आफूले खनेको खाल्डोमा आफैं परे डीआईजी

आफूले खनेको खाल्डोमा आफैं परे डीआईजी


‘पश्चिम क्षेत्रका डीआईजी राजेन्द्रसिंह भण्डारीलाई अकुत सम्पत्तिमा अख्तियारले छानबिन सुरु गरेको कुरा थाहा पाउनुभयो ?’
यस प्रश्नले अहिले बजार पाएको छ । तर भण्डारीमाथिको कारबाहीमा कोही प्रहरीहरू दु:खी देखिँदैनन्, आखिर किन ? एक प्रहरीका साथी आपत्विपतमा पर्दा अर्को प्रहरीले भाइचाराका हिसाबले पनि चित्त दुखाउनुपर्ने हो । तर, भण्डारीको हकमा प्रहरीभित्र यो चित्तदुखाइ छैन, आखिर किन ? म यो प्रश्नको जवाफ खोज्दै छु र भण्डारी प्रहरी सङ्गठनभित्र यतिसम्म अलोकप्रिय हुनुको कारण पहिल्याउन कोसिस गर्दै छु ।
राजेन्द्रसिंह भण्डारीलाई प्रहरी बनाउने प्रमुख प्रशिक्षक म आपंैm थिएँ । कहिलेकाहीँ आजभोलि देखिने भण्डारीको छुद्रपन देख्दा मलाई लाग्छ सायद हामीले नै राम्रोसँग उनलाई तालिम र संस्कार प्रदान गर्न सकेनौँ कि ? तर, त्यो पनि यथार्थ थिएन । गहिराइमा पुगेर बुभ्mने हो भने यी व्यक्ति आज भ्रष्ट, षड्यन्त्रकारी र बद्मास प्रकृतिको कहलिनुमा हामीजस्ता प्रहरी प्रशिक्षकको गल्ती थिएन, गल्ती थियो यिनलाई प्रहरीमा ल्याउने व्यक्तिहरूको । यिनलाई प्रहरीमा ल्याउने आईजी हेमबहादुर सिंह र रणबहादुर चन्द थिए जो प्रहरीभित्र सबैभन्दा षड्यन्त्रकारी अधिकृतका रूपमा चिनिन्छन् । हेमबहादुर र रणबहादुरले नै तत्कालीन दरबारमा अधिराजकुमार धीरेन्द्रले राखेको केटीकाण्ड भजाएर रणबहादुरलाई प्रहरी प्रमुख बनाउन नेपाल प्रहरीका थुप्रै अधिकृतलाई विशेष प्रहरीमा पठाउने, मुद्दा लगाउने र खोस्ने गरेर ०४३ सालतिरै उत्पात मच्चाएका थिए । त्यतिबेला रणबहादुर चन्दले आफू माथि जानका लागि प्रतिद्वन्द्वीहरूलाई सखाप पार्न षड्यन्त्रको मद्धत लिन सकिन्छ भन्ने उदाहरण प्रहरी सङ्गठनसामु प्रस्तुत गरे । धेरै इमानदार प्रहरीहरूलाई विशेष प्रहरीमार्फत झुटो आरोप लगाउँदै फसाउन उनी त्यतिबेला सफल भए । त्यही समयबाट प्रहरीभित्र आप्mना प्रतिद्वन्द्वीलाई भ्रष्टाचार अनुसन्धान गर्ने निकायलाई भ्रममा पारी मुद्दा लगाएर हटाउने षड्यन्त्रको सुरुवात भएको हो । हेमबहादुर र रणबहादुर चन्दपछि त्यो घीनलाग्दो कार्य कसैले गरेका थिएनन् । तर, यसलाई दुर्भाग्य नै भनौँ कि ०५८ सालपछि त्यो बाटोमा राजेन्द्रसिंह भण्डारी हिँड्न पुगे ।
आधारभूत रूपमा राजेन्द्र भण्डारी राम्रै व्यक्ति हुन सक्छन् । तर, उनले माथि जाने उपाय रणबहादुर चन्दसँग सिके । उनी प्रतिद्वन्द्वीलाई मुद्दा लगाई आफ्नो बाटो खुला गर्ने दाउमा रहे । राजा ज्ञानेन्द्रले शरदचन्द्र शाहको ग्राण्डडिजाइनअनुसार प्रजातान्त्रिक नेता र प्रशासकलाई गोप्य सम्पत्ति आयोग गठन गरी अख्तियारमार्पmत भ्रष्टाचारको आरोप लगाउँदै थुन्ने योजना बनाए । त्यस ग्राण्डडिजाइनमा फसाउने अन्तिम लक्ष्य गिरिजाप्रसाद कोइराला थिए तर त्यहाँ हात हाल्नुभन्दा पहिला प्रहरी, अर्थ मन्त्रालय र गिरिजा क्याम्पबाट छुट्टिएको छत्तिसेहरूलाई पहिले हात हाल्ने रणनीति बन्यो । यसै रणनीतिअन्तर्गत चिरञ्जीवी वाग्ले, खुमबहादुर आदि मुद्दामा परे । प्रहरीमा हटाउनुपर्ने लिष्ट बनाउने जिम्मा प्रदीपशमशेर राणाको पालादेखि नै कोसिस भएको हो तर राणाले त्यो षड्यन्त्र बुझी त्यसमा साथ दिनुभएन । त्यसैले पछि यो कामको जिम्मा आईजी श्यामभक्त थापा र एआईजी राजेन्द्रबहादुर सिंहमा आयोे । उनीहरूले प्रहरीमा निर्मलीकरण गर्ने भन्ने रणबहादुरले प्रयोग गरेको शब्द प्रयोग गर्दै दर्जनौँ प्रहरी अधिकृतलाई अख्तियार वा अन्य उपायमार्फत हटाई प्रहरीभित्र एकछत्र राज गर्ने भित्री रणनीति बनाए । दरबारको खोल ओढेर सूर्यनाथलाई बेवकुफ बनाउँदै लक्षित प्रहरी अधिकृत फसाउने जिम्मा श्यामभक्त थापा एन्ड कम्पनीले यिनै राजेन्द्रसिंह भण्डारीलाई दियो ।
दरबारका लागि त्यसबेला काङ्ग्रेस प्रमुख दुश्मन थियो । त्यसैले सूर्यनाथले गिरिजालाई थुन्ने अन्तर्वार्ता दिन थाले । प्रहरीमा झुटा उजुरी बनाउने र अख्तियारबाट कार्यान्वयन गराउने काम राजेन्द्रसिंह भण्डारीमार्पmत गरियो । स्याडिस स्वभावका राजेन्द्रसिंह भण्डारीका नातेदार कान्तिपुर दैनिकसँग सम्बन्धित भएका कारण आप्mनो षड्यन्त्रलाई सफल गर्न सो पत्रिकालाई समेत गुमराहमा पारी समाचार निकाल्न भण्डारी सधंै सफल भए । इतिहासमा कहिल्यै नभएको अख्तियारबाट प्रहरी अधिकृतहरूको घरमा छापा मार्न लगाउने पनि यिनै थिए । यदि राजा ज्ञानेन्द्रविरुद्धको आन्दोलनमा पार्टीहरू एकबद्ध नभएका भए करिब एक हजार राजनीतिज्ञ र प्रशासकहरूलाई नियोजित रूपमा अख्तियारमार्फत फसाउने दरबारको रणनीति सफल हुने निश्चित थियो । जब दरबारको त्यो मिसन लिएर भण्डारी सूर्यनाथनजिक पुगे सूर्यनाथलाई पनि यो मिसन सफल पारेबापत अमेरिकाको राजदूत बनाइने आश्वासन थियो । राजेन्द्रसिंह भण्डारी र सूर्यनाथ दुवै स्याडिस प्रवृत्तिका (अरूले दु:ख पाएको देख्दा खुसी हुने) व्यक्तिहरू भएकोले यिनको जोडी खुब जम्यो र यिनले त्यति नै बेला खुब धन पनि कमाए ।
दरबारको खोल ओडेपछि ज्ञानेन्द्रको शासनमा जे गरे पनि प्रश्न उठाउने कोही थिएनन् । यसको फाइदा लिँदै राजेन्द्रसिंह भण्डारीले प्रहरी कार्यालयबाहिर रहने आप्mना गोप्य दस्ता तयार गरे जसलाई पछि सीबीआई नाम दिन उनी सफल भए । त्यो दस्तानै झुटा उजुरी हाल्न र अख्तियारलाई भ्रममा पार्न र तर्साएर रकम उठाउन त्यतिबेला सक्रिय थियो । जब उनी प्रहरीका महानिरीक्षकलाई पनि सूर्यनाथको आडमा तर्साउन सफल हुन थाले त्यसपछि उनको धुन धन कमाउनेतर्फ मोडियो । उनले ठूला उद्योगपति, व्यापारी र अन्तर्राष्ट्रिय सङ्गठित अपराधीहरूलाई तर्साउँदै यदि पैसा नदिए कारबाही गर्छु भन्दै भित्रभित्रै धम्की दिन थाले । सबैको टेलिफोन ट्याप गर्ने अधिकार दरबार र अख्तियारमार्फत प्राप्त गरेपछि भण्डारीले भीओआईपी कलबाट सञ्चार केन्द्रहरूलाई भएको क्षति रोक्ने नाममा भीओआईपी सञ्चालकहरूलाई ट्रयापमा पारी प्रतिव्यक्ति पचास लाखसम्म उठाउन थाले । जब कलहरू ट्याप गर्ने अधिकार प्राप्त भयो त्यसपछि यिनले शक्तिकेन्द्रहरूमा विरोधीहरूको टेलिफोन सुनाउँदै राजनीतिक नेता, मन्त्रीहरू र उच्च प्रशासकहरूलाई प्रभाव पार्न थाले । प्रहरी सङ्गठनभन्दा बाहिरै अफिस राखेर दस्ता बनाई उजुरी छ भन्दै क्रिकेटका बुगीदेखि लिएर हुण्डीवाला र फरार अपराधीहरूसँग समेत प्रशस्त रकम उठाउन थाले । भारतीय ‘र’ एजेन्टलाई पनि यस्तै मानिसको आवश्यकता थियो, त्यसैले यिनी ‘र’को एजेन्ट बनाइए र पाकिस्तानी एजेन्ट भनिएकाहरूलाई हत्या गराउन मोहराका रूपमा प्रयोग गरिए भन्नेहरू पनि छन् । अत: नेपालभित्र भएको मुस्लिमहरूको हत्यामा भण्डारी संलग्न हुँदै आएको व्यापक चर्चा पत्रपत्रिकामा पहिल्यैदेखि नै चल्दै आएको थियो । स्थिति यस्तोसम्म बन्यो कि दरबारको आडमा सूर्यनाथलाई बेवकुफ बनाउँदै अख्तियारको शक्ति प्रयोग गरेर प्रहरी बलको दुरुपयोग गरी गृहमन्त्री र प्रधानमन्त्रीलाई टेलिफोन ट्याप सुनाउँदै नातेदारको पत्रपत्रिकामा झुटा सूचना प्रकाशित गरी यी व्यक्ति प्रहरीभित्र पनि आप्mना सिनियरहरूलाई उछिन्दै माथि आउन सफल भए । भण्डारीको लक्ष्य माथिकालाई बद्नाम गर्दै, सँगैकालाई भुटा मुद्दा लगाउँदै, प्रतिद्वन्द्वीलाई नजिकको पत्रिकामार्फत विवादमा ल्याउँदै, कमाएको अथाह रकमले प्रहरीमा महानिरीक्षक बन्ने र पैसाकै बलमा अवकाशपश्चात् अख्तियारको आयुक्त भई बाँचुन्जेल सफेदपोस अपराध गरी अथाह धन कमाइनै रहने थियो । तर, भगवान्ले के चाहेका छन् त्यो कुरा आउने दिनले बताउला ।
राजाको शासन गएपछि आईजीपी ओमविक्रम राणाले यिनलाई त्यो गोप्य दस्ताबाट जुम्ला सरुवा गरिदिए । जुम्ला पुग्दा अथाह पैसा कमाई सबैलाई षड्यन्त्रमा पार्ने जीवनचर्या भएका भण्डारी चुप लागेर बस्न सक्ने कुरा थिएन । जब सुदूरपश्चिमका रमेश चन्द आईजीपी भए त्यसपछि पुन: उनी गोप्य दस्तामा फर्कन सफल भए र ओमविक्रम राणालाई त्यही रिसमा सुडान काण्डमा षड्यन्त्रमूलक ढङ्गले फसाउन अघि बढे । त्यतिबेला पनि उनले त्यही घानमा आप्mना समूहका साथीभाइहरूलाई समेत अख्तियारमार्फत मुद्दा दर्ता गराई बद्नाम गर्न सफल भए । रमेश चन्दको पालाभरि भण्डारी सीबीआई भन्ने प्रहरी ऐनमै नभएको दस्ता प्रहरी प्रधान कार्यालयमा स्थापना गरी पुन: बाहिर–बाहिर पैसा उठाउन ‘र’को काम गर्न सक्रिय भए । ०६८ सालसम्म आइपुग्दा उनमा यति धेरै पैसा र हौसला बढिसकेको थियो कि उनले आगामी एआईजीहरूको पदोन्नतिमा चौध महिना सिनियरहरूलाई उछिनेर त्यस पदमा पुग्ने सपना देख्न थाले । घमण्ड यति बढिसकेको थियो कि उनको क्षेत्रमा एआईजी जाँदा पनि भेट्नसम्म आउँदैनथे । आफूलाई पुलिसको महान् अधिकृत ठान्ने उनको भ्रम निकै बढिसकेको थियो । त्यसैले यसैपालि एआईजी बन्ने मिसनमा उनी पोखराबाट काठमाडौं आएर यहाँ अरू सबै अधिकृत भ्रष्ट र नालायक छन् म मात्र काविल छु भन्ने भ्रम छरिरहेका थिए । यो सब दृश्य देखिरहेका हजारौँ प्रहरीले जब एक्कसि राजेन्द्रसिंह भण्डारीमाथि अकुत सम्पत्ति कमाएको अनुसन्धान अख्तियारले सुरु गरेको थाहा पाए त्यसपछि एकले अर्काेलाई यो सूचना सुखद ढङ्गले सुनाउने होड नै चलेछ । अब प्रहरीहरूको एउटै भनाइ सुनिन्छ– अख्तियारलाई धेरै दिन बेवकुफ बनाउन गाह्रै पर्दोरहेछ ।
अब राजेन्द्र भण्डारीको वास्तविकता बाहिर आउला । एउटा सुदूरपश्चिमको डाँडामा जन्मिएर काठमाडौंका डेरामा बस्ने भण्डारीको आर्थिक औकात यहाँसम्म आज कसरी पुग्यो ? अख्तियारले यो प्रश्नको जवाफ पक्कै खोतल्ला । त्यस समयका सूर्यनाथले पनि भण्डारीको यथार्थ चरित्र बुभ्mने मौका पाउलान् । राजेन्द्र भण्डारीले चलाएका गोप्य दस्ताहरूमा काम गर्ने कर्मचारीहरूको पनि आर्थिक हैसियत अख्तियारबाट छानबिन होला ? जे होस्, ढिलै भए पनि राजेन्द्रसिंह भण्डारीमाथिको अकुत आर्जनको छानबिन अख्तियारले अघि बढाएको सही अनुसन्धान हो भन्ने नै प्रहरी धेरै छन् । भण्डारीे जहिले पनि प्रहरीका तल्ला कर्मचारीलाई साना साना गल्तीहरूमा जागिर खोस्दै आफ्ना सफेदपोस अपराधहरू लुकाउन र समाजमा इमानदार भएको प्रमाण देखाउन सफल नै भइरहेका थिए । तर, त्यो रणनीतिको पनि एक दिन त अन्त्य हुनु नै थियो । सायद त्यो अन्त आएजस्तो छ ।
यद्यपि आफ्नै चेला रहेका भण्डारीका सम्बन्धमा कुनै नराम्रा कुरा लेख्नुपर्दा मेरो कलम खुसी छैन । अख्तियारको अनुसन्धानले उनी चोखो ठहरिएमा मलाई खुसी नै लाग्नेछ किनकि भण्डारी एक प्रहरी मात्र नभएर मैले काम गरेको पूरै प्रहरी सङ्गठनको इज्जतसँग जोडिएका छन् । उनले अल्पज्ञान, घमण्ड, लोप र उच्च महत्वाकाङ्क्षाका कारण प्रहरी सङ्गठनको मानमर्दन गर्न जतिसुकै अक्षम्य अपराध गरेका भए पनि जिम्मेवार बहालवाला वा भूतपूर्व प्रहरीहरू प्रहरी सङ्गठनको लाज बचाउन सधैँ नै क्रियाशील रहिरहने छन् । सबै प्रहरीहरूको अहिले एउटै भनाइ छ– भण्डारी अहिले जुन खाडलमा परेका छन् त्यो खाडललाई खन्ने पनि यिनै थिए ।