प्रदेश नं १ को सभामुखमा भण्डारी निर्विरोध

प्रदेश नं १ को सभामुखमा भण्डारी निर्विरोध


प्रदेश नं १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एक मात्र उम्मेदवार रहेका प्रदीपकुमार भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो ।

ज्येष्ठ सदस्य एवं सभाका सञ्चालक सरावगीले प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेलाई सभामुख पदका एक मात्र उम्मेदवार भण्डारीको प्रस्ताव पेश गर्न निर्देशन जारी गरेपछि प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात् गरी संयुक्त वाम गठबन्धनको तर्फबाट प्रदीपकुमार भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६(१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राखे ।

सभा सञ्चालक ज्येष्ठ सदस्यको निर्देशअनुसार प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले स्वतन्त्र र निष्पक्ष ढंगले प्रदेशसभा सञ्चालनका लागि सभामुखको आवश्यकता रहेकाले प्रदेश सदस्य न्यौपानेको प्रस्तावलाई समर्थन गर्न प्रस्ताव टेबुल गरे ।

प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेपछि ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित भएका घोषणा गरेका हुन् ।

प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा शुरु भएर १ बजेर ३५ मिनेटसम्म सञ्चालन भएको राससले जनाएको छ । प्रदेशसभाको दोस्रो बैठक आजै अपराह्न ४ बजे फेरि बस्दै छ।