प्रजातन्त्र आगमनपछिका (०४८ पछिका) गृहमन्त्रीहरू आज समाजमा र सुरक्षा निकायभित्र पनि आलोचित र अलोकप्रिय हुँदै गइरहेका छन् । पूर्णबहादुर खड्का र केपी शर्मा ओलीबाहेकका अन्य गृहमन्त्रीहरू कि ठूलै विवादमा कि भ्रष्टाचारको आरोपमा कि प्रहरी सङ्गठनलाई बर्बाद गर्ने हस्तीको रूपमा परिचित भइरहेका छन् । अन्य मन्त्रीको तुलनामा गृहमन्त्री किन बढी विवादित भए ? भन्ने प्रश्नको जरो खोज्ने हो भने मेरो अनुभवले यही भन्छ कि ती गृहमन्त्री हुनेहरूले गृहमन्त्री हुन नै जानेनन् जसरी रामबहादुर थापा बादलले रक्षामन्त्री हुन जानेनन् ।
म निरन्तर ०४८ सालपछिका गृहमन्त्रीहरूलाई नजिकबाट हेरिरहेको छु र यसक्रममा उहाँहरूलाई सही गृहमन्त्री बन्नै नदिने धेरै बाध्यता र विवशता भएको पनि महसुस गरिरहेको छु । मैले देखेँ– पहिलो कुरो गृहमन्त्री जुन पार्टीले बनाउँछ त्यो व्यक्तिले त्यस पार्टीका प्रमुखको महत्वाकाङ्क्षालाई पूरा गर्ने वचन नदिई गृहमन्त्री बन्नै सक्दा रहेनछन् । उदाहरणका लागि गिरिजाप्रसाद कोइरालाको छनोटमा परेका गृहमन्त्रीले गिरिजाप्रसाद कोइरालालाई पार्टी चलाउने खर्च जुटाउनेदेखि उहाँलाई सत्तामा टिकाइराख्न आफ्नै पार्टीका अन्य सदस्यहरूको मानमर्दन गर्ने कार्यमा समेत साथ दिन जरुरी हुन्थ्यो नै । त्यसैगरी वामदेव गौतमजस्ता स्पष्ट वक्ता गृहमन्त्रीलाई पनि आफ्नो पार्टीलाई सत्तामा पुर्याउन, जोगाइराख्न र आफ्नो गुटलाई सशक्त बनाउन गृहमन्त्री पदको दुरुपयोग गर्न जरुरी हुन्थ्यो । कृष्णप्रसाद भट्टराई सरकारमा गृहमन्त्री हुनेहरूले बाहेक अन्य सम्पूर्ण प्रधानमन्त्रीकालमा गृहमन्त्री हुनेहरूले जनताको शान्तिसुरक्षाको ग्यारेन्टी गर्ने म्यान्डेटमा भन्दा बढी आफ्नो प्रधानमन्त्री वा पार्टी अध्यक्षलाई खुसी पार्ने र आफ्नो पार्टीलाई फाइदा पुर्याउने माइन्डेटमा बढी ध्यान दिनुपर्ने देखियो । त्यसैले प्रहरीले गृहमन्त्रीहरूबाट वास्तवमै एक गृहमन्त्रीबाट पाउनुपर्नेजस्तो निर्देशन र मार्गदर्शन कहिल्यै पाएनन् । जनताको काँघ चढेर उनीहरू त्यहाँ त्यो महत्वपूर्ण पदमा त पुगे तर त्यो पदको अर्थ नै नबुझ्ने वा उल्टो ढङ्गले बुझ्ने काम भयो । यही पार्टी अध्यक्ष, प्रधानमन्त्री वा आफ्ना गुटका लागि काम गर्दा उनीहरूले परम्परा, नैतिकता र पद्धति नाघेर काम गर्नुपर्ने स्थिति सिर्जना भयो जसले उनीहरूलाई हाम्रो समाजमा खलनायक बनाउँदै गयो । के हुँदोरहेछ भने जब पार्टी र पार्टीप्रमुख वा सरकारप्रमुखको स्वार्थ सिद्धिका लागि कोही गृहमन्त्री भएर जाँदारहेछन् त्यसपछि त्यस व्यक्तिलाई पार्टी सञ्चालनको खर्च जुटाउने, परे सांसद नै किन्ने खर्च जुटाउने, निर्वाचनका लागि खर्च जुटाउने, आफ्ना कार्यकर्ताको गाह्रोसाह्रो टारिदिनेलगायत अध्यक्ष वा प्रधानमन्त्रीका वरिपरि रहने अदृश्य शक्तिकेन्द्रहरूको धन कमाउने लालचमा समेत सहयोगी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउँदोरहेछ । यही बाध्यता पूरा गर्न गृहमन्त्रीहरूलाई प्रसस्त रकम आवश्यक हुँदोरहेछ र गृहमन्त्री भएर पूरा गर्नुपर्ने दायित्वमा भन्दा पनि उनीहरूको धुन पैसा बटुल्नेतर्फ बढी भएका कारण समाजमा क्रमश: बद्नाम हुँदै जाँदा रहेछन् ।
दोस्रो कुरा गृहमन्त्रीहरूलाई समाजमा खलनायक बनाउने विषय सुरक्षा निकायको सरुवा, बढुवा र नियुक्ति रहेछ । ०५५ सालतिर म स्वयम् सप्तरी तथा बर्दियामा प्रहरी प्रमुख हुँदा त्यस जिल्लामा गृहमन्त्रीको पार्टीले भनेअनुसार प्रहरी जवान भर्ना गर्न नमान्दा मेरो रातारात सरुवा भएको थियो । म त्यतिबेलाका गृहमन्त्रीहरूको कदमको अझै आलोचना गर्दछु किनकि त्यो समय उहाँहरूले आफ्ना कार्यकर्ता जति भर्ना गरे पनि चुनावमा ती क्षेत्रहरूमा उहाँहरूको पार्टीले जित्न सकेन । यसबाट गृहमन्त्रीहरूले के बुझ्न जरुरी छ भने सुरक्षाफौजमा आफ्ना कार्यकर्तालाई राजनीतिक आस्थाकै आधारमा जागिर खुवाएकै भरमा चुनाव जितिने होइन रहेछ, किनकि यसो गर्दा राजनीतिक आस्थाकै आधारमा जागिर खान नपाएका ठूलो सङ्ख्याका युवायुवतीहरू ती गृहमन्त्री वा उनको पार्टीसँग रुष्ट हुन पुग्दारहेछन् । आज अधिकांश गृहमन्त्री हुनेहरूले यसै गल्तीका कारण आफ्नै क्षेत्रबाट चुनाव हारिरहेका छन् । गृहमन्त्री कृष्णप्रसाद सिटौलाजस्ता मान्छेहरूले त पदमै बसेर चुनाव लड्दा पनि हारेका छन् । गृहमन्त्रीको पदको आडमा जथाभावी ढङ्गले सरुवा, बढुवा, नियुक्ति, खोसुवा, विदेश पठाउने काम गर्नाले उहाँहरूको ठूलो सङ्ख्यामा गृहमातहतका कर्मचारीहरू खुसी हुन सकेनन् र तिनका नजरमा गृहमन्त्रीहरू अलोकप्रिय र खलनायक बनिरहेका छन् ।
गृहमन्त्रीहरूमा अर्को समस्या के देखियो भने उहाँहरूमा प्रशासन चलाउने न्यूनतम ज्ञान पनि देखिएन । हामी जनताबाट आएका ठूला मान्छे हौँ भन्ने मात्र उहाँहरूले बुझ्नुभएको पाइयो, तर ठूलो मानिस भएर गएको मन्त्रालय कुन पद्धतिमा चल्छ ? भनेर प्रशासनिक प्रक्रिया, त्यहाँका ऐन–नियम, त्यहाँको परम्परा भने बिल्कुलै बुझ्न खोजेको वा बुझ्न सकेको देखिएन । म प्रहरीकै कुरा गर्छु । ०४८ सालभन्दा अगाडि हामी आफैँ प्रहरी अधिकृत हुँदा गृहमन्त्री कहिल्यै भेटेनौँ । मन्त्रालय कहिले जानुपरेन । हामीलाई प्रहरीको सबैभन्दा ठूलो मान्छे भनेकै आईजीपी हुन् भन्ने पर्दथ्यो । आईजीपीले सरुवा, बढुवा, नियुक्ति चाहेअनुसार गर्दथे । गृह मन्त्रालयले सुरक्षामा गम्भीर समस्या आउँदा मात्र सरोकार देखाउँथ्यो । जिल्ला–अञ्चल प्रशासकहरूलाई भने प्रत्यक्ष नियन्त्रण गर्दथ्यो तर प्रहरीमा हस्तक्षेप थिएन । डीएसपी, इन्स्पेक्टर दर्जादेखि नै माथि जाने खालका प्रहरी अधिकृतहरू अलग खालका देखिन्थे । उनीहरू प्रहरी प्रशिक्षक बन्दथे, धेरैभन्दा धेरै तालिम गर्दथे, प्रहरी प्रधान कार्यालयको महत्वपूर्ण शाखाहरूमा बसेर अन्वेषणको काम गर्दथे । विकट परिस्थितिहरू सम्हाल्न खास रूपमा तिनीहरू खटाइन्थे । ती अधिकृतहरू तल्ला अधिकृतहरूका लागि रोलमोडल हुन्थे र माथिल्ला दर्जाका लागि बलिया भर सावित हुन्थे । उनीहरूले तक्माहरू पनि पाउँथे । तालिमहरूमा प्रथम हुन्थे । तर, ०४८ सालपछिका गृहमन्त्रीहरूले राजनीतिक आस्था, आर्थिक लाभ र व्यक्तिगत महत्वाकाङ्क्षाका कारण यो ऐतिहासिक सङ्गठनको वृत्तिविकासको पद्धति भताभुङ्गै पारिदिए । जथाभावी रूपमा आईजीपीहरूने बीचैमा हटाइदिने जथाभावी रूपमा पदोन्नति गरिदिने, जथाभावी रूपमा विदेश पठाइदिने, जथाभावी रूपमा सरुवा गरिदिने, जथाभावी रूपमा पजनी गरिदिने गर्नाले गृहमन्त्रीहरूप्रति भित्री आक्रोश प्रहरी अधिकृत तथा जवानहरूमा हुन थाल्यो । आईजीपी हटाउनुलाई गृहमन्त्रीहरूले पुलिस तर्साउने र वशमा राख्ने औजारको रूपमा प्रयोग गर्न थाले । आज स्थिति यस्तो छ कि कुनै बेलाको शक्तिशाली आईजीपी पद अहिले गृहमन्त्रीको साधारण कर्मचारी बराबर बन्न विवश छन् । गृहमन्त्रीहरूले यदि प्रशासन कसरी चल्छ भन्ने बुझेको भए यस्तो गल्ती कदापि गर्थेनन् होला । पदको अधिकार गलत ढङ्गले प्रयोग गरिदिएको कारण प्रहरी सङ्गठन त ध्वस्त भयो नै उनीहरूको छवि पनि प्रहरीभित्र खलनायक र भ्रष्ट हुँदै गयो । उनीहरूले केहीलाई रोलक्रम मिचेर अघि बढाउँदा ठूलो तप्कामा अधिकृत उनीहरूलाई समय आएमा थुन्नुपर्छ भन्ने पनि ताकमा रहे । त्यसैले हामीले हेर्यौँ भने देख्छौँ गृहमन्त्री हुँदा सलाम गर्न तम्सने पुलिसका हातहरू नै उनीहरूलाई जेलमा लैजान पनि त्यत्तिकै सक्रिय देखिएका छन् । गृहमन्त्रीहरू जेलमा परेकोमा पनि धेरै प्रहरीलाई चित्तदुखाइ छैन किनकि ती गृहमन्त्रीबाट सताइएको प्रहरी सङ्गठन तिनले भोगेका–देखेका छन् ।
अर्को एउटा गृहमन्त्रीहरूबाट भएका गम्भीर भूल मैले के देखेँ भने उहाँहरूले कहिल्यै पनि समाजलाई शान्तिसुरक्षा प्रदान गर्न पहल गर्नुभएन । जेल सुधार उहाँहरूको एजेण्डा कहिल्यै परेन । माओवादी युद्ध हतियार किन्ने र हेलिकोप्टरबाट कमिसन लिने अवसर ठानियो । पुलिसमा दरबन्दी थप कमिसन र कार्यकर्ता भर्नाका लागि गरियो । राम्रो काम र नराम्रो काम गर्नेबीच उहाँहरूले फरक देख्नुभएन । पार्टीका लागि र पैसाका लागि गुण्डाहरूलाई संरक्षण दिनुभयो । गृह मन्त्रालयका नियमित खर्च शान्तिसुरक्षा कार्यमा कहिल्यै लगाउनुभएन । राम्रा काम गर्नेहरूलाई सम्मान दिन पनि जान्नुभएन । केवल सत्ता, पैसा, कुर्सी, कार्यकर्ता भर्ना, कार्यकर्ता लालनपालन, सांसद खरिद, चुनाव जित्न प्रहरी प्रशासनको दुरुपयोग, मनखुसी सरुवा–बढुवा गर्दागर्दै उहाँहरूको समय खत्तम भयो । समाजमा उहाँहरूले गृहमन्त्री भएर जनतालाई दिन केही सक्नुभएन जसका कारण उहाँहरू समाजमा अलोकप्रिय मात्र होइन असुरक्षित र भ्रष्टाचारी पनि बन्न विवश हुनुभयो । पद त उहाँहरूलाई भगवान्ले सेवा गर्ने नै दिएका हुन् तर त्यो पदमा बसेर सेवा गर्न उहाँहरूले जान्नुभएन । त्यसैले एकाध गृहमन्त्रीबाहेक धेरैको इमेज हाम्रो समाजमा खलनायककै रूपमा छ ।
एउटा गृहमन्त्रीले सबैभन्दा पहिला नेपालका हरेक गाउँ तथा नगरका वडावडासम्म सुरक्षाका दृष्टिले के चुनौती छ भनेर तथ्याङ्क निकाल्नुपर्छ । त्यसपछि त्यो तथ्याङ्कको आधारमा ती क्षेत्रमा कसरी शान्तिसुरक्षा गर्ने, त्यसको रणनीतिमातहतका सबै सुरक्षा निकाय राखी रणीनति बनाउन दिनुपर्छ । रणनीति बनेपछि त्यो उद्देश्य प्राप्त गर्न प्रहरी सङ्गठनभित्र के–कस्ता मानव स्रोत विकास र सङ्गठनात्मक परिवर्तन गर्नुपर्ने हो त्यो गर्न मद्दत गरिदिनुपर्छ । यो रणनीति लागू गर्न आमजनताको समर्थन लिन विशेष योजना बनाउनुपर्छ । जब रणनीति सुरु गर्ने समय आउँछ त्यसपछि यस कार्यमा आवश्यक पर्ने अन्य मन्त्रालय तथा परे विधायिकाहरूलाई रणनीति सम्बन्धमा जानकारी गराउनुपर्छ । सबै तयारी पूरा भएपछि त्यो काम फत्ते गर्न आईजीपी तथा गृहसचिवलाई उपयुक्त मानिस छनोट गरी परिचालन गर्न स्वतन्त्र रूपले दिनुपर्छ । गृहमन्त्रीले आफ्नो मन्त्रालयमा अप्रेसन कक्ष बनाई त्यहीँबाट कन्फ्रेन्स कलमार्फत एकैपल्ट अञ्चलस्तरसम्मका सुरक्षाप्रमुखहरूलाई सीधै निर्देशन दिने र जानकारी लिने व्यवस्था गर्नुपर्छ । गुनासो सुन्ने, इन्टेलिजेन्स विश्लेषण गर्ने र अन्तर्राष्ट्रिय गतिविधि मूल्याङ्कन गर्ने छुट्टै इकाइ खडा गर्नुपर्छ । सुरक्षाको आन्तरिक राष्ट्रिय नीति तर्जुमा गर्नुपर्छ ।
यस्ता धेरै काम गर्नुपर्नेमा यता ध्यान नदिई सरुवा, बढुवा, खोसुवा र नियुत्तिमै अल्मलिएका कारण महत्वपूर्ण पद पाएर पनि उहाँहरूले पदअनुसार काम र आचरण गर्न सक्नुभएन जसका कारण समाजमा गृहमन्त्री पद अलोकप्रिय र खलनायक बन्दै गइरहेको छ ।
प्रतिक्रिया