नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । चितवनका सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री कोइरालाले पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नेपर्ने भएको र यो काम अधिवेशनबाट हुने बताए ।
अब कांग्रेस संगठित हुने सम्भावना बढिरहेको बताउँदै उनले यो एकताले पनि कांग्रेसलाई तपाईंहरु आफ्नो पार्टीलाई ठीक गर्नुस् भन्ने सन्देश दिएको तर्क गरे ।
महामन्त्री डा. कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी गरे ।
महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उनले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने धारणा व्यक्त गरे ।
महामन्त्री डा कोइरालाले पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतिमा भए मात्रै संसदीय दलको नेतामा जाने खुलासा गरे ।
महामन्त्री डा कोइरालाले कांग्रेसले चुनावका बेलामा केही दलसँग सहकार्य गरेको जानकारी दिँदै अब विभिन्न दल मिल्ने विषयमा कांग्रेस गम्भीर रुपमा अघि बढ्ने बताए ।
वाम एकताको विषयमा राखिएको जिज्ञासामा महामन्त्री डा. कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै ‘हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ’, उल्लेख गरे ।
तस्बिर रासस
प्रतिक्रिया