नेपाली क्रिकेटको विवाद समाधान गर्न जरुरी : कप्तान खड्का

नेपाली क्रिकेटको विवाद समाधान गर्न जरुरी : कप्तान खड्का


नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विवाद समाधान गर्न जरुरी रहेको बताएका छन् । उनले अबका दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताएका हुन् ।

विश्वकप क्रिकेट छनोट खेलमा स्थान सुरक्षित बनाउँदै कप्तान खड्कासँगै स्वदेश फर्किएका नेपाली टोलीले नेपालको क्रिकेटलाई विवादरहित बनाउन आग्रह गरेका छन् । टोलीले आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु मार्फत विश्वकप क्रिकेट छनौट खेलमा स्थान सुरक्षित बनाएको हो ।

आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने टोलीको भनाई छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए । विमानस्थलमा खेलक्षेत्रका विभिन्न व्यक्ति तथा सुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जुन लक्ष्यका साथ नामिबिया गएको थियो त्यो पूरा भएको प्रतिक्रिया दिए ।

डिभिजन टुको उपविजेता बनेको नेपालले अब मार्च ४ देखि जिम्वावेमा हुने वल्र्ड कप क्वालिफायरमा समूह बी मा प्रतिस्पर्धा गर्नेछ । नेपालले मार्च ४ मा घरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्नेछ । यसैगरी नेपालले अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग पनि समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।