हुण्डी कारोबारी भारतीयहरू प्रहरी नियन्त्रणमा

हुण्डी कारोबारी भारतीयहरू प्रहरी नियन्त्रणमा


सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार (हुन्डी)को कारोबार गर्दै आएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको लिंकरोडस्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा छापामारी प्रहरीले रु ५५ लाख ६४ हजारसहित चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्य कारोबारी भारत बिहार रक्सौल निवासी रितेशकुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिनुभयो ।

न्यू दक्षिणकाली अटोमोबाइल्सबाट अवैध रकम ओसारपसार हुने गरेको पूर्वसूचनाको आधारमा छापामारी गर्दा कारोबारमा संलग्न दुई दर्जन बैंकका चेकबुक, दुई बोरा खाता, छ थान मोबाइल र नगद बरामद भएपछि आवश्यक अनुसन्धानका लागि चारैजनालाई नियन्त्रणमा लिइएको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका मध्ये भारतीय नागरिक रितेश मुख्य कारोवारी र अन्य सहयोगी रहेकोे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । रितेशले वीरगन्जमा बुझेको रकम अवैधरुपमा अमेरिका, युएई, हङकङ, सिंगापुर, भारतलगायतको देशमा उपलब्ध गराउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अटोमोबाइल्सबाट बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको छ । पक्राउ परेकामाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

तस्बिर रासस