पेस्तोल देखाएर आतङ्क मच्चाउने सई प्रहरीको नियन्त्रणमा

पेस्तोल देखाएर आतङ्क मच्चाउने सई प्रहरीको नियन्त्रणमा


राजधानीको दरबारमार्गमा स्थित आई क्लवमा पेस्तोल देखाएर आतङ्क मच्चाउने नेपाल प्रहरीका नायब निरीक्षक राजकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी दरबारमार्गस्थित आई क्लवमा पेस्तोल देखाएर आतङ्क मच्चाएको  आरोपमा सई श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान २ बजेतिर सादा पोशाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको आरोप छ । पेस्तोलसहित अन्य २ जना साथी लिएर सई श्रेष्ठ क्लव पुगेका थिए । उनले सञ्चालक र ग्राहकहरूसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ ।

विवाद गर्दै गरेका सई श्रेष्ठलाई तत्काल पुगेको दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रेष्ठ बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा भेटिएका थिए । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।

केही दिन अगाडि दरबारमार्गको एक होटेलमा युवतीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका थिए । सोही काण्डमा फसेका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परेका थिए ।

सो घटना सेलाउन नपाउँदै प्रहरीका अर्का सई पक्राउ परेका हुन् । यसरी प्रहरीका जवान नै एक पछि अर्को घटनामा मुछिदा प्रहरीप्रति गरिने विश्वासमाथिनै प्रश्न उठ्न थालेको छ ।