कांग्रेस नेतृत्व बिदा लिने कि ?—राजेश ढुंगाना

कांग्रेस नेतृत्व बिदा लिने कि ?—राजेश ढुंगाना


बितेका एक सातालाई छाडेर त्यसअघिका तीन साता लगातार नेपाली कांग्रेसका सम्बन्धमा चर्चा गरियो । ती चर्चाहरू के–कस्ता भए र त्यसको प्रभाव के पर्‍यो भन्ने कुरा त पाठकहरूले मूल्याङ्कन गर्ने कुरा हो । तर पनि त्यसपछि लगत्तै एउटा दैनिक पत्रिकाले एक दिनको अङ्क लगभग कांग्रेस विशेषाङ्कजस्तै निकाल्नुमा हाम्रै प्रभाव मान्न सकिन्छ । यस अर्थमा साप्ताहिक पत्रिकाहरूको उपयोगिता र प्रभाव अझै पनि नसकिएको प्रमाणित हुन्छ ।
त्यसो त नेपाली कांग्रेसको चर्चा कहीँ कतै पनि हुनु कुनै नौलो विषय होइन । यसको उत्थान मात्रै चर्चाको विषय बन्दैन । पतन पनि चर्चाकै विषय हुन्छ । किनकि यो इतिहास बोकेको पार्टी मात्र होइन । स्वयम् इतिहास हो । यस्तो इतिहास जसले भविष्य बोक्नका निमित्त वर्तमान पनि बोकेको मानिन्छ ।
त्यसैले यतिबेला दिनानु दिन कमजोर हुँदै गएको कांग्रेसको वर्तमान र भविष्यलाई लिएर मुलुकको आमप्रजातान्त्रिक चर्चा उग्ररूपमा चिन्तित छ । साँच्चै भन्ने हो भने नेतृत्वभन्दा कार्यकर्तापङ्क्ति, कार्यकर्तापङ्क्तिभन्दा समर्थकहरू बढी चिन्तित छन् ।
तर एउटा कुराचाँहिँ के निश्चित हो भने नेतृत्वले आफूलाई सुधार नगरीकन कांग्रेसले नवजीवन पाउन असम्भव छ । वैयक्तिक स्वार्थका निमित्त नेतृत्वले जबसम्म पार्टीको मुटुमा लात हिर्काउने घीनलाग्दो खेल खेलिरहन्छ तबसम्म पार्टी रोगी–जीर्ण भइरहन्छ । एकजनाको कुरा छैन । सुशील, रामचन्द्र, शेरबहादुर तीनैजनाको विवेकको बिर्को नखुल्ने हो भने कांग्रेस मारेको अभियोग उहाँहरूले तीनैजनाले आफ्नै जीवनकालमा भोग्नुपर्नेछ । तसर्थ पार्टीलाई स्वाभाविक गतिमा चल्न दिनुस्– त्यसैमा तपाईंहरू सबैको भलो छ ।
मान्छे हो भने त बारम्बारको कोर्रा खुवाइबाट चेत्नुपर्ने हो । तर, कांग्रेस नेतृत्व किन चेत्दैन ? कतिसम्म लबस्तरो हुने ? यसको एउटा सिमाना हुनुपर्ने होइन र ?
ठीक छ ल… तपाईंहरूलाई लाज नहोस् । तर, तपाईंहरूको कारणले कांग्रेसको मृत्यु भएका दिन कार्यकर्ता र आमप्रजातन्त्रवादीले सडकमा घिसारेर थुक्छन् भन्ने हेक्का छ कि छैन ? तपाईंहरूलाई हेक्का नभए पनि कांग्रेसका बहादुर कार्यकर्ताहरू र महान् नेपाली प्रजातन्त्रवादी जनताले त्यसो गर्दछन्– गर्नेछन् । यति पनि गरेनन् भने महान् प्रजातान्त्रिक आन्दोलनको घोर अपमान हुनेछ ।
अनाहकमा तपाईंहरूलाई आक्षेप लगाएको होइन । तपाईंहरू पूर्णत: अक्षम प्रमाणित भइसक्नुभएको छ । जब के ओगटेर बस्ने ? तपाईंहरूको वैयक्तिक प्राप्ति र तुष्टिलाई कतिन्जेल पार्टीको गर्धन रेटिरहने ? तपार्इंहरूले पार्टीलाई र देशलाई दिन बाँकी के छ त भन्नुस् न त आफैं ! छैन नि केही । छ भने केवल भकभके–चकमके स्वर भविष्यको आवाज । तीनवटैमा कुनै आकर्षण छैन । विद्वता त तपाईंहरूको जन्मसिद्ध विरोधी भइगयो । इमान स्वार्थको भुत्भुतेमा पोलिखानुभयो, छ के तपाईंहरूसँग ?
तै पनि किन बिदा लिनुहुन्छ । एकपटक तपाईंहरूको बिदाइको बिन्दुबाट कांग्रेसले नयाँ यात्रा थाल्न सक्छ कि ?