– प्रणय साह
पर्सा । मुख्यमन्त्रीको ओहदा पाएपछि पहिलोपटक वीरगञ्ज आउनुभएका प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मंगलबार विहान वीरगञ्जस्थित घण्टाघर चौकमा रहेको रामजनम तिवारीको शालिकमा माल्यार्पण गरेका छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय पुगेका मुख्यमन्त्री गद्दीले सरकारी कर्मचारीहरुसँग भेटघाट गरेका थिए । त्यस्तै उद्योग वाणिज्य संघ वीरगञ्जका पदाधिकारीहसँग पनि उनले छलफल गरे ।
मुख्यमन्त्री राउतलाई मंगलबार गृहस्थानमा मालाको भारीसहित स्वागत गरिएको छ । उनलाई उद्योग वाणिज्य संघले १ सय ११ किलोको माला पहिर्याएको हो । संघका पदाधिकारीहरुले मालाको भारी संयुक्त रुपमा उचालेर मुख्यमन्त्री राउतको काँधमा थमाएका थिए ।
७० किलो भन्दा कम तौलका मुख्यमन्त्री राउतले आफ्नो वजनभन्दा बढी तौलको माला थाप्न सक्ने कुरै भएन । काँधमा माला अड्याउन उनले पनि भरियाकै सहारा लिनु पर्यो । काँधमा माला अड्याउन उनले संघका पदाधिकारीहरुलाई नै केहीबेर भरिया बनाए ।
संघका पदाधिकारीले मुख्यमन्त्रीलाई विशेष मालाले स्वागत गर्दै वीरगञ्जलाई प्रदेशकै समृद्ध शहर बनाउन आग्रह गरे । मुख्यमन्त्री राउतले प्रदेशको विकास तथा समृद्धिको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
छलफल पश्चात गद्दीले वीरगञ्जको गोपाल मण्डलीमा आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरी शुभकामना आदानप्रदान गरे । कार्यक्रम फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
।’
प्रतिक्रिया