युद्धको शङ्खघोष – वैगुनी नेपाल
फेरि ढाँटे, फेरि झुक्याए
यी ढाँटहरूले, यी छलीहरूले ।
आ–आफ्नै स्वार्थमा तल्लीन
आ–आफ्नै कथित ‘अडान’मा अडिग यिनीहरू
हाम्रा नाममा
हाम्रै टाउकोमा प्रहार गरिरहेछन्,
अन्योल, अनिश्चय र सङ्क्रमण
महँगी, अभाव र गरिबी थोपरिरहेछन् ।
हाम्रा चिन्ता,
यिनका सत्तास्वार्थका षड्यन्त्रमा
महत्वहीन भएका छन्
हाम्रा चाहना,
यिनका दम्भ र घमण्डका बन्धक भएका छन् ।
गणतन्त्रका गफ गर्ने यिनीहरू
आफैं गणतन्त्रप्रति आश्वस्त छैनन्
लोकतन्त्रका कुरा गर्ने यिनीहरू
आफैं लोकतन्त्रका प्रति इमानदार छैनन् ।
त्यसैले आऊ,
यी ढाँटहरूको विश्वास गर्न छाडौँ यी छलीहरूका छलमा अलमलिन छाडौँ
र, थालौँ यिनकै विरुद्ध सङ्घर्ष
यी अक्षम, नालायक, निकम्मा, धोकेबाज र बेइमानहरूलाई
किनारा लगाऊँ
र, आफ्ना लागि आफैं अघि बढ्ने उद्घोष गरौँ,
हाम्रै नाममा हामीमाथि रजाइँ गर्ने
यिनका चेपाइबाट उन्मुक्तिका लागि
यिनीहरूका विरुद्ध युद्धको शङ्खघोष गरौँ ।
पुस्तक समीक्षा
देवीगीता, देवघाट र रामानन्द गिरी—लुमडी आचार्य
१८ पुराण अर्थात् महापुराणहरूमध्येकै देवी भागवत् पनि हुँदो हो । यसैको सेरोफेरोमा केन्द्रित रहेर स्वामी डा. रामानन्द गिरीले यसै वर्षको मिर्मिरेमै ‘देवीगीता’ लोकार्पण गर्नुभएको छ । नेपालको जेठो, ऐतिहासिक धरोहर, त्रिभुवन विश्वविद्यालयबाट ०४१ मा विद्यावारिधि गर्दाको मूल विषय छ ‘राजर्षि जनकको विदेह सिद्धान्तहरूको समीक्षात्मक अध्ययन ।’ वेदान्त दर्शन, प्राध्यापकीय प्राज्ञिक हैसियतका साथै सनातन धर्म र संस्कृतिका प्रखर प्रवक्ता गिरीले आध्यात्मिक परिवेशकै आधा दर्जन पुस्तक पाठकसमक्ष पस्किसक्नुभएको छ । अध्ययन, अन्य व्यवहार एवम् दैनिकी सबै पाटा धार्मिक तथा आध्यात्मिक ऋषि–महर्षिहरूकै जस्तो भएपछि गृहस्थी जीवनबाट टाढिँदै केवलपुरे सुवेदीबाट रामानन्द गिरीमा रूपान्तरित लहुनुभएका उहाँको जन्मथलो धादिङको लामीडाँडा (केवलपुर)बाट देवघाट बन्न पुगेको छ ।
देवघाटधाममा नवदुर्गा, शिव, रामकृष्ण, राधाकृष्ण, शङ्कराचार्य, सर्वेश्वर, गायत्री, हनुमान साथै स्वामी परमानन्द गिरीबाट निर्मित हरिहर आश्रमका साथै स्वामी डा. रामानन्द गिरीद्वारा स्थापित, सञ्चालित महेश आश्रम र गुरुकुल विद्यालय छन् ।
‘देवीगीता’को मूल स्रोत देवी भागवत् भएजस्तै श्रीमद्भागवत् गीताको उपजीव्य परिवेश महाभारत हो । यसप्रकारको आदिम गीतापछि अन्य गीताहरूका सूची पनि लामै नभेटिने होइन । अवधुतगीता, अष्टावक्रगीता, कपिलगीता, हंशगीता, भीक्षुगीता, उद्धवगीता, शिवगीता, गणेशगीता, रामगीता, कोमलगीता, गर्भगीता आदि । रामगीताकै मात्र विविध स्रस्टाहरू पनि भेनिन्छन्– रामदास, बदरीनाथ भट्टराई, कुसुमाकर सिलवाल, देवभक्त शर्मा, केदारनाथ आचार्य आदि । श्रीमद्भागवत् गीताको रचनाकाल खण्डबाट वर्तमानसम्म आइपुग्दा जे–जति गीता सिर्जिए ती नारी होइन पौरुषेय परिवेशमै आधारित भएको अनुभूत हुन्छ । यस परिपे्रक्षमा पनि डा. स्वामी रामानन्द गिरीबाट संरचित–देवीगीता बढी समयसापेक्ष र अत्यन्त समसामयिक कालजयी आध्यात्मिक, धार्मिक कृतिका रूपमा प्रस्तुत भएको अनुभूत हुन्छ । जब कि देवी, नारी, मातृशक्ति, महाकाली, महालक्ष्मी, महासरस्वती, सप्तमातृका तथा नवदुर्गा आदि सबै देवीकै विविध रूप नै त हुन् ।
यस परिपे्रक्षमा दैवीनारी देवी भागवत्को प्रथम उपदेष्टी, हिमालय कन्या हैमवतीबाट नि:सृत औपदेशिक ग्रन्थ–देवी भागवत्मा मात्र सीमित नरही गीतासँग पनि देवी समन्वित गर्दै– देवीगीताको बृहत् कलेवर सजाएर पस्कनु अत्यन्त सराहनीय कार्य हो । कुनै पनि रचनात्मक कार्यमा उत्पे्ररणाको भूमिका रहेको हुन्छ । स्वामीजीलाई देवीगीता सजाउन निरन्तर घच्घच्याइरहने मुख्य उत्पे्ररक हुनुहुन्छ– देवीप्रति सदैव अगाध आस्था राख्ने, भनुँ, देवीभक्त महिन्द्रध्वज सिंह र उहाँकी अर्धाङ्गिनी– सुभद्रा सिंह । करिब दुई दशक उतैदेखि देवघाट क्षेत्रमै, आफ्नो दैनिकी गुजार्दै आउनुभएका सिंहजोडीको महेश आश्रम तथा स्वामी डा. रामानन्द गिरीसँगको हेलमेल निकै गाढा भएको भेउ पाइएकै छ । र, महेश आश्रम, गुरुकुल र स्रस्टा गिरीको दैनिकीका साथै देवीगीता मुद्रणमा आर्थिक सहयोग एवम् अन्य व्यवस्थापकीय चाँजोपाँचो मिलाई उल्लेखनीय सहयोग जुटाउनेमा पनि महिन्द्रध्वज दम्पतीकै सराहनीय योगदान रहेको छ ।
दशम अध्यायसम्म तन्काएर २५८ पृष्ठमा पूर्णता दिइएको सिङ्गो देवीगीता देवीभागवत्कै सारसङ्क्षेपका रूपमा पदार्थमय, काव्यमय, भावमय र सन्देशमय बनेर प्रस्तुत भएको अनुभूत हुन्छ । प्रस्तुत कृतिको उत्तरार्धमा अर्थात् दशम अध्याय, पृष्ठ १४० मा तपस्याको उद्देश्य र मर्मबारे स्वयम् तपस्वी डा. गिरीका भावोद्गारहरू यस्ता भेटिन्छन्– ‘…तपस्या भनेको विधिपूर्वक आचरण गर्नु हो । शरीरलाई पीडित बनाउने अभ्यास होइन । दुसाध्य तपस्याले शरीरलाई बढी पीडित बनाउने भएकाले त्यो योगमा उपकारी छैन…।’ यसैगरी सप्तम अध्यायमा हिमालयलाई भक्तिका विकार सम्बन्धमा देवी माताबाट उद्गारित अंश यस्ता छन् । जुन समकालीन सामाजिक जीवनमा पनि अत्यन्त मार्गदर्शक एवम् व्यवहारमूलक लाग्छन् ।
परपीडां समुद्यिश्य दम्भं कृत्वा पुर: सरम्
मात्सर्यकोधयुक्तो यस्तस्य भक्तिस्तुतामसी ।
अर्कालाई दु:ख दिने उद्देश्यले गरिएको तामसीपूर्ण भक्ति । अझ भनूँ खासमा त्यो भक्ति नभएर अहङ्कारको चरम नमुना मात्र हो ।
शक्तिमाताको रूपमा मानिने सीतालाई रावणको पञ्जाबाट मुक्त गर्नसमेत रामले गरेको दुर्गाको आराधनाजस्ता त्रेतायुगीन रामकहानीसँग जोडिएका प्रसङ्ग यहाँ अत्यन्त सान्दर्भिक लाग्छन् नै । ‘… जसले भगवती मान्दैन, उसले सम्पूर्ण संसारलाई र आफैंलाई समेत मान्दैन…’ जस्ता स्वयम् गिरीका भावोद्गारहरू अत्यन्त सारगर्भित लाग्छन् ।
एउटा अर्को संयोगै भनूँ देवीगीतासँग जोडिएको यस्तो छ– केवलपुरे धरतीपुत्र–पुत्रीहरूमध्ये अघिल्लो वर्ष दिवङ्गत हुनुभएका चर्चित कवि देवीप्रसाद, देवीकाप्रसाद पौडेल (साहित्यमा, केवलपुरे किसान, हाल अमेरिकानिवासी, अर्को देवी सुविसुधा आचार्य (बिहेअघि सुशीला विडारी) चर्चित आख्यानकार र नेपाल सरकारका सचिव कृष्णहरि बाँस्कोटा मात्र हो र ! पङ्क्तिकारकी जननी पनि त यहीँकी चेली हुन् । त्यसैले देवीगीतामा डुबुल्की मार्ने सुअवसर सिंह जोडीबाट पाएकोमा पङ्क्तिकार भावविह्वल हुन पुग्छ । ०३६ मै दिवङ्गत जननी, देवीगीता सजाइदिने डा. स्वामी रामानन्द गिरी र देवघाट हुँदै केवलपुरको अतीतको झझल्कोले ।
कृति : देवीगीता
कृतिकार : स्वामी डा. रामानन्द गिरी
प्रकाशक : महेश संस्कृत गुरुकुलम महेश सन्न्यास आश्रम देवघाट, तनहुँ
प्रकाशन : २०६९, मूल्य : ३५०
ज्ञानबद्र्धक कृति ‘उपासना सारसङ्ग्रह’
नेपालको माटो प्रागऐतिहासिक कालदेखि नै धर्मपरायण रहँदै आएको छ । र, नेपाली जनजीवन पनि धर्ममय वातावरणमा आनन्दित हुन रुचाउने प्रवृत्तिको छ । विद्वान् अधिवक्ता पवित्रबहादुर खड्का (रामेछाप) ले नेपाल र नेपालीको अन्तरभावनालाई सम्बोधन हुने पठनीय कृति ‘उपासना सार सङ्ग्रह’ सार्वजनिक गर्नुभएको छ ।
यस कृतिभित्र स्वस्तिवाचन, सही बाटोका लागि ईश्वरसँग प्रार्थना, मंगलाचरण, गुरुबन्दना, प्रात: हात दर्शन, गणेश स्त्रोत, गणेश गायत्री मन्त्र, श्री गणेशको बन्दना, गणेश आरती, शङ्कनाशक गणेशस्तोत्र, ॐ मन्त्र, शिवबन्दना, शिवभजन, शिव गायत्री मन्त्र, नन्दीकेश्वर महादेवको आराधना, शिवनामको महिमा, शिव आराधना, महामृत्युञ्जय मन्त्र, शिवबन्दना, शिव आरतीलगायत विष्णुस्तोत्र, देवीको उपासना, देवीका विविध स्वरूपको स्तृति, अन्य केही स्तुतिहरू र केही नेपाली भजनहरू समेटिएका छन् ।
विभिन्न ग्रन्थहरूमा रहेका मन्त्रहरूको सारसङ्ग्रहलाई एउटै कृतिमा समेटिएको हुँदा आध्यात्मिक भावनाप्रति अभिरुचि राख्नुहुने सम्पूर्ण महानुभावका लागि कृति सङ्ग्रहणीय एवम् अध्ययनीय रहेको छ । अवश्यमेव, मानिसबाट गरेका हरकिसिमका धार्मिक क्रियाकलाप मनकै आधारमा त्यसको मूल्याङ्कन हुने हुँदा मनलाई आफ्नो वशमा कायम राखेर सर्वेश्वर भगवान्को भजनमा मन लगाउन चाहनेहरूका लागि पनि उपसना सारसङ्ग्रह महत्वपूर्ण छ ।
ऋषि–मुनि, साधु, सन्तजनहरूको पवित्र तपोभूमि हो नेपाल । भगवान् बुद्धले यही भूमिबाट विश्वलाई शान्ति र सद्भावको किरण छर्नुभयो । मूलत: नेपाल मन्दिरैमन्दिर र देवतैदेवताको देश भनेर विश्वपरिचित रहँदै आएको हो । पछिल्लो समय मुलुक भाँडभैलो हुँडुलोमा रुमल्लिरहन विवश भइरहेको छ । त्यसको प्रमुख कारण जनजनको मनमा ज्ञानको अभाव नै मूल कारण हो । यस्ता कृतिहरू पठन र प्रकाशनले समाजमा सकारात्मक भावना अभिवृद्धि गर्नका लागि महत्वपूर्ण सघाउ पुग्छ ।
यस कृतिभित्र सहस्रनाम, स्तुति र प्रार्थनाहरूको नेपाली अर्थसहित जीवनबोधसम्बन्धी केही भजन पनि समाविष्ट छन् । हरिहर सहस्रनामसहित पञ्चायन एवम् नवग्रहलगायत केही महत्वपूर्ण स्तुति, प्रार्थना र उपासनाका लागि समेत ‘उपासना सारसङ्ग्रह’ सबैका लागि लाभदायी छ । लेखक खड्काबाट आगामी दिनहरूमा पनि यस्तै ज्ञानोपयोगी कृतिको अपक्षा गर्न सकिन्छ । जसले गर्दा यस्ता धार्मिक भावनामा आधारित कृति अभावलाई पूरा गर्न सकोस् ।
– रामेश्वर राउत मातृदास
प्रतिक्रिया