जीर्ण काठका विद्युतीय पोल विस्थापित

जीर्ण काठका विद्युतीय पोल विस्थापित


 काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका तथा गाउँपालिकामा वर्षांैदेखि जीर्ण अवस्थामा रहेका काठको विद्युतीय पोल विस्थापन भएका छन् ।

जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालगायतका स्थानमा विद्युत् चुहावट रोक्नाका साथै दिगो र सुरक्षित बनाउन विद्युत्को फलामे पोल खडा गरिएको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

अहिलेसम्म करिब तीन हजार २०० नयाँ फलामे पोल खडा गरिएको छ । अझै पनि दुर्गम क्षेत्रमा मागअनुसार पोल उपलब्ध गराउन नसकेको यादवको भनाइ छ । जीर्ण अवस्थामा रहेका काठका पोलले विद्युत् लाइन पनि नियमित नभएको र विभिन्न दुर्घटनाको सम्भावना रहेकाले ग्रामीण क्षेत्रका सबै जीर्ण विद्युतीय पोल हटाइने उहाँले बताउनुभयो ।

यसैबीच मण्डनदेउपुर नगरपालिकाले पुस मसान्तसम्मको विद्युत्को बक्यौता रकम भुक्तानी नगरे वा हुक लगाई विद्युत् चोरी गरे कानून बमोजिम कारबाही गर्नाका साथै नगरपालिका र वडाबाट प्राप्त हुने सेवा तथा सुविधामा रोक लगाइने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत भीमकान्त शर्माले वडा कार्यालयलाई जानकारीपत्र पठाउँदै विद्युत् लाइन नियमित गर्न सुधार गर्नुपर्ने काम गर्ने, नयाँ ट्रान्सफर्मर राख्नेलगायतका काम गर्नसमेत अनुरोध गरिएको छ ।

वितरण केन्द्रका प्रमुख यादवले अन्य विभिन्न नगरपालिका तथा गाउँपालिकाले पनि विद्युत् चुहावट रोक्न नगरपालिकाबाट नागरिकले पाउने सुविधा कटौती गर्न सम्बन्धित वडा कार्यालयमा पत्राचार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनचेतनाको कमीले अपराध गरेको देखियो, यसको अन्त्य जरुरी छ र यसबाट सरकारलाई राजश्वमा घाटा लागेको छ ।”