पूर्व श्री ५ को प्रश्न- ‘नेपाली जनताले कहिलेसम्म ब्यहोरिरहनु पर्ने ?’

पूर्व श्री ५ को प्रश्न- ‘नेपाली जनताले कहिलेसम्म ब्यहोरिरहनु पर्ने ?’


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरूको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन भन्ने प्रश्न यतिबेला जनतामाझ ज्वलन्त बनेर उब्जिएको धारणा सार्वजनिक गर्नुभएको छ । ६८औँ प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले प्रजातन्त्रमा सबैले सम्मानित महसुस गर्दछन् भन्ने विश्वव्यापी मान्यता र विश्वास छ, तर यहाँ के भइरहेको छ भनी जिज्ञासा व्यक्त गर्नुभएको हो ।

‘जनता र राजाबीचको सहकार्यको परिणामस्वरुप प्राप्त प्रजातन्त्रको ६८औँ वर्ष दिवसको अवसरमा म हाम्रा जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण गर्न चाहन्छु’ भन्दै शुरु गरिएको आफ्नो सन्देशमा पूर्व श्री ५ ले अगाडि भन्नुभएको छ–

‘प्रजातन्त्र भनेको निर्वाचनहरूको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न । देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुन सक्छ । २०६३ साल वैशाख ११ गते हामीमा निहीत राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताका हितप्रति संवेदनशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ ? त्यसको समीक्षाको समय आएको छ । सीमित व्यक्तिहरूको स्वार्थरक्षालाई नै प्रजातन्त्रका रूपमा जनताले आत्मसात गरिदिनुपर्ने हो कि होइन ? कानुनीराज एवम् सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म ब्यहोरिरहनु पर्ने हो ?’

‘सबै नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवम् राष्ट्रिय एकता समृद्ध बनाउने साधनको रूपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्न सकोस् । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।’