‘कुराँस’मा छानबिन समिति गठनको माग

‘कुराँस’मा छानबिन समिति गठनको माग


– श्रीविक्रम भण्डारी

गत साता राष्ट्रिय खेलकुद परिषद्को कारबाहीमा परेका निवर्तमान नेपाल कुराँस सङ्घका अध्यक्ष दानबहादुर घिसिङले कुराँस सङ्घको विवाद र परिषद्ले गरेको विघटन सम्बन्धका छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । गत नोभेम्बरमा कोरियामा सम्पन्न युथ मास्टरसिप कुराँस च्याम्पियनसिपमा गैरखेलाडी लगेर उतै छोडेको आरोपमा घिसिङलाई राखेपले कारबाही गर्दै कुराँस सङ्घ नै विघटन गरेको थियो । गत साता परिषद्ले कुराँस सङ्घ विघटन गर्दै पूर्वमहासचिव ध्रुवराज न्यौपानेको संयोजकत्वमा तदर्थ समिति गठन गर्दै तीन महिनाभित्र निर्वाचन गर्न निर्देशनसमेत दिएको छ ।

स्मरणीय छ, युथ मास्टरसिप च्याम्पियनसिपमा दुईजना खेलाडी कृष थापा र गौरव घर्तीमगरसँगै प्रशिक्षकमा चन्द्र बुढामगर र व्यवस्थापकमा सङ्घकै वरिष्ठ उपाध्यक्ष राजेन्द्र लौडारी कोरिया गएका थिए । तर, कृष थापा प्रतियोगितापश्चात् स्वदेश फर्के पनि अन्य तीनजना कोरियामा नै हराएका थिए । कोरिया हराएका खेलाडी र पदाधिकारी तीन महिनासम्म नफर्किएपछि कुराँस सङ्घका अध्यक्ष घिसिङले सङ्घलाई म्यानपावरको धन्धामा परिणत गरेको भन्दै राखेपले सङ्घ नै विघटन गरेको थियो ।

राखेपले कारबाही गर्नुअघि कुराँस सङ्घकी पूर्वउपाध्यक्ष प्रतीक्षा खरेलले सङ्घलाई जानकारी नै नदिई अध्यक्ष घिसिङले आफूखुसी खेलाडी छनोट गरेर युथ मास्टरसिप च्याम्पियनसिपमा लगेको आरोप लगाउँदै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएकी थिइन् । त्यस्तै महासचिव न्यौपानेले पनि आफूलाई यो च्याम्पियनसिपबारे कुनै जानकारी नभएको बताएका थिए ।

तर, विडम्बना, उनीहरूले सञ्चारमाध्यममा दिएको प्रतिक्रिया यतिबेला झुटो साबित भएको छ । गैरखेलाडी सहभागिताको सम्बन्धमा पनि खेलाडीले आफू कुराँसको खेलाडी भएको र सहभागिताका लागि पहल गरिदिन भनी सङ्घका अध्यक्षलाई सम्बोधन गरेर दिएको निवेदनले पनि यसलाई प्रस्ट पार्छ । ती खेलाडीले सङ्घमा ०७४ कात्तिक १६ गते दिएको निवेदनमा वल्र्ड युथ मास्टरसिप च्याम्पियनसिपमा सहभागिताका लागि निजी खर्चमा जाने र निश्चित समयमा स्वदेश फर्किने भनेर प्रस्ट रूपमा लेखेका छन् ।

उक्त पत्रमा दुवै खेलाडीले हस्ताक्षर गर्दै सम्पर्कका लागि मोबाइल नम्बरसमेत दिएका छन् । जसमा कृषको मोबाइल नम्बर ९८६१९१९२४९ र गौरवको ९८१५१३१००३ उल्लेख गरिएको छ । स्मरणीय छ, कृष र गौरवले च्याम्पियनसिपमा सहभागिताका लागि निवदेन दिए पनि आफू कुराँसको खेलाडी भएको कतै दाबी भने गरेका छै्रनन् ।

प्राप्त जानकारीअनुसार युथ मास्टरसिप च्याम्पियनसिपमा सहभागिता जनाउने सम्बन्धमा नोभेम्बर १, २०१७ अर्थात् २०७४ कात्तिक १५ गते कुराँस सङ्घको बैठक सङ्घको केन्द्रीय सचिवालय काठमाडौं जिल्ला खेलकुद विकास समितिको कार्यालय सानो गौचरणमा बसेको वैठकले निर्णय गरेको थाहा भएको छ । उक्त बैठकमा अध्यक्ष दानबहादुर घिसिङ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र लौडारी, उपाध्यक्ष प्रतीक्षा खरेल, महासचिव ध्रुवराज न्यौपाने र सहसचिव सुरज खत्रीको उपस्थिति रहेको थियो । उक्त सातजनाको कार्यसम्पादन समितिमा पाँचजनाको उपस्थिति रहेको अध्यक्ष घिसिङले जानकारी गराएका छन् ।

तर, पछि सङ्घका केही पदाधिकारीले आफूलाई खेलाडीको सहभागिताबारे कुनै पनि जानकारी नभएको बताए । त्यो अहिले चासो र खोजीको विषय बनेको छ । आफैँ निर्णय गर्ने अनि आफैँलाई थाहा छैन भनेर पन्छिन खोज्नुको पछाडि के रहस्य लुकेको छ– त्यसको पर्दाफास राखेपले गर्नुपर्ने देखिन्छ । खेलाडी र पदाधिकारीहरू कोरियामा लुकेपछि विवादबाट बच्न उनीहरूले यस्तो बयान दिएका हुन् भने पनि सत्यता के हो त्यसबारे राखेपलाई जानकारी गराउनुपथ्र्यो ।

अन्यथा राखेपले सङ्घलाई विघटन गर्दासमेत ‘चँु’समेत नबोल्नुका पछाडि कतै सङ्घमाथि हस्तक्षेप गर्न यस्तो षड्यन्त्र रचिएको त होइन, प्रश्न खडा भएको छ । अहिले यसको निशानामा उपाध्यक्ष खरेल र महासचिव न्यौपाने परेका छन् । यो घटनापश्चात् उनीहरूले आफूलाई दूधले नुहाएको व्यक्तिको रूपमा प्रस्तुत गरे पनि यदि राखेपले छानबिन कमिटी गठन ग¥यो भने वास्तविकता के हो ? त्यो सार्वजनिक हुने घिसिङको दाबी छ ।

दक्षिण कोरियामा कुराँसका एक खेलाडी र दुईजना पदाधिकारी उतै अलप भएपछि राखेपले कुराँस सङ्घप्रति गरेको कारबाही नियम–कानुनबमोजिम थियो कि प्रतिशोधको ? अध्यक्ष घिसिङले प्रमाण हेर्दा त्यसको पनि छानबिन हुनुपर्ने देखिन्छ । यसर्थमा कि अहिले गैरखेलाडी भनिएका ती खेलाडीलाई अध्यक्ष घिसिङ, उपाध्यक्ष खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले बिदाइ गरेका छन् । जसलाई लेखमा राखिएको फोटोले पनि प्रस्ट पार्छ । यस्तो अवस्थामा उपाध्यक्ष खरेलले कसरी आफूलाई कुुनै जानकारी नभएको बताइन्– त्यो आफैँमा प्रश्नवाचक बनेको छ ।

अर्को कुरा, राखेपका सदस्यले बिदाइ गर्दासमेत सदस्यसचिव विष्टले त्यसबारे अनविज्ञता प्रकट गर्नु र २४ घन्टै स्पष्टीकरण सोधेर सङ्घ नै विघटन गर्नु विडम्बनाको विषय बनेको छ । यसले कुराँस सङ्घलाई मात्र नभई विष्टलाई समेत विवादमा नतान्ला भन्न सकिँदैन । सङ्घलाई विघटन गर्नुभन्दा पहिले सदस्यसचिव विष्टले छानबिन समिति गठन गरेको भए राम्रो हुन्थ्यो, यसर्थमा कि जुन नियमसम्मत हुन्थ्यो । आरोपीले सफाइको मौका पाउँथ्यो भने कानुनले आफ्नो उपचार गथ्र्यो । तर, कुराँस सङ्घबारे यस्तो भएन, किन भएन त्यसको जवाफदेही अब राखेप बनेको छ । किनकि खेलकुदमा म्यानपावरको धन्धा गर्दै आइरहेका सङ्घ र व्यक्तिहरूमाथि न राखेपले अङ्कुश लगाउन सकेको छ न अहिलेसम्म कुनै कारबाही । त्यसैले नाङ्लो ठटाएर हात्ती तर्साउने राखेपको यो छेरुवा दाउ केही व्यक्तिविशेषका लागि फाइदाजनक देखिए पनि खेलकुदको विकासका लागि ‘आया राम, गया राम’ जस्तो हो भन्दा अतिसयोक्ति नहोला ।

‘कुराँस सङ्घले खेलाडी र पदाधिकारीहरू कोरिया पठाएको हो, यसमा मेरो मात्र नभई अन्य पदाधिकारीको पनि उत्तिकै भूमिका छ । तर, म कुराँस सङ्घको अध्यक्ष भएको नाताले खेलाडी र पदाधिकारी कोरियामै लुकेपछि मैलै जिम्मेवारी लिनुपर्छ । त्यसैले मैले सङ्घका साथीहरूलाई मौखिक रूपमा राजीनामा दिनेसमेत भनिसकेको छु । तर, यसको मतलब मैले खेलकुदमा मैले म्यानपावरको धन्धा गरेर, आर्थिक लाभ लिएर राजीनामा दिने कुरा गरेको होइन । मैले नैतिकताको आधारमा राजीनामा दिने कुरा गरेको हुँ,’ घिसिङले भने ।

तर, अहिले पासा पल्टेको छ, घिसिङले राजीनामा दिने चर्चा चलिरहेको बेलामा राखेपले कुराँस सङ्घ विघटन गरिदिएको छ । जसको अहिले राजनीतिक गन्धसमेत आएको छ । त्यसैले घिसिङले भने, ‘मैले कुनै खेलाडीसँग एक रुपैयाँ पनि लिएको छैन, लिएको प्रमाणित भए वा दोषी ठहरिए जस्तोसुकै कारबाही सहन तयार छु ।’ त्यसका लागि राखेपले छानबिन समिति गठन गर्नुपर्ने र छानबिन समितिले आफूलाई दोषी ठहराए खेलकुदको नियम–कानुनअनुसार कारबाही सहने बताएका छन् ।

त्यस्तै, आफूले यसबारे सदस्यसचिव विष्टसँग कुरा गरेको बताउँदै विष्टले छानबिन समिति गठन गर्ने बताएको जानकारी गराएका छन् । अब कुराँसको विवाद ‘बल’ सदस्यसचिव विष्टकै कोर्टमा पुगेको छ । अब विष्टले कस्तो निर्णय गरेर कुराँसको विवाद साम्य पार्छन् त्यो प्रतीक्षा गर्नु नै उपयुक्त होला ।