भएन
हुस्सु, युवाकालको अघोरी बेवकुफ ।
जलाउने, भत्काउने र मार्ने
मेरो जोश सगरमाथाझैं चुलिन्थ्यो
हुलदंगामा नशाहरु बलुनझैं फुलिन्थें
एक धाप नेताले स्याबासी दिँदा
मानौ हुन्थें जितें संसार मैले ।
कोल्टे फे¥यो समयले
भ्रष्टाचारी नेता भयो जेल गमन
म पनि थुनिएँ दशकौंसम्म
दर्जनौ हत्याहिंसाको मुद्धामा ।
होश खुल्यो तब जेलको चीसो छिँडीमा
बनें बेकार, काम नलाग्ने
रगतमा लथ्पथिएका दानवीय हातहरु
अहिले बेदम छन्
पाशविक संहारमा जाइलाग्ने शरीर
अहिले सडेर बेकाम छ
जीवनअघि अँध्यारो, शून्य छ
केवल शून्य छ,
बनेको छु बोझ बसुन्धराको ।
साथी कोही इन्जिनियर, कोही डाक्टर, कोही लेक्चरर
म कक्षा पाँच फेल
अधबैंशमा भोगिरहेको छु
जस्तो करनी त्यस्तै भरनी
अनि अहिले सम्झदै छु बा—आमाले भनेका
पढ् बाबु पढ् विद्या !