-(नेकपा एमाले)
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली सम्भावित प्रधानमन्त्रीको रूपमा देखिन थाल्नुभएको छ । भारतसँग अत्यन्तै निकट सम्बन्ध भएका मानिएका ओलीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सक्ने व्यक्तित्वको रूपमा हेर्न थालिएको छ । प्रस्ट वक्ता, तर्कशील राजनीतिज्ञ ओलीसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी:
तपाईं भारत गइरहनुहुन्छ नि, किन ?
सबैलाई थाहा भएकै कुरा हो, बङ्ग्याउन खोज्नु अलग कुरा हो । मैले किड्नीको प्रत्यारोपण गरेको छु । त्यसको फलोअपका लागि जाने गर्छु । कतिपय टेस्टहरू यहाँ हुँदैनन् त्यसका लागि पनि जानुपर्छ । बकवास गर्नेहरूले राजनीतिक उपचारका लागि भनेर प्रचार गरिरहेका छन् । तर, म स्वास्थ्य उपचारका लागि नै समयसमयमा भारत गइरहन्छु । राजनीतिक उपचारका लागि म भारत गइरहनुपर्छ भन्ने आवश्यकता ठान्दिनँ । विद्या आर्जन गर्न, काम खोज्न, कोही व्यापारका लागि, कोही गोष्ठी–सेमिनारका लागि जान्छन् । कसैले यसो चिनजान छ भने राजनीतिक कुराकानी गर्लान् तर मचाहिँ त्यसरी कहिले पनि गएको छैन ।
नेपाली नेताहरू बारम्बार भारत गइरहन्छन्, त्यो संयोग मात्रै हो कि त्यसमा अर्थ पनि छ ?
म त जाँदै जाँदैनथेँ । नेपालमा ट्रान्सप्लान्ट हुँदैन थियो र भारत गएको हुँ । त्यसपछि नियमित परीक्षणमा गइरहन्छु । अब त्यहाँका नेताहरूसँग, पदाधिकारीहरूसँग मेरो राम्रो चिनजान छ, भेटघाट त स्वाभाविक नै हो ।
कस्तो कुराकानी हुन्छ ?
नेपालको सम्बन्धमा छिमेकीहरूले यहाँको राजनीतिक, आर्थिक, सामाजिक विषयमा रुचि लिन्छन्, यो अस्वाभाविक पनि होइन । तिनै विषयमा कुराकानी हुन्छन् ।
राजनीतिमा त भारतको हस्तक्षेप छ भनिन्छ नि ?
म त राजनीतिक रूपमा हस्तक्षेप देख्दिनँ, तर मागियो भने, जे पनि गरिदिन्छु भन्यो भने होला तर मसँग कोही पनि भारतीयहरूले त्यसो भन्दैनन् ।
तपाईंहरूको कुरा हो तपाईंहरूनै गर्नुस् हाम्रो चासो त लोकतन्त्रमा मात्र हो भन्ने गर्छन् । लोकतन्त्र शान्ति र स्थायित्वका लागि हामीले के गर्न सक्छौँ भन्नुस् भन्छन् ।
नेपाली नेताहरूले प्रधानमन्त्री र मन्त्री बनाइदिनुपर्यो भनेर भन्ने गर्छन् भनिन्छ नि ?
खोइ, मैले त त्यो कुरा सुनेको छैन । दलहरूले एकातिर भूमिगत क्रान्ति गर्ने भनेर ट्रेन्च खनाउने अर्कोतिर सहयोगका लागि पत्र लेख्ने काम गर्छन् । यस्तो नाटक, तमासा र दोहोरो भूमिका मलाई ठीक लाग्दैन । माओवादीको बाहिरी कुरा एउटा हुन्छ भित्री व्यवहार अर्को हुन्छ, यो कुरा अब सबैले बुझिसके नि ।
पछिल्लो समयमा प्रधानमन्त्रीले भारतको तारिफ धेरै गरिरहनुभएको छ नि ?
उहाँ अभिशप्त हुनुहुन्छ । प्रधानमन्त्रीले त अझै बढी नै गर्नुपर्छ । बाहिर विरोध पनि बढी गर्नुपर्छ किनकि असली कुरा लुकाउन, भित्र भारतको दलाली पनि बढी नै गर्नुपर्छ । किनभने भारतको विरोधलाई डाइलुट गर्न पनि त दलाली बढी चाहियो । भारतको दलालीको कारणले माओवादीले सक्कली व्यवहार नै गर्दैन ।
नेपालमा भारतको समर्थनबिना कोही पनि प्रधानमन्त्री बन्न सक्दैन भनिन्छ नि ?
म यस्तोखाले विषयवस्तुमा चर्चा पनि गर्न चाहन्न । नेपालको राष्ट्रियतालाई कमजोर बनाउने आत्मास्वाभिमान नभएका, गए–गुज्रेका तत्वहरूको मानसिकता हो त्यो । ती तत्वहरूले जहिले पनि त्यही गर्छन् । म त्यस्तो ठान्दिनँ । म कसैको विषयमा भन्न चाहन्न, तर नेपालको सरकार नेपालीले बनाउनुपर्छ, नेपालीले नै सरकार परिवर्तन गर्नुपर्छ, विदेशीको चाकडीबाट होइन । नेपाली जनताको पक्षमा राम्रो काम गरेर टिक्नुपर्छ । म प्रधानमन्त्री बन्न भारत गएको भन्ने कुरा जवाफ दिनलायकको प्रश्नै होइन । यी राष्ट्रियता नभएको कुरा हो । तर, एउटा कुरा असल छिमेकीको सद्भाव त अवश्य चाहिन्छ । एउटा सरकार राम्ररी चलाउन संसारकै सबै देशसँग राम्रो सम्बन्ध त राख्नैपर्छ नि । हामी यहाँ भारत, चीन, युरोप, अमेरिकाविरोधी सरकार बनाउने होइनौँ, नेपालका लागि काम गर्ने र सबैसँग राम्रो सम्बन्ध राख्ने सरकार निर्माण गर्नुपर्छ ।
बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतको समर्थन थियो अरे नि ?
भारतलाई पनि भ्रम थियो, त्यसैले बाबुरामजीलाई प्रधानमन्त्री बनाउन सहयोग थियो होला † तर, अब भारतको समर्थन छैन । बाबुरामलाई अहिले बोक्दा काँध पनि गन्हाउँछ । मैले भारतीय पक्षसँग कुरा गर्दा अहिलेको रिक्तता हुनुहुँदैन थियो, सहमतिविपरीत द्वन्द्वमा धकेलियो, संसद् रहन नदिने षड्यन्त्र भयो भन्ने भारतीयले बुझेका छन् । तानाशाही भारतको कारणले होइन त्यो माओवादीको मौलिक चरित्र हो ।
अबको प्रधानमन्त्री को ?
अब लोकतान्त्रिक पार्टीहरूबाट राजनीतिक सहमतिमा अर्को प्रधानमन्त्री हुन्छ । मैले आफूलाई उम्मेदवार बनाएको छैन । तर, बनाइयो भने त्यसलाई सफलतापूर्वक पूरा गर्छु । म ४८ वर्षदेखि क्रियाशील छु राजनीतिमा । नेपालको आरोह–अवरोह सबै भोगेको छु । म प्रधानमन्त्री हुनेबित्तिकै सकारात्मकपन सुरु हुन्छ । म प्रधानमन्त्री भएर फोटो मात्र झुन्ड्याउने पक्षमा छैन । हामीले अहिले काङ्ग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने चाहेका छाँै । सबैभन्दा बढी सम्भावना काङ्ग्रेसको छ ।
अहिलेको सरकारको आयु कति ?
धेरै छैन । मिति तोक्दिनँ, दशैंसम्म यो सरकार चल्दैन । दशैंअघि नै यो सरकार ढल्छ ।
तपाईंको नेतृत्वलाई माओवादीले समर्थन गर्ला ?
किन नगर्नु, हामीले उहाँहरूको नेतृत्वलाई समर्थन गरेकै हो । उहाँहरूले पनि गर्नुहुन्छ, तर मैले अहिलेसम्म यो विषयमा कुनै कुरा सोधेको छैन । प्रचण्डको बाहिरको अभिव्यक्तिलाई महत्वका साथ लिनुहुँदैन ।
प्रधानमन्त्रीको बहिर्गमन कसरी हुन्छ ?
उहाँ सहमतिका साथ नै जानुहुन्छ । भएन भने सहमतिको वातावरण बनाउन जानुहुन्छ ।
सरकार टिकाउन मोर्चा नै बनिसक्यो नि ?
सरकारी गठबन्धनको कुरा गर्नुभएको होला, त्यो सुन्दर मजाक मात्र हो । तपार्इंले केही दिनमै त्यो थाहा पाउनुहुन्छ के हुन्छ भनेर ।
प्रतिक्रिया