नेपालको मानमर्दन
अन्तर्राष्ट्रिय फुटबलमा नेपालको स्तर के छ त्यो घामजस्तै छर्लङ्ग भएको छ । नेहरू कपमा नेपालले प्राप्त गरेको स्थान र नतिजालाई आत्मसात् गर्ने हो भने सोझै अनुमान लगाउन सकिन्छ । हालै सम्पन्न नेहरू कपमा सहभागी पाँच राष्ट्रमा पाँचौँ स्थान हात पारेर नेपालको नाक काटेर त्यसमा नुनचुक लगाउने काम भएको थियो । सो प्रतियोगितामा नेपालले एक गोल हानेर नौ गोल खाएको थियोे । नेहरू कपमा एउटै खेल जित्न नसकेको नेपाल उक्त प्रतियोगितामा भारतबाहेक अन्य सबै टोलीसँग मुसो सावित भएको थियो । प्रतियोगिताअघि माल्दिभ्स र भारतलाई जित्ने सपना देखे पनि त्यो दिवास्वप्नमा परिणत भएको थियो । यो नतिजाले अन्तर्राष्ट्रियस्तरमा नेपालको स्थान र स्तर के छ त्यसलाई समेत प्रस्ट पारेको छ । बरियता क्रममा दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको नेपालको यो प्रदर्शन र नतिजाले बरियताको आधिकारिकतामा समेत प्रश्नले उठाइदिएको छ ।
वर्तमान अवस्था नेपाली फुटबलको विश्लेषण गर्ने हो भने ‘फुटबल ओरालो र गणेश थापा उकालो’ लागेको प्रस्ट रूपमा देख्न सकिन्छ । यो अवधिममा थापा र खेलाडीहरू मोटाए पनि फुटबल भने दुब्लाएको छ । आर्थिक रूपमा थापा र खेलाडी मालामाल हुँदासमेत नेपालको हातमा भने शून्य नै परेको छ । यसर्थमा कि विगत दुई दशकदेखि अन्तर्राष्ट्रियस्तरको कुनै ट्रफी र मेडल नेपालको झोलीमा पर्न सकेको छैन । भविष्यमा पर्ने कुनै सम्भावना पनि देखिँदैन । जुन नेपाली फुटबलको विडम्बनाको पाटो बन्दै गएको छ । यसरी दुई दशकदेखि अन्तर्राष्ट्रियस्तरमा नेपालको मानमर्दन गराउँदै आएका थापाले यो क्रमलाई कहिलेसम्म जारी राख्ने हुन्– त्यो चिन्ताको विषय बनेको छ । नेपाली फुटबललाई हिटलरको पारामा हाँक्दै आफ्नो स्वार्थसिद्ध गर्दै आएका थापाले अब फुटबललाई आँपको कोयाजस्तै बनाउनेतर्फ उद्यत् देखिएका छन । हारे राष्ट्र हार्छ, काटिए मुलुकको नाक काटिन्छ भन्ने मानसिकता थापाको रहेको छ । त्यसैले होला यसको प्रभाव थापालाई कहिल्यै परेको देखिन्न । थापा नेपाली फुटबलको आवरणमा राम्रो देखिएका छन्, उनलाई यति भए पुग्छ ।
फुटबलमा विजय प्राप्त गर्न ‘गोल’ गर्नुपर्छ । अपशोच, नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न बिर्सिएको दुई दशक भइसकेको छ । आक्कलझुक्कल अर्थात् कागताली परेर एक–दुई गोल भए पनि फुटबलका खेलाडीले गोल गर्न बिर्सिएको ध्रुवसत्य हो । पहिले सीमित साधन–स्रोतका बाबजुद पनि फुटबलमा उत्कृष्ट नतिजा आएको कसैबाट छिपेको छैन । अहिले एन्फाले खेलाडीलाई प्रोत्साहन गर्न विभिन्नखाले सुविधा प्रदान गर्दै आए पनि परिणाम जिरो भएको छ । यसको जिम्मेवारी कसले लिने, खेलाडी कि एन्फाले ? त्यो गम्भीर प्रश्न बनेको छ । मुलुकभरि फुटबलको बहार आएको अवस्थामा फुटबल फस्टाउनु स्वाभाविकै हो । तर, फुटबल झ्याँगिँदा आकार मात्र ठूलो भएर हुँदैन । त्यसमा कस्ता फलहरू लागेका छन् त्यसलाई पनि आत्मसात् गर्नुपर्छ । यहाँ त्यस्तो होइन, आवरणलाई मात्र हेरिएको छ । भित्र गुदी छ कि छैन त्यसको कहिल्यै जाँच गरिएको छैन । परिणाम स्वदेशी भूमिमा आफ्नो क्लबबाट गोलको वर्षा गरेर ‘हिरो’ बनेका खेलाडी सीमापारि ‘लुते’ सावित भएका छन् । जुन नेपाली फुटबल र खेलाडीको यथार्थ हो भन्दा अतिसयोक्ति नहोला ।
नेहरू कपमा आयोजक भारत, माल्दिभ्स र नेपालले राष्ट्रिय टिमलाई उतारेका थिए भने क्यामरुन र सिरियाका दोस्रो दर्जाका युवा टिमले सहभागिता जनाएका थिए । वास्तविक रूपमा भन्नुपर्दा यो प्रतियोगितामा सबै एकैनासे एकै स्तरका टिम थिए । जसले जसलाई पनि माथ दिन सक्थ्यो । जुन कुरा प्रतियोगिताका अवसरमा देखिएको उथलपुथलले समेत प्रमाणित गरेको थियो । सिरियालाई माल्दिभ्सले हराउँदा भारतविरुद्ध नेपाल पनि उन्नाइस नभएको प्रमाणित गरेको थियो । तर, विडम्बना, नेपालको पक्षमा मात्रै पराजय किन त ? त्यसबारे एन्फाले आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । भारतसँग उत्कृष्ट प्रदर्शन गर्ने नेपालले क्यामरुनसँग पाँच र सिरियासँग दुई गोल खानुको पछाडिको रहस्य के छ त ? यसको जवाफ एन्फाले दिर्नैपर्छ । नेपालले आफूले खेलेका चार खेलमा एउटा मात्र गोल गर्नु सबैभन्दा कमजोर पक्ष थियो । तर, यहाँ त्यसको खोजीनिती, नसिहत दिने नीतिनियम र निकायको कमजोरीले गर्दा खेलाडीलाई छाडा साँढेजस्तो बनाइदिएको छ । जसले गर्दा मुलुकको प्रतिष्ठासँग गाँसिएको प्रतियोगितामा समेत खेलाडीले जस्तो प्रदर्शन गरे पनि त्यसको कुनै खेलाजोखा राखिँदैन । उल्टै उनीहरूलाई पुरस्कृत गरिन्छ ।
नेहरू कप मात्रै होइन, विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय फुटबलमा खेलाडीहरूले यस्तै कमजोर र शर्मनाक प्रदर्शन गर्दै आएको कसैबाट छुपेको छैन । दक्षिण एसियाली खेलकुदमा अन्य खेलका खेलाडी स्वर्ण पदक जित्न असफल भएको अवस्थामा फुटबलले मात्रै एउटा स्वर्ण पदक जितेर राष्ट्रको इज्जत धानेको इतिहास हाम्रोसामु छ । गणेश थापाले एन्फाको कुर्सी सम्हालेपछि योभन्दा बढी आशा होइन विश्वास गरिएको थियो । तर, थापाले एन्फामा निरङ्कुश र एकछत्र राज गरेको दुई दशक बितिसक्दा पनि नेपालले अन्तर्राष्ट्रिय सफलता हात पार्न सकेको छैन । सधैँ पराजय नै पराजयको आहाल डुबिरहेको छ । यो आहालबाट निकाल्ने प्रयास कसैले गरेको छैन । स्वयम् एन्फा अध्यक्ष थापाले पनि । उनलाई अध्यक्षको कुर्सी चाहिएको छ, यसैमा उनी राजनीति गरिरहेका छन् । जुन फुटबलका लागि दुर्भाग्य बन्दै गएको छ । अहिले फुटबलमा धेरै पानी बगिसकेको छ र पनि फुटबललाई कर्केनजरले हेर्ने दुस्साहस कसैले गर्न सकेको छैन । आखिर किन त ? सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि यसको जवाफ दिनुपर्छ ।
फुटबलमा २० वर्षसम्म पराजयले निरन्तरता पाउँदा पनि फुटबलप्रेमीहरूले धैर्यताको बाँधलाई तोडेका छैनन् । गणेश थापाको विश्वासमा उनीहरूले मुलुकको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा लिलाम हुँदासमेत मौनधारण गरेका छन् । तर, कहिलेसम्म ? आखिर धैर्यताको पनि सीमा हुन्छ । पानी नाकैमुनिबाट बग्न थालेपछि त्यस्तै टुलुटुलु हेर्न मिल्दैन पनि । तसर्थ अब बल पुन: थापाको कोर्टमा पुगेको छ । थापाले यसको जवाफ दिनुपर्छ या एन्फा छोड्नुपर्छ । चाकरी, चाप्लुसी र शक्तिको आडमा फुटबललाई बर्बाद गर्न कदापि मिल्दैन । तसर्थ विभिन्न हतकण्डा मच्चाएर एन्फालाई आफ्नो बाउको बिर्ता बनाउन खोज्नुभन्दा दुई दशकको अवधिमा आफूले के पाएँ र मुलुकले के पायो भन्ने कुरालाई आत्मसात् गर्दा राम्रो हुनेछ । अर्थशास्त्रको नियमअनुसार एउटै कुरा धेरैचोटि उपभोग गर्दा त्यसको प्रभावकारिता ह्रास आउने भएकाले थापाले पनि यसबारे सोचे बुद्धिमानी ठहरिनेछ । अन्यथा वर्तमान अवस्थामा डलर काण्डले ‘जिरो’ बनेका थापाको भविष्य कस्तो होला त्यसै अनुमान लगाउन सकिन्छ ।
टिम मावेर ब्याडमिन्टन एकेडेमी स्थापना हुने
काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको पहलमा बेलायती नागरिक तथा ब्याडमिन्टन प्रशिक्षक टिम मावेरको सहयोगमा काठमाडांैमा ब्याडमिन्टन एकेडेमीको स्थापना हुने भएको छ । नेपालमा ब्याडमिन्टन खेलाडीको सम्भावना र इच्छुक व्यक्तिहरूलाई ब्याडमिन्टन खेलमा आकर्षित गर्ने उद्देश्यले ब्याडमिन्टन एकेडेमी स्थापना गर्न लागिएको बेलायती प्रशिक्षक टिमले जानकारी गराएका थिए ।
टिमको नाममा दक्षिण एसियाअन्तर्गत बंगलादेशको चितगाउँ र सिलेटमा एक–एक गरी दुई र भारतको कोलकातामा एक ‘टिम मावेर ब्याडमिन्टन एकेडेमी’ निर्माण गरिएकोसमेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालमा ब्याडमिन्टन खेलमा रुचि राख्ने व्यक्तिहरूलाई एकेडेमीको स्थापनाले सहयोग पुग्नुका साथै ब्याडमिन्टन खेलको विकास र विस्तारमा सहयोग पुग्ने ब्याडमिन्टन खेलाडीसमेत रहिसकेका प्रशिक्षक टिमले बताएका छन् ।
दक्षिण एसियाको नेपालमा एकेडेमी स्थापनापश्चात् वर्षमा चारपटक विभिन्न एकेडेमीमा एकेडेमीका खेलाडीबीच प्रतिस्पर्धा गराई ब्याडमिन्टनका दक्ष खेलाडी उत्पादन गर्नु मावेरको उद्देश्य रहेकोसमेत रहेको छ । एकेडेमीमा १३ र १७ वर्षमुनि तीन तहका ५० खेलाडीले खेल्न पाउनेछन् । ब्याडमिन्टन खेलमा रुचि राख्ने तर खेल नजानेका व्यक्तिहरू, ब्याडमिन्टनको साधारण ज्ञान भएका खेलाडी र ब्याडमिन्टन खेल जानेका तर पूर्णता हासिल नगरेका खेलाडीले एकेडेमीमा सिक्ने मौका पाउनेछन् ।
एकेडेमीमा ब्याडमिन्टन सिक्न आउने व्यक्तिहरूबाट निश्चित शुल्क लिइनुका साथै अन्य निकायबाट समेत सहयोग जुटाई ब्याडमिन्टन खेल्न इच्छुक तर आर्थिक स्थिति दयनीय भएकालाई छात्रवृत्ति प्रदान गरिने प्रशिक्षक टिमले जानकारी गराए ।
काठमाडौंमा एकेडेमी निर्माणका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्तिपश्चात् एकेडेमी निर्माण गरिने भन्दै छिट्टै नै भाडामा नै भए पनि कभर्डहल लिएर एकेडेमी सञ्चालन गरिने र दुई वर्षभित्र आफ्नै कभर्डहल निर्माण गरिने काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाले बताए ।
छात्रछात्रा सडकदौड भदौ २३ मा
राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा उपत्यकाव्यापी विद्यालयस्तरीय छात्रछात्रा सडकदौड प्रतियोगिता भदौ २३ मा हुने भएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा शिक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो । छात्रतर्फ पाँच किलोमिटर तथा छात्रामा तीन किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।
दौडका लागि काठमाडौंलाई तीन सय, ललितपुरलाई दुई सय तथा भक्तपुरलाई एक सय खेलाडी कोटा निर्धारण गरिएको परिषद्को सचिवालयका अधिकृत मीनकुमार शर्माले जनाएका छन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुन: दशरथ रंगशालामै आएर टुङ्गिनेछ ।
युनियनलाई कुकिवानको मान्यता
राष्ट्रिय तेक्वान्दो युनियन नेपालले कुकिवानको मान्यता पाएको बताएको छ । सोे कुरा युनियनका महासचिव राजकुमार कार्कीले एक कार्यक्रमबीच जानकारी गराएका थिए । हालै कुकिवानबाट युनियनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको प्रमाणपत्र देखाउँदै अब नेपालमा दुईवटा तेक्वान्दो सङ्घ रहेको दाबी गरेका थिए । कार्कीले अब वैधानिक रूपमा नेपालमा दुईवटा तेक्वान्दो सङ्घ रहेको प्रस्ट पार्दै तेक्वान्दो सङ्घबराबर नै आफूहरूले तेक्वान्दोको गतिविधि अगाडि बढाउने बताएका थिए । सो कार्यक्रमबाटै युनियनका अध्यक्ष शैलेन्द्र अमात्यले भावी कार्यक्रम र योजना पनि सार्वजनिक गरेका थिए । स्मरणीय छ, गत वर्ष राष्ट्रिय खेलकुद परिषद्मा युनियनको दर्ता हुँदा व्यापक विरोध भएको थियो । परिषद्मा दर्ता भएकै कारणले कुकिवानले युनियनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको महासचिव कार्कीको स्पष्टीकरण थियो । युनियनको मान्यताबारे प्रकाश पार्दै नेपाल तेक्वान्दोे सङ्घका महासचिव दीपराज गुरुङले एउटा मुलुकमा दुईवटा सङ्घले मान्यता नपाउने ठोकुवा गरेका थिए । गुरुङले आफू कसैसँग विवाद गर्ने पक्षमा नभएको भन्दै यदि कसैलाई तेक्वान्दोबारे भ्रम छ भने त्यो भविष्यले देखाउने प्रस्ट पारेका थिए ।
धावक सञ्जय मनास्लु हिमाल चढ्ने
प्यूठान, विजुवारका अल्ट्रा धावक सञ्जय पण्डितले मनास्लु हिमालको आरोहण गर्ने भएका छन् । त्यसका लागि हालै उनी काठमाडौंबाट प्रस्थान गरेका छन् । मनास्लुको उचाइ आठ हजार एक सय ६३ मिटर रहेको छ । यसअघि उनले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आठ हजार ६ सय ८५ मिटरसम्मको उचाइ आरोहण गरेका छन् । सञ्जयलाई शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना, कोषाध्यक्ष इन्द्रबहादुर थिङ, नेपाल राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टलगायतले सफलताको शुभकामनासहित बिदाइ गरेका थिए ।
खेलाडी कल्याणकारी कोषद्वारा आर्थिक सहयोग
राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद््का सदस्यसचिव युवराज लामाको अध्यक्षतामा बसेको बैठकले कुस्ती खेलाडी स्व. उपेन्द्रदास वैरागीका दुई छोरा तथा नसासम्बन्धी रोगबाट पीडित बक्सिङ प्रशिक्षक कृष्णमान श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । स्व. वैरागीका छोरा कक्षा चारमा अध्ययनरत प्रेमशंकर र कक्षा आठमा अध्ययनरत रामाशंकरलाई कक्षा १० सम्म अध्ययनका लागि मासिक सात सय रुपैयाँका दरले कुल ८४ हजार रुपैयाँ निजहरूका आमा रामकुमारी यादवलाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै प्रशिक्षक श्रेष्ठलाई कोषको ब्याजबाट एक लाख आर्थिक सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको छ । श्रेष्ठको मागअनुसार राखेपले सरकारसमक्ष रकम माग गरेकोमा अर्थ मन्त्रालयबाट परिषद्कै स्रोतबाट सहयोग रकम उपलब्ध गराउन पत्राचार गरेको तथा परिषद्मा हाल आन्तरिक स्रोतको कमी भएको हुँदा कोषबाट एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको हो । यसअघि जुडोकी देबु थापालाई स्वास्थ्योपचारका लागि पछि सोधभर्ना हुनेगरी कोषको ब्याजबाट एक लाख प्रदान गरिएकोमा नेपाल सरकारबाट उक्त रकम प्राप्त नभएपछि उक्त रकमलाई पनि सहयोगमा परिणत गर्ने निर्णय गरेको कोषका सदस्यसचिव एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले जनाएका छन् ।
एलएलाई जुनियर टेनिस उपाधि
आयोजक लिटिलएन्जल्स स्कुलले छैटौँ एलए/जेटीआई अन्तरस्कुल जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन बनेको एलए ६३ अङ्कसाथ पहिलो भएको थियो । दोस्रो स्थानमा रहेको सेन्ट जेभियर्सले ५१ अङ्क जोडेको थियो भने ४८ अङ्कसहित रातोबंगला तेस्रो भयो । प्रतियोगिताको अन्तिम दिन भएको यू–१८ ब्वाइज सिंगल्सको उपाधि ब्रिटिस स्कुलका आइभान हो लिसानेविचले जितका थिए । आइभानले नेसनल ट्रेनिङ सेन्टरका गणेश कार्कीमाथि ६–० र ६–० को सहज जित दर्ता गर्दै व्यक्तिगत स्वर्ण सङ्ख्या दुई पुर्याए । आइभान यू–१६ सिंगल्समा पनि च्याम्पियन बनेका थिए । सोही स्पर्धाको गल्र्समा महेन्द्र उमावि, पोखराकी गंगा शर्माले बाजी मारिन् ।
शुभताराका सम्यकभूषण बज्राचार्यले यू–१० ब्वाइज सिंगल्सको उपाधि जितेका थिए भने यू–१४ गल्र्स सिंगल्समा सेन्टजेभियर्सकी विभूति कार्की च्याम्पियन भएकी थिइन् । विभूतिले यू–१६ सिंगल्समा पनि स्वर्ण
जितेकी थिइन् । यू–१४ कै ब्वाइज सिंगल्समा रातोबंगलाका अभय गौचन पहिलो भए । विजेतालाई अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष मनोज राणा, एलएका प्रिन्सिपल उमेश श्रेष्ठ, भाइस प्रिन्सिपल राजेश श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । ६ दिने प्रतियोगितामा काठमाडौं, ललितपुर र कास्कीका विभिन्न ३२ विद्यालयका एक सय ४३ छात्र र ९५ छात्रा गरी कुल दुई सय ३८ खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया