सामाजिक परिचालकहरुको एकै स्वर ‘स्थानीय तहमा काम गर्न देऊ’

सामाजिक परिचालकहरुको एकै स्वर ‘स्थानीय तहमा काम गर्न देऊ’


यतिबेला स्थानीय तहमा आवश्यक कर्मचारी छैनन् । र भएका कर्मचारीहरु स्थानिय तहमा काम गर्न जान मान्दैनन् । जनप्रतिनिधि पनि कर्मचारी अभावमा काम गर्न सकिएन भनेर पन्छिन थालेका छन् ।

कर्मचारी समायोजन गर्न नसक्दा स्थानीय तहमा सेवा भने चुस्त छैन । तर अर्कोतिर स्थानीय तहमा काम गर्न पाउँ भन्दै आन्दोलन गर्ने पनि छन् । उनीहरु हुन् सामाजिक परिचालकहरु ।

यो दृश्य नयाँ बानेश्वरको हो । यसरी बीच सडकमा आन्दोलन गर्ने तरिका नौलो त होइन तर आन्दोलन गर्नेहरु भने नयाँ हुन् । अर्थात सरकारले बिदा दिएका सामाजिक परिचालकहरु । यतिबेला उनिहरु आफ्ना बेदना आन्दोलनमार्फत पोखिरहेका छन् । र भनिरहेका छन् की सरकार हामीलाई काम गर्न देऊ ।

तत्कालीन संरचना स्थानीय निकायको मातहतमा ८ वर्षदेखि काम गरिरहेका उनीहरु अब नयाँ संरचनामा नअटाउने भएपछि देश भरिबाट भेला भएका छन् । पुष १४ को सरकारको निर्णय अनुसार उनीहरुलाई बिदा दिने योजना अगाडि ल्याएपछि उनीहरु आन्दोलित भएका हुन् । ‘करिब एकदशक यही क्षेत्रमा बितायौं । राज्यलाई सहयोग पनि गरेका छौं ।’ एक परिचालकले भनिन्, ‘सरकार हामी अब कता जाने ? उर्जाशिल समय सरकारकै काममा खर्च गरेका छौं ।’

एकातिर अहिले मौजुदा कर्मचारी समायोजनमा जान पनि आनाकानी गरिरहेका बेला उनीहरुले आफुहरुलाई समायोजनमा लान आग्रह गरिरहेका छन् । करिब एकदशक जति स्थानीय स्तरमा समाजसँग नजिक भएर काम गरेकोले आफुलाई न्यायोचित सम्बोधन गर्नु पर्ने उनीहरुको माग छ ।

हिजो सबै मापदण्ड पुरा गरी छनौट भएर काम गरेकोले अबको नयाँ संरचनामा यो अनुभव काम लाग्ने उनीहरुको दाबी छ । ‘सबैभन्दा मुख्य कुरा हिजो कम पारिश्रमिकमा काम लगाउने आज विविध कारण देखाई पाखा लगाउने प्रवृत्ति गलत छ ।’ एक परिचालकले भनिन्, ‘हामी आन्दोलनलाई जारी राख्छौं, सरकारलाई गलाएरै छाड्ने छौं ।’

देशले कर्मचारी परिचालन र व्यबस्थापन गर्न नसक्दा सेवामा नागरिकले भोगेको सास्ती कम छैन । भएकालाई पनि ठेगान लगाउन नसक्ने र हुन चाहनेलाई पनि सम्बोधन गर्न नसक्नुप्रति भने सोच्न जरुरी छ ।