दक्षिणपूर्व क्षेत्रीय तमूधिं, लण्डनको च्यारिटी डिनर

दक्षिणपूर्व क्षेत्रीय तमूधिं, लण्डनको च्यारिटी डिनर


लण्डन । हिजो शनिवार, ८ सेप्टेम्बर २०१२को दिन वेलिङ लण्डनस्थित फाल्कोन कम्युनिटी सेन्टरमा नेपालीहरुको सामुदायिक भवन निर्माणका लागि दक्षिणपूव क्षेत्रीय तमूधिं, लण्डनले च्यारिटी डिनर अत्यन्त भव्यताको साथ सम्पन्न गरेका छ । समाजका अध्यक्ष क्याप्टैन रिटायर्ड नारायन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न च्यारिटी डिनर कार्यक्रमलाई समाजका महासचिव डमर गुरुङले कार्यक्रमबारे प्रकाश पार्दै कार्य अवधिभरि सुरक्षासम्बन्धी ख्याल राख्नु पर्ने कुराहरु प्रकाश पारेका थिए । समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङले एउटा चट्कुला सुनाउँदै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई सदाझैं उद्घोषक सूर्य गुरुङले रोचकतापूर्वक सञ्चालन गरेका थिए तथा यस कार्यक्रममा लटरी (भाग्य चिट्ठा) खेल पनि समावेश थियो जसलाई योगेश गुरुङले निकै रमाइलो गरी सञ्चालन गरेका थिए । चिट्ठा पर्ने जति सबैलाई एउटा मीठो संगीतको धूनमा नृत्य गर्ने अनुरोध गरेका थिए जुनचाँहि रोचकपूर्ण भएको थियो । तालीको गडगडाहटबीच सम्पन्न यो कार्यक्रममा निकै धेरै अतिथिहरु सामेल थिए ।
तमुधिं यूकेका अध्यक्ष मुक्षेत्र गुरुङ, महासचिव ज्ञाम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, यूबीएसका सेक्रेटरी म्यानेजर ड्यारेन स्मिथ तथा उनकी श्रीमती एम्मा स्मीथ, गैर आवासीय संघ बेलायत च्याप्टरका उपाध्यक्ष महेन्द्र कँडेल, नेपाली बिजनेस एसोसिएसनका अध्यक्ष नरेन्द्र कण्डेल, नेपालिज फोरम ग्रीनबीचका अध्यक्ष डाक्टर राम अधिकारी, गुर्खा एसोसिएसनका भुशन राई, थकाली समाजका दीपक शेरचन, नेपाली मन्दिर, प्लमस्टिडका अध्यक्ष होमनाथ शर्मा, चारभञ्ज्याङ समाजका अध्यक्ष ले.रि.चन्द्र गुरुङ, क्षेत्री समाजका विनोद ज्ञवाली, पाशापूचा समाजका उपाध्यक्ष चुत्र श्रेष्ठ, जनजाति महासंघका विदेश विभाग प्रमुख महेन्द्र बहादुर क्षेत्री तथा अन्य धेरै बौद्धिक क्षेत्रका गन्यमान्य व्यक्तित्वहरुको भेला रहेको थियो । यस कार्यक्रममा स्थानीय कलाकारहरुको एकदमै उत्कृष्ट प्रस्तुति रहेको थियो । रियाज व्याण्ड र कोशेली ब्याण्डको संयुक्त प्रस्तुतिमा पञ्चेबाजा र आधुनिक गीतहरुको प्रशंसनीय प्रस्तुति थियो ।
यसै अवसरमा डाक्टर सुदर्शन गुरुङले राष्ट्रियताको गरिमा बढाउने एउटा राष्ट्रगीत र भजन शिरोमणि भक्तराज आचार्यको गीत गाएर दर्शक दीर्घालाई थप रमाइलो प्रदान गरेका थिए । समाजकी चेली भावना गुरुङ तथा अन्य नृत्य कलाकारहरुले आ-आफ्नो नृत्य कौशल प्रस्तुत गरेका थिए । समाजका अध्यक्षले आफ्नो मन्तव्य प्रकट गर्नेक्रममा सबैलाई नबिर्सिकन एकएक गरी धन्यवाद ज्ञापन गरेका थिए । अतिथिहरुलाई प्रतिनिधित्व गर्दै तमूधिं यूकेका अध्यक्ष मुक्षेत्र गुरुङले सामुदायिक भवन निर्माण गर्ने कार्य सजिलो छैन तर सबै मिलेर अघि बढे यो सम्भव छ भन्दै आफ्नो अग्रिम शुभकामना प्रकट गरेका थिए । सामुदायिक भवनका संयोजक श्रीचन्द्र गुरुङले सामुदायिक भवनबारे हालसम्म सङकलन् भएको रकम र भविष्यमा गरिने कार्यहरुबारे प्रकाश पारेका थिए । हिजोको च्यारिटी डिनर कार्यक्रमबाटमात्र ६ हजार पाउण्डभन्दा बढी रकम उठेको कुरा संयोजक श्रीचन्द्र गुरुङले स्तम्भकारलाई बताएका छन् । हालसम्म एकलाख पाउण्ड जतिको रकम सामुदायिक भवन निर्माणका लागि उठिसकेको कुरा संयोजकले बताएका छन् । यस कार्यक्रममा सहभागी सबै कलाकारहरुलाई खादा तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो । श्रोत – सुमल, मेस ।