जीवन कथा /फूलबारीको सन्देश

जीवन कथा /फूलबारीको सन्देश


भाइ खान खोज्नेले आमा नै सिध्याईन्—रामहरि त्रिपाठी
भर्खर १५ टेक्दै गरेकी नाबालक छोरीले आफ्नै आमालाई शरीर नै छियाछिया हुने गरी बन्चरोले प्रहार गरी मारेको दन्त्यकथाजस्तो घटना सुन्दा जोकोही सुन्नेलाई अस्वाभाविक लाग्न सक्छ । तर, नियतिले यस्तै भयो । घटना ०६५ साल जेठ ३२ गतेको हो । रोपाइँको चटारोको बेला थियो । त्यस दिन मावलीको खेत रोप्ने मेसो थियो । घरमा ६ जना दिदीबहिनीहरू थिए । आमा दुनमाया र छोरी दिलमाया दुवैजना मावलको खेत रोप्न गएका थिए । रोपाइँमै दिउँसो दिलमाया मेलामै ढलेपछि आमाभन्दा अलि चाँडो घर फर्किइन् । आमा दुनमाया अलिअलि झारफुक पनि गर्ने गर्थिन् । घरमा आइपुगेपछि आमा दुनमायाले दिलमायाको टाउकोमा हात राखी फुकिन् । दिउँसोदेखि पटकपटक काम्दै आएकी उनी औषधि सेवन गरेर आराम गर्दै थिइन् । यस्तैमा एक्कासि आमा दुनमाया र छोरी दिलमाया एकैपटक काम्न थाले । दुवैजनाले भाइलाई खान्छु भन्दै झम्टन लागे । घरका अरू सदस्यहरूले भाइलाई समातिराखे र जोगाए । भाइलाई खोस्ने र खाने कुरामा आमाछोरीको झम्टाझम्टी हुन थाल्यो । दुवैजनाबीच भाइलाई कसले खाने भन्ने होडबाजी चल्न लाग्यो । घरका अरू सदस्यहरू र देख्ने मानिसहरू आश्चर्य मान्न लागे । आफूले खान लागेको भाइलाई आमाले पनि खान खोजेपछि आमा–छोरीबीच लडाइँ हुन थाल्यो । आमा दुनमाया र छोरी दिलमाया दुवैले भाइलाई खान्छु भन्दै लुछाचुँडी गर्न थालेपछि दिदी मीनाकुमारीले छुट्याउने प्रयास गरिन् । तर, सोही बेला आमाले मीनाकुमारीको नाकमा टोकिदिइन् । शरीर दुई जीउको भएकोले मीनाकुमारीले पनि उनीहरूलाई छुट्याउन सकिनन् ।
वरपरका मानिसहरू बोलाउने र झगडा साम्य पार्ने मेसोमेलो हुँदै थियो । केहीबेरमै विद्युतीय गतिमा दिलमायाले आमालाई बन्चरो प्रहार गर्न थालिन् । दुनमाया टाउको, अनुहारमा गम्भीर चोटको कारण ठहरै भइन् । तत्पश्चात् सबैजना लागेर दिलमायालाई समाउन लागे । भोलिपल्ट जब दिलमायाको होस आयो । गाउँलेहरूले आमालाई मारेको बताएपछि मात्र उनले थाहा पाइन् । तब उनी भन्न थालिन्– मैले किन मेरी आमालाई मार्नु ? उनले आफूलाई काम्न थालेपछिको कुनै कुरा स्मरणमा नभएको बताइन् । यसरी एउटा जादुगरीझैं लाग्ने मार्मिक र हृदयविदारक घटना आफ्नै परिवारमा घट्न पुग्यो ।
कानुनबमोजिम नेपाल सरकारले कर्तव्य ज्यान मुद्दामा अभियोग पेस गर्‍यो । स्याङ्जा जिल्ला अदालतले उमेर १६ वर्ष नपुगेको हुँदा १० वर्ष कैद सजाय हुने फैसला गर्‍यो । तैपनि आफ्नो ब्रह्मले देखेबमोजिम जिल्ला अदालतका न्यायाधीशले साढे दुई वर्ष मात्र सजायका लागि राय व्यक्त गरे । पुनरावेदन अदालत पोखरामा दिलमाया थापाले सजाय कम गर्न माग गर्दै पुनरावेदन दायर गरिन् । तर, पुनरावेदन अदालतले पनि जिल्ला अदालत स्याङ्जाकै फैसला र राय सदर गर्‍यो । सोही मुद्दाको अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले तल्ला अदालतबाट भएको फैसलालाई सदर हुने गरी फैसला गर्‍यो ।

नेपाली जनताको अपमान नगर —लक्ष्मी सिलवाल
भनिन्छ ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चालम पनि बित्दैन’ सायद त्यसै भएर होला वर्तमान नेपाली राजनीतिमा ठूलो–ठूलो स्वरमा चिच्याउने होडबाजी नै चलेको छ, तँछाडमछाड छ । क्रान्तिकारी र अग्रगमनकारी देखिन दलका नेताहरू चाहिँदानचाहिँदा सबैथोक भन्दै हिँडिरहेका छन् । केही दिनअघि मात्र नेकपा–माओवादीका अध्यक्ष किरण ‘अब आवश्यकता परे फेरि बन्दुक उठाइन्छ’ भन्दै थिए । बन्दुक उठाएर नै क्रान्तिकारी हुने भए हिटलर, विन लादेन र प्रभाकरणहरू सबै क्रान्तिकारी ठहरिने थिए र सफल हुने थिए । किन महात्मा गान्धी, नेल्सन मण्डेला र मार्टिन लुथर किङहरूको जरुरत पथ्र्यो र † माओ, लेनिन र फिडेल क्यास्त्रोहरूले हतियार उठाउनुको पृष्ठभूमि नै बाध्यकारी थियो तब न सफलता हात लाथ्यो । यी सबै कुराको विश्लेषण नै नगरी रगतको आहालबाट बल्लतल्ल मुक्ति पाएका नेपाली जनतालाई फेरि–फेरि युद्ध थोपर्ने मनोदशायुक्त विचार घोर आपत्तिजनक छन् । नेपालको गणतन्त्र बहुसङ्ख्यक नेपाली जनताको पक्षमा नरहेको र पूर्णरूपेण फ्लप खाइसकेकोले बरु ०४७ सालको संविधान ब्युँताउन अनि सम्मानित राजतन्त्रको फेरि एकपटक पुनस्र्थापना गर्न हतियार उठाउँछौँ भनेको भए किरणले नेपाली जनताको सहानुभूति र धन्यवाद मात्र होइन आशीर्वाद नै प्राप्त गर्ने थिए ।
जसरी एमाओवादी अध्यक्ष प्रचण्डले उत्तेजना र आवेगमा आएर नेपालभित्रका जाति–जातिबीचको सद्भाव र सम्मानलाई ध्वस्त पार्ने अहंकारी बोली बोले त्यसरी नै अहिले सङ्घीयताको पक्षधर को हो, को होइन भन्ने जुहारी चलिरहेको छ, आरोप–प्रत्यारोप चरमचुलीमा छ । नेपालको प्रमुख रोग वा समस्या भनेको नै अशिक्षा र गरिबी हो । वास्तवमै हाम्रो समस्या वर्गीय असमानताका कारण सिर्जिएको हो । विकेन्द्रीकरणको सिद्धान्तअन्तर्गत १४ अञ्चल र ७५ जिल्ला व्यावहारिक रूपमा सम्बोधित हुने हो भने नेपाललाई कुनै पनि कोणबाट आवश्यक नभएको घातक र अशोभनीय सङ्घीयता आवश्यक पर्दैन । हरेक नेपाली नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य उनीहरूको पहुँचमा पुर्‍याउन मुलुक नै भताभुङ्ग पार्नेसम्मको क्षमता राख्ने सङ्घीयताको एकरत्ति पनि आवश्यकता छैन । ‘नाच्न नजान्ने आँगन टेडो’ भनेजस्तै आफ्नो असक्षमता ढाकछोप गर्नका लागि सङ्घीय प्रणालीमा जानैपर्छ नत्र देश बन्दैन भनेर कुर्लनेहरूकै कारण आज हामीले घोर अराजकता सहेर बसिरहनुपरेको छ ।
लोकतन्त्रलाई घनघोर विश्वास गर्छौं भन्ने दल र नेताहरू यतिबेला नेपाली जनताले सबैको परीक्षण गर्न चाहिरहेको बेला चुनाव अर्थात् ताजा जनादेशमा जान त्राहिमाम भइरहेका छन् । यसैकारण उनीहरू पुरानै मरिसकेको ६०१ कृत संविधानसभालाई पुनस्र्थापना गर्नुपर्छ भनेर लगौंटी कसेर लागिरहेका छन् । चिहानमा गाडिसकेको संविधानसभाको अझ बीभत्स र अझ भनायक स्वरूप हेर्न नेपाली जनता एक घण्टा पनि चाहँदैनन् । यदि आफूलाई अझै पनि नेता ठान्छौ भने जनतामा जान किन लजाउने ? किन डराउने ? नेपाली जनताले संसद्को आगामी चुनावमा निश्चित रूपमा तह लगाउनुपर्नेलाई तह लगाउनेछन्, दण्डित गर्नुपर्नेलाई दण्डित गर्नेछन् ढिलो या चाँडो मात्र हो । नयाँ चुनावमा जान सहमति नगर्नु भनेको नेपाली जनताप्रतिको अपमान हो । तीन–चार थान शीर्ष नेता भनिनेहरू वार्तामा बसेर सहमति गर्दैमा अब नेपाली जनताले त्यो सहमतिलाई स्वीकार्न सक्दैनन् । बृहत् राष्ट्रिय सहमति अर्थात् सर्वपक्षीय सहमति जो निकै कठिन छ, ले मात्र राजनीतिक सङ्कटमोचन गर्न सक्ने अवस्था विद्यमान छ ।
बोलीको ठेगान नभएका र जनताको वास्तविक आवश्यकता र चाहनाप्रति बेखबर नेताहरूले के बुझुन् भने अब आइन्दा उनीहरूले घिसारेको राजनीतिले मात्र जनता सन्तुष्ट वा शान्त हुने छैनन् । चाहे सरकारवादी हुन् वा प्रतिपक्ष वा अन्य कसैले पनि सोझा, सरल राष्ट्रपतिलाई जिस्क्याइरहने हर्कत नगरून्, तर्सारहने दुस्साहस पनि नगरून् र बाध्य पनि बनाउने मूर्खता नगरून् । अबको एक मात्र विकल्प भनेको यथाशक्य छिटो आमचुनावमा जानु हो । त्यसका लागि राजनीतिक दलबाहिरका व्यक्तिहरूको नेतृत्व खोज्ने बेला भइसकेको छैन । डा. बाबुराम भट्टराईले मङ्सिर ७ गते पदत्यागको घोषणा गर्नुपर्छ । त्यसअघि नै राष्ट्रिय सरकारको निर्माण र संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनिसकोस् । राष्ट्रिय सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको हो, त्यो सरकारमा नागरिक समाजलगायत अन्य पक्षका स्वच्छ छविका व्यक्तिलाई मन्त्री बनाउने प्रयास गर्नुपर्छ । यस सङ्क्रमणकालको अन्त्य गर्न नेताहरूले आ–आफ्ना महत्वाकाङ्क्षाहरू छाडेर त्यागको भावना देखाउन थाल्नुपर्छ । कमरेड प्रचण्डले महल छाडेर बहुमत जनता बस्ने छाप्रो वा झुपडीमा बस्न थाले सर्वहारावर्गले अलिकति पत्याउन थाल्नेछन्, चुनावमा जमानत जफत हुनबाट बच्न सकिएला अन्यथा जनताको धैर्यतालाई कमजोरी ठानेर मनपरि रणनीतिक मात्र बनाइरहने हो भने अब जनताले भौतिक रूपमै नेताहरूलाई आक्रमण गर्ने सम्भावना बढेर गएको छ । चेतना भया ।