नेपाली युवामा असुरक्षित यौन सम्बन्ध बढ्दै

नेपाली युवामा असुरक्षित यौन सम्बन्ध बढ्दै


नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो ।

कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ)का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको तथा अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताए ।

एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्धकै माध्यमबाट संक्रमण भएको बताउँदै उनले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताइन् । उनका अनुसार भक्तपुरमा मात्रै एक हजार एक सय एचआईभी संक्रमित रहेका छन् ।

अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा शुरुवात संस्थाले एचआईभी एड्सको निःशुल्क परीक्षण गर्ने भएको छ । १३ फ्रेबुअरी अर्थात शिवरात्रिका दिन फागुन १ गते भक्तपुरको दरबार स्क्वायरमा निःशुल्क एचआइभीको परीक्षण गरिने भएको शुरुवात संस्थाका कार्यकारी निर्देशक दीदीयाले जानकारी दिइन् ।

अत्याधुनिक प्रविधिको मेशिनले विशेष भ्यानमा राखेर परीक्षण गरिने उनले बताइन् । भक्तपुरमा मात्रै दैनिक १० हजारभन्दा बढी कण्डमको खपत हुने जानकारी दिँदै उनले त्यसैलाई मध्यनजर राख्दै फागुन १ गते दरबार स्क्वायर र तौमढी (पाँचतले मन्दिर परिसर)मा निःशुल्क कण्डम वितरण गरिने बताइन् ।

साथै, युवालाई मनोरञ्जनबाटै कण्डमको प्रयोग गर्न चेतना फैलाउने उद्देश्यले फागुन १ गते दिउँसो दरबार स्क्वायरमा सांगीतिक कार्यक्रम (लाइभ म्युजिकल कन्सर्ट) गर्ने भएको राससले जनाएको छ । गायक सौगात राई, एड्रियन प्रधानलगायत चर्चित व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति राख्ने जनाइएको छ ।