आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै

आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै


आज ग्याल्बो र सोनाम ल्होछार । यो पर्व बौद्ध महायानी धर्मावलम्वीहरुले ल्होछार अर्थात नयाँ वर्षका रुपमा देशभर मनाउँदैछन् ।

यसै पर्वको अवसर पारी सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । यसअघि सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै उक्त विदा फिर्ता लिन माग गरेका थिए ।

सोनाम ल्होछार तामाङ समुदाय अनि ग्याल्बो ल्होछार शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले मनाउने गर्दछन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् ।

ल्होछार मान्ने समुदायले आजबाट चरा वर्गलाई विदाइ गरी कुकुर वर्गलाई स्वागत गरेका छन् । यसै अवसरमा राजधानीको तीनकुनेमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ । आयोजकका अनुसार उक्त कार्यक्राको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

आज दिउँसो २ बजे प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।