अध्यक्ष पदको लोभ छैन—अभिनेत्री रेखा थापा

अध्यक्ष पदको लोभ छैन—अभिनेत्री रेखा थापा


० चलचित्र विकास बोर्डको अध्यक्ष बनिदै छ हो ?
– त्यो निश्चित छैन ।
० अनि चाकडी त खुबै गरिँदैछ भनिन्छ नि ?
– मैले कसैको चाडकी गरेकी छैन । मैले अधिकार मात्र मागेकी हुँ ।
० रेखा आफ्ना लागि जे पनि गर्छिन् भन्छन् नि ?
– यो मेरा लागि मात्र होइन, समग्र चलचित्र उद्योगका लागि हो ।
० पदमा आफू जान खोज्ने अनि अरूलाई दोष दिने ?
– बोर्डको अध्यक्षको पद मलाई चाहियो भनेकै छैन मैले, यो सब भ्रम हो ।
० कसका लागि दौडधुप गरेको त ?
– त्यो ठाउँमा चलचित्रकर्मी नै जानुपर्‍यो गैरचलचित्रकर्मी जानुहुँदैन भन्ने माग हो मेरो ।
० किन र ? त्यो त राजनीतिक नियुक्ति होइन र ?
– त्यसो भन्दैमा केही थाहा नभएकालाई लैजान त भएन नि, होइन र ?
० किन र बोर्डमा अभिनय त गर्ने होइन नि ?
– अभिनय गर्ने त होइन । तर पनि कलाकर्मी र चलचित्र उद्योगसँग भिजेको अनि समस्या र व्यथाहरू बुझेको मान्छे हुनुपर्‍यो भन्ने मात्र हो ।

शोभालाई तिजको चटारो
शिरैमा शिरफूल भाग–४ बजारमा ल्याएर तिजको रमझममा थप रौनक ल्याउन सफल शोभा त्रिपाठीलाई यतिबेला तिजका कार्यक्रममा सरिक हुन निकै चटारो परेको छ । काठमाडौंमा मात्रै एक दर्जनभन्दा बढी स्टेज शो सकाइसकेकी शोभाले हेटौंडा, पर्वतलगायत मोफसलका विभिन्न स्थानमा पनि तिजको कार्यक्रम भ्याउनु छ । छोटो समयमै थुप्रै एल्बम निकालेकी अनि आफूले गाएको ‘निर्धक्क लाउ माया…’ भन्ने गीतको चर्चाले पनि शोभा यतिबेला मख्ख छिन् ।
महिलाको विशेÈ चाड तिज नजिकिँदै जाँदा उनको व्यस्तता बढेको हो । ‘दैनिक दुई–तीन ठाउँमा तिजको कार्यक्रम पर्छ, कहाँ जानु, कहाँ नजानु,’ उनी अप्ठेरो सुनाउँछिन् । उनले नियमित गर्दै आएको मिडियाको काम त छँदै छ, यसबाहेक तिजका गीतको नयाँ एल्बम शिरैमा शिरफूल (भाग–४)को प्रमोसनमा पनि खटिनु नै छ । यसअघि सिरैमा शिरफूल, यो तिजमा ढल्केर नाचिन्छ, तिम्रै लागि हो जस्ता सफल एल्बम ल्याइसकेकी उनको यो चौथो एल्बम हो ।
पछिल्लो एल्बममा उनलाई टीका पुनले पनि गायनमा साथ दिएकी छिन् । जसमा हेर मायाले र निर्धक्क लाउ माया बोलका दुई भाका समेटिएका छन् । गीति एल्बमहरूको बिक्रीमा गिरावट आइरहेको गुनासो बढिरहँदा यसरी ल्याइने मौसमे एल्बमले भने बजार तताउने गरेका छन् ।
व्रत बस्नुको त्यस्तो कुनै विशेÈ उद्देश्य नबनाएकी उनले यसपालिको तिज मज्जाले नाचेर मनाउने योजना भने बनाएकी छिन् । त्यसो भए के उनी जीवनका कुनै पनि तिज असल पतिको चाहना वा उनको सुस्वास्थ्यको कामना गरेर नमनाउलिन् त ? ‘त्यसो पनि होइन, पहिले जीवनका केही लक्ष्य पूरा गरौँ अनि त्यसतर्फ सोचौँला,’ उनले सुनाइन् ।
यी सुन्दरी गायिकालाई मन पराउने भने थुप्रै रहेछन्, उनी आफैँ भन्छिन् । म्युजिक भिडियो हेरेर मनपराउनेदेखि स्टेज कार्यक्रममा आई लभ यू लेखेको कागजले हिर्काउनेसम्मका युवक उनले भेटेकी रहिछन् । नाम उल्लेख नगरिएको लभ लेटर त महिनामै पचासौँ आउँछन् रे ? ‘यसलाई मैले आफ्नो कलाप्रतिको प्रेम ठानेकी छु,’ उनी मुस्कुराइन् ।

बिहे गर्ने मुडमा राजेश
नेपाली सिनेमाका महानायक राजेश हमाललाई सर्वाधिक सोधिने प्रश्न एउटै हो– किन उनले विवाह गरेनन् र कहिले गर्लान् ? यो प्रश्न यसै साता एक औपचारिक भेटघाटमा यो स्तम्भकारले पनि हमाललाई सोधेको थियो । जवाफमा उनले भने, ‘साँच्चै भन्नुपर्दा अबचाहिँ गर्नैपर्ने भएको छ । अब गर्नुपर्छ,’ जोसिएर हमालले जवाफ दिए । केही समययता राजेशले मङ्सिर महिनामा बिहे गर्दै छन् भन्ने आसयका समाचार मिडियामा आएकोप्रति लक्षित थियो उनको जवाफ ।
विवाह ढिलो भएको भन्ने कुराप्रति भने राजेशलाई चिन्ता देखिएन । उनले थपे, ‘दिन नआईकन हुँदैन रहेछ । मलाई लागेको छ कि मेरो दिन भर्खर आउँदै छ ।’ विशेष गरेर एकान्त रुचाउने हमालले एउटा वास्तविक र गाँठी कुरा भने यो पङ्क्तिकारसँग फुकाएरै भने, ‘जो मेरा लागि पर्खेर बसेकी छिन्, उनलाई धोका दिनु त भएन नि । उनका लागि भए पनि मैले यसपटक बिहे गर्नैपर्छ ।’ ‘मैले त्यतिबेला विवाह गरेको भए रहरमा नै परिवारमा सन्तान हुर्कन्थ्यो तर यतिबेला सन्तान हुर्काउन अर्को समस्या पनि छ,’ हमालले भने ।
हाल सिनेमा अभिनयतिर उनले त्यति समय दिएका छैनन् । सामाजिक कार्यक्रम र सहयोग पुग्ने खालका समारोहतिर बढी समय खर्चेका हमालको यसपटकको दशैं पनि विदेशमा रहेका नेपालीमाझ बित्ने भएको छ । उनी अब एक महिनापछि विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएका छन् । यो कुरा पनि बताए उनले ।

(पुस्तक समीक्षा)धर्मको नवीनतम् परिभाषाको पुस्तक
डा. मोहनदेव भट्टराई नेपालका एक विद्वान् हुनुहुन्छ । लामो समय सरकारी सेवामा बिताउनुभएका उहाँले राजनीति शुद्धीकरणका निम्ति अनेकौँ पुस्तक र सयौँ लेखहरू लेख्नुभएको छ । डा. भट्टराई शिक्षा र धर्मका विषयमा पनि लेख्ने गर्नुहुन्छ । यसै क्रममा उहाँको नयाँ पुस्तक ‘स्वधर्म–परधर्म’ बजारमा आएको छ । राजुदेव भट्टराईले प्रकाशित गर्नुभएको उक्त पुस्तकले धर्मको नयाँ परिभाषा गर्ने र समसामयिक एवम् व्यावहारिक तवरमा धर्मलाई सर्वमान्य बनाउने कुराको वकालत गरेको छ । पुस्तकको औचित्यबारे लेखकले भन्नुभएको छ, ‘धर्मको वास्तविक स्वरूपको चर्चा गर्नुअगाडि धर्मको नामबाट प्रचलित तर पूर्ण रूपले धर्मसित असम्बन्धित धारणा र भनाइहरू उल्लेख गरेर यस्ता गलत धारणाहरू पूर्णरूपले निराकरण गरिनु आवश्यक ठानी यसबारे केही छोटो गर्नेछौँ ।’ पुस्तकमा डा. भट्टराईले तर्क गर्नुभएको छ– आगोको धर्म उष्णता हो, ताप प्रदान गर्नु हो र पानीको धर्म बग्नु हो । उनीहरूले आफ्नो धर्म किञ्चित नछोडेझैं मानिसले पनि उनीहरूको सिको गरी आफ्नो धर्ममा अडिग रहनुपर्छ भन्ने उपदेश पढ्न र सुन्न पाइन्छ । तर, हामीले यथार्थलाई बुझ्नुपर्छ– पानी तथा आगो जडत्व हुन् । जडत्वको कुनै धर्म हुँदैन । उनीहरू त प्राकृतिक लक्षणको परिवेशको सीमामा सीमित छन्, यस्ता प्राकृतिक लक्षणहरू जडतत्वको नियन्त्रण या परिचालनमा अड्नै सक्दैनन् ।’
धर्मका पादहरू, जीवतत्वको पहिचान, धर्मबारे असान्दर्भिक धारणाजस्ता शीर्षकमा लेखकद्वारा जीवन र धर्मको सूक्ष्म विश्लेषण जसरी गरिएको छ त्यसले पुस्तकलाई पठनीय बनाएको छ । कुल ६२ पृष्ठको पुस्तकमा लेखकले हजारौँ पानामा व्याख्या गरिनुपर्ने रहस्यको उद्घाटन गर्ने जुन प्रयास गर्नुभएको छ, त्यसले लेखकको दार्शनिक ज्ञानको गहिराइ उजागर गर्न मद्दत पुर्‍याएको छ ।