प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताएका छन् ।
उनले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भनेका छन्, ‘अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो । राससका अनुसार प्राकृतिक स्रोत, साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मूल प्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।’
‘हामी हाम्रो राष्ट्र, राष्ट्रियता, स्वाभिमान, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध छौँ । संविधानले निर्दिष्ट गरेका मौलिक हकको प्रत्याभूतिका लागि सरकार सधैँ प्रतिबद्ध रहनेछ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को चाहनालाई पूरा गर्न सरकारले चाल्ने कदमप्रति यहाँहरु सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु ’, सन्देशमा भनिएको छ ।
प्रतिक्रिया