विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका करिव दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेलाई उद्धृत गर्दै राससले जनाएको छ । उनले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा आज नक्कली बम राखेको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिए भने सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एकजना पक्राउ गरेको बताइएको छ । राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिनझैँ सामान्य दैनिकी चलेको दाबी पनि प्रहरीको छ ।
यता नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिका अनुसार देशभरबाट नेकपाका सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको छ । पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव विप्लवले माग गरेका छन् ।
प्रतिक्रिया