हत्या अभियोग लागेका ‘आतिनी’ १६ वर्षपछि प्रहरी नियन्त्रणमा

हत्या अभियोग लागेका ‘आतिनी’ १६ वर्षपछि प्रहरी नियन्त्रणमा


काठमाडौं महानगरपालिका–१४ ठमेलस्थित ‘जुलि स्टुडियो ५४’ डिस्कोमा गत ०५८ कात्तिक १८ गते १९ वर्षीय सुवर्ण गुरूङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको २०६४ पुस १ गतेको फैसला अनुसार जन्म कैद सजाय तोकिएका आतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी प्रहरीले शुक्रबार नेपाल ल्याएको छ ।

मुखियालाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१७, नोभेम्बर २८ मा रेडक्रनर नोटिस जारी भएको थियो ।

सन् २०१७, डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेशिया जाने क्रममा मुखियालाई इन्टरपोल इन्डियाले पक्राउ गरी दिल्लीस्थित पटियाला कोर्टमा उपस्थित गराएकोमा शुक्रबार उक्त अदालतको फैसला अनुसार भारत सरकार परराष्ट्र मन्त्रालयले नेपाल प्रहरीलाई बुझाएपछि उनलाई नेपाल प्रहरीले नेपाल ल्याएको हो ।

मुखियालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने छ ।

यसैगरी, आबुखैरेनी गाउँपालिका–३ बिचबजार बस्ने ६० बर्षीया सुनमाया विश्वकर्मा र बन्दीपुर गाउँपालिका–६ बस्ने ६७ बर्षीय लिकबहादुर विकलाई जिवित हुचिल चरा १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सुनमायाको घरमा अवैध रुपमा लुकाई छिपाई काठको खोरमा राखेको अवस्थामा करीव ७ वर्षको जस्तो देखिने हुचिल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि प्रहरीले जिल्ला बन कार्यालय तनहुँमा बुझाएको छ ।