थोरै सिनेमा खेलेर पनि धेरै चर्चामा आउने नायिका हुन् विनिता बराल । उनले जम्मा दुईवटा सिनेमामा मात्र अभिनय गरिन्– चपलीहाइट र फुलस्टप । तर, अहिले कुनै पुरानी र स्थापित नायिकाभन्दा कम चर्चा छैन उनको । चपलीहाइटबाट नायिकाको भीडमा राम्रै हाइट बनाएकी विनिताको दोस्रो चलचित्र फुलस्टप शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यतिबेला उनलाई भन्न थालिएको छ कि फुलस्टप विनिता ।
० फुलस्टप नचलेको भए के हुन्थ्यो होला ?
– म कल्पना गर्न सक्दिनँ ।
० किन नि ?
– चपलीहाइट हिट भएपछि फुलस्टप झनै चल्नुपर्दथ्यो । चपलीहाइटको सफलतापछि मप्रति दर्शकहरूले बढी नै आशा राख्नुभएको थियो ।
० भनेपछि दर्शकको त्यो आशा पूरा भयो ?
– त्यही भन्नुपर्यो । फुलस्टपलाई मन पराइदिनुभयो । मेरो क्यारियरकै रिक्स थियो फुलस्टप ।
० फुलस्टप नचलेको भए विनिताको फिल्म क्यारियरमा नै फुलस्टप लाग्ने रहेछ, होइन त ?
– त्यो कुरामा त शङ्का नै छैन । फुलस्टपको सफलताले मेरो क्यारियर फुलस्टप लाग्नबाट जोगिएको छ ।
० फुलस्टप गर्ल भनेको के हो ?
– चपलीहाइट चल्दाखेरि मलाई मिडियाले नै चपलीहाइट गर्लको नाम दिएको थियो । अहिले फुलस्टप गर्लको नाम पाएकी छु । मलाई खुसी लाग्छ ।
० विनितालाई हट नायिका भन्छन् नि । के हो हट भनेको । विनितालाई छुँदा पोल्छ कि क्या हो ?
– छुँदा त पोल्दैन । मेरो चर्चा अनि एक्पे्रसनले गर्दा मलाई हट विनिता भन्नुभएको हो । यसमा मलाई आपत्ति छैन ।
० अनि सेक्सी नायिका भन्दा कस्तो लाग्छ नि ?
– सेक्सी हिरोइन भन्दा मलाई खुसी लाग्छ । सेक्सी भनेको नराम्रो होइन नि, यसमा त आकर्षण लुकेको हुन्छ ।
० सेक्सी भन्दा खुसी लाग्दा त कसैले सेक्सको प्रस्ताव राख्दा पनि आपत्ति छैन होला नि ?
– प्रस्ताव त राख्न सकिन्छ नि । तर, प्रस्ताव राख्नासाथ पाइहाल्ने चिज हो र त्यो । भन्नासाथ पाइहाल्ने हो भने सेक्सको महत्व कहाँ बढ्थ्यो र ? होइन त ?
० सेक्स प्रस्ताव राख्नेहरू त होलान् नि ?
– आम्मै ! किन नहुनु नि ? कति कति ।
० कसरी राख्छन् नि ?
– यसो भेटघाट गरौँ, घुम्न जाऊँ न भन्छन् । त्यसको मतलब त्यही त हो नि ।
अब ‘वाह’ होइन ‘छ्या’
बोली मीठो, व्यवहार पनि गजबकै अनि कुरा गर्दा मुस्कुराउनेजस्ता शालीन उपस्थिति नै गरिमा पन्त र सुमिना घिमिरेको पहिचान हुन् । सिनेमामा उनीहरूको कामको खासै चर्चा, हल्ला र उपस्थितिले अर्थ राख्दैन, तथापि यी दुईले फिल्म भने पाएको पाएकै छन् । सङ्ख्यात्मक रूपमा धेरै नै फिल्म पाए यिनीहरूले तर गुणात्मक भने यी दुईको पोल्टामा हात लाग्यो शून्य भयो ।
अभिनय क्षमता शून्य भए तापनि निर्माता, निर्देशकलाई आकर्षित गर्न सक्ने क्षमताका यी दुईको पनि यतिबेला कन्तविजोग नै छ । राम्रा ब्यानर, हिट निर्देशक र राम्रो कथा भएको सिनेमामा काम गर्दा पनि ‘वाह’ गर्न लायकको रिजल्ट दिन नसक्दा यी दुईलाई ‘वाह’ भन्ने फिल्म मेकरहरू यतिबेला ‘छ्या’ भन्न थालेका छन् । गोपीकृष्ण मुभिजले बनाएको थुप्रै सिनेमामा गरिमाले ‘एकल नायिका’को भूमिका पनि पाइन् तर ती चलचित्रको अवस्था ‘दिक्कलाग्दो’ नै भयो । अवसर त गरिमालाई नआएको होइन तैपनि उनी दर्शकप्रिय बन्न सकिनन् र अहिले गरिमालाई के छ त खबर भनेर सोधियो भने उनी भन्न गर्छिन्, ‘खासै केही छैन । नयाँ फिल्मतिर कुरा भइरहेको छ ।’ यो उनको रेडिमेड जवाफ हो ।
गोपीकृष्णजस्तो ब्यानर अनि शिव रेग्मीजस्ता सफल निर्देशकले बारम्बार दोहोर्याउँदा पनि दर्शकहरूको नजरमा दोहोर्याएर स्थापित हुन नसकेकी गरिमाको जस्तै हालतमा छिन् यतिबेला अर्की नायिका सुमिना घिमिरे । डान्स कल्चर समूहमा उफ्रँदा–उफ्रिँदै हिरोइन बनेकी सुमिना हिट जति चाँडो भइन् फ्लप पनि त्यति नै चाँडो भइन् । सुरुमा नै नेपाली सिनेमाका महानायक राजेश हमालको जोडी भएर काम गर्ने अवसर पाइन् उनले । तर, यो चलचित्रले उनको भाग्य कोर्न सकेन । यो चलचित्र थियो दुलही । यसमा शीर्ष भूमिकामा देखिएकी सुमिनालाई उनको व्यक्तिगत विवाहले पनि पछाडि धकेल्यो । ‘अगाडि ठिक्क पछाडि थुक्क भन्ने बानी नै अन्तत: सुमिनालाई घातक हुनसक्छ,’ सुमिनासँग काम गरेका भुक्तभोगीहरू यसै भन्छन् ।
सङ्ख्या मात्र बढाउने र हातमा आएजस्तै नछाड्ने प्रवृत्तिका कारण भीडमा गरिमा र सुमिना हराउँदै जान थालेका छन् बरु उनीहरूको अनुपातमा नयाँहरूले बाजी मार्न थालेपछि नामभन्दा पनि दामको पछाडि लाग्ने र क्षमताभन्दा सम्बन्ध र चाकडीको भरमा फिल्म पाउने प्रवृत्तिमा हुर्किंएका गरिमा अनि सुमिनाको यस्तै छ नयाँ खबर ।
‘फेरि हेर्ने मन छ’ कार्कीलाई
आफूलाई ठूलो पर्दाको चलचित्रका सर्जक भनाउँदाहरूले पनि त्यो ठाउँमा गएर चलचित्रको छायाङ्कन गरेका छैनन् तर चलचित्र निर्माता तथा वितरक कृष्ण कार्कीले भने आफ्नो रहर पूरा गर्न र भिडियोमा नयाँ लोकेसन देखाउन राम्रै खर्च गरेका छन् म्युजिक भिडियोका लागि ।
लामो समयदेखि चलचित्र निर्माण र वितरण क्षेत्रमा सक्रिय कृष्ण कार्कीले बजारमा एउटा एल्बम ल्याएका छन् ‘फेरि हेर्ने मन छ’ । जम्मा पाँचवटा गीत सङ्ग्रहित यो एल्बमको म्युजिक भिडियोमा छायाङ्कन इलाम, मिरिक, झापा र सिक्किमका रमणीय स्थानहरूमा गरिएको छ । ‘अहिले सिनेमाको गीतभन्दा म्युजिक भिडियोहरू स्तरीय हुन थालेका छन् । मैले पनि स्तर नघटोस् भनेर खर्च गरेको हुँ,’ कार्कीले भने । एल्बममा सङ्ग्रहित सबै गीत कार्कीले नै लेखेका हुन् भने प्रमोद खरेल, दीपक लिम्बू र ताराप्रकाश लिम्बूले गीत गाएका छन् । यतिबेला पाँचवटै गीतको भिडियो सङ्ग्रहित भीसीडी पनि बजारमा आइसकेको छ ।
प्रतिक्रिया